लाहोर । पाकिस्तानको क्रिकेट टिमका नौ जना खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिए तापनि बाँकी खेलाडी इंग्ल्यान्ड सिरिज खेल्न जाने भएको छ । शनिबार नै पाकिस्तानी टोली लाहोरबाट लन्डन प्रस्थान ग-यो । पाकिस्तानको टिमका खेलाडी आइतबार लन्डन पुग्नेछ ।
इंग्ल्यान्ड क्रिकेट टिमले सो विषयमा सामाजिक सञ्जालमा ट्वीट गरेको छ । लन्डन प्रस्थान गर्नुअघि पाकिस्तानी टिमका खेलाडीलाई विशेष सुरक्षा दिएर लाहोरको पाँच तारे होटलमा राखिएको थियो । कोरोना पोजेटिभ देखिएका खेलाडीलाई भने होम क्वारेन्टाइनमा बस्नका लागि घर पठाइएको बताइएको छ । मेडिकल टिमले ती खेलाडीहरूलाई निरन्तर निरीक्षण गरिरहेन बताइएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले यसअघि नै २९ खेलाडीसहित क्रिकेट टिमले इंग्ल्यान्ड जाने बताएको थियो । तर, कोभिड–१९ को असरका कारण हाल १९ खेलाडी र सपोर्ट स्टाफ इंग्ल्यान्ड गएका हुन् । इंग्ल्यान्ड पुगेपछि पाकिस्तानको टिमलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । सो टोलीलाई डर्बिसायरमा राखिने बताइएको छ । त्यसपछि मात्र दुई टिमबीच म्याच हुनेछ ।