डडेल्धुरा । जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकाले विकासका आधार स्तम्भहरु निर्माण गर्दै गएको छ । अमरगढी नगरपालिका डडेल्धुरा जिल्लाको सदरमुकाम मात्रै नभई सुदूरपश्चिमका ७ पहाडी जिल्ला जाने ट्रान्जिट रुट भएकोले पनि स्मार्ट सिटीको आधार स्तम्भ तयार गर्ने गरी विशेष योजनाका साथ नगरपालिका अगाडी बढी रहेको प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।
अमरगढी नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटकीय पुर्वाधार, खेल संरचना, गुणस्तरिय प्रविधि मैत्री शिक्षा, खानेपानी तथा नगर सडकहरुको विस्तारका साथै सुचना प्रविधिका क्षेत्रका करिब ५२ वटा योजनाहरु निर्माण गरी काम सुचारु गरेको छ । अमरगढी नगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्ने अभियानका साथ योजनाहरु निर्माण गरी चालु आर्थिक वर्षमा ५० करोड भन्दा बढीका योजनाहरु कार्यान्वयनमा रहेका नगर प्रमुख ओझाले बताए ।
उनले भने, ‘अमरगढी नगरपालिका प्रकृतिको बरदान हो र यसलाई हामीले व्यवस्थापन गर्न सकेमात्रै डडेल्धुराको समृद्धि हुन्छ ।’ ‘हामीले पर्यटन प्रवद्र्धनका लागि अमरसिह थापाले निर्माण गरेको अमरगढी किल्लाको व्यवस्थापन कार्यलाई विशेष पहल गरेका छौं’, उनले भने, ‘अमरगढी किल्लालाई १ सयौं गन्तव्य स्थानमा पार्न सफल भयौं र अमरगढी किल्ला पर्यटन पुर्वाधार कार्यक्रम अन्र्तगत यस वर्ष १ करोड ३५ लाख रकम छुट्याएर काम भइरहेको छ ।’
बागबजार–कृर्तिपुर सडक विस्तारका लागि ४४ करोड रकम विनियोजित भई टेण्डरको प्रक्रिया सम्पन्न भएको छ यस्तै बागबजार–स्याउले सकड फराकिलो गर्न ५ करोडको टेण्डर भई काम सुचारु भएको छ । पर्यटन विकासकै लागि नगरपालिकाले डडेल्धुरा जिल्लाको भ्यु हेर्नका लागि कस्याको टाकुरीमा ७१ लाख रकम विनियोजन गरेको छ ।
महान किसान नेता भिमदत्त पन्त जन्मेको अमरगढी नगरपालिका वडा नं. २ कारीगाउलाई भिमदत्त आदर्श बस्ति निर्माण गरी होमस्टे संचालन गर्नका लागी ७१ लाख रकम विनियोजन गरी कामको थालनी गरेको छ । जिल्ला सदरमुकाम नजिकै सुविधा सम्पन्न अमरगढी उद्यान निर्माण गरिएको र थप व्यवस्थित गर्न १ करोड ३० लाख रकम विनियोजन गरिएको नगरप्रमुख ओझाले बताए ।
नगरपालिका भित्र रहेका प्रशिद्ध शक्तिपिठ घटालस्थान, उग्रतारादेवीको मन्दिर, सहश्रलिङ धुरालगायतका क्षेत्रहरुलाई पनि व्यवस्थापन गरिदै लगिएको छ । नगरपालिकाभित्रका सडकहरुको विस्तार तथा कालोपत्रे र डकले सल्लाघारी चक्रपथको स्तरोन्नतिको कार्य अगाडी बढाइएको छ ।
‘निर्वाचित भएको ३ वर्ष भयो र बितेका ३ वर्षमा हामीले स्मार्ट सिटीको अवधारणालाई स्थापित गर्ने गरि पुर्वाधारका कार्यहरुलाई अगाढी बढाएको हौं र सबै पुर्वाधारका योजनाहरु ३ वर्षभित्रै सम्पन्न गर्न सकिन्छ भन्ने हुँदैन केही पुर्वाधार कार्यहरु सम्पन्न गरेका छौं भने केही बहुवर्षीय योजना भएकाले सम्पन्न हुन समय लाग्छ’, नगरप्रमुख ओझाले भने ।
चालु आर्थिक वर्षमा मात्रै ५२ वटा योजनाहरुका लागि बजेट विनियोजन गरिएको र जसमा केही योजनाहरु कार्यान्वयनमा रहेका र केही योजनाहरु कोरोना रोगको संक्रमणले अगाडी बढाउन सकिएको छैन । नगरपालिकाले मुक्त हलिया पुर्नस्थापनमा ५७ लाख, विपन्न वर्ग रोजगार कार्यक्रममा २ करोड, फिक्कल प्रशोधनमा २ करोड, उग्रतारा रंगशाला निर्माणमा ५७ लाख, गोलाखेती क्रिकेट मैदानमा १० लाख विनियोजन गरेको छ ।