धान दिवसको सार्थकता

नेपालमा हरेक वर्षको १५ असारमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ । यसले मौसम, भोजन, कर्म र रमितालाई धाने संस्कृतिको रूपमा एकाकार गर्ने गरेको छ । तथापि, नेपालको भौगोलिक विविधताका कारण हिमाली, पहाडी तथा तराईमा धानको रोपाइँ एउटै समयमा हुँदैन । असार १५ मा पहाडी क्षेत्र, मूलतः काठमाडौं उपत्यकामा धान दिवसको अवसरमा दहीचिउरा खाने चलन छ । पोखरा, सुर्खेतलगायतका पहाडी उपत्यकामा पनि यस संस्कृतिलाई व्यापक बनाइएको छ । पोखरा र काठमाडौं उपत्यकामा विदेशी पर्यटकलाई समेत दहीचिउरा खुवाउँदै हिलो खेतमा बोलाएर रोपाइँमा सहभागी गराइन्छ । मुठ्ठी रोपेर मुरी फलाउने यो अवसरमा किसान घरमा गएर खाना खाई आउने समय पनि नहुने भएकाले खेतकै आलीमा बसेर दही चिउरा खाएर पर्वको अवसरलाई गुम्न दिँदैनन् । त्यसो त पर्वका रूपमा हिलोसँग खेल्न पाउँदा हली, खेताला, रोपाहार र बाउसे निकै रमाउँदै काम गर्दा मेलो सकिएको र समय बितेको पत्तै पाउँदैनन् ।

धान खेती नेपालको पुरानो अन्न खेती हो । पहाडबाट अविरल रूपमा बग्ने खोलानाला र नदी तराईको समथर मैदानमा पुग्दा ठूलाठूला जमिन सिञ्चन पुग्ने अथाह जलराशिको प्रवाह गराउँछन् । किसान रमाउँदै खेतीपातीमा लाग्छन् । कृषि प्रधान देश नेपालमा धान खेतीलाई ‘सुनको बाला’को खेती पनि भनिन्छ । यसले नेपालको विशाल जनसंख्यालाई भोकमरीबाट बचाएको छ । धान खेतीले नेपालीलाई रोजगारी पनि दिएको छ । नेपालीका लागि धान नै जीवन हो । बर्से मौसममा गरिने खेती भए पनि हिमाली, पहाडी तथा तराईका भूभागमा धान खेतीको समय एक÷डेढ महिनाको अन्तरमा पर्ने गर्दछ । अर्थात्, चैत्र महिनामा तल्लो हिमाली भेगबाट सुरु हुने धान खेती वैशाख, जेठ, आषाढ हुँदै भाद्र महिनासम्म निरन्तर रोपाइँ भइरहन्छ । हिमाल र उच्च तथा मध्य पहाडी भेगमा नदी र खोलाको पानी प्रयोग गरी जुडा खेती रोपाई गरे पनि तराईका लागि भने मनसुनी वर्षा कुर्नुपर्दछ । नेपालमा हाल स्थानीय जातका धानको सट्टा उत्पादनलाई मध्यनजर गरेर उन्नत जातका धान खेती गर्ने प्रचलन बढेर गएको छ । हरेक वर्ष नेपालमा करिब १४ लाख ५९ हजार हेक्टरमा धान खेती गरिन्छ । यसबाट ५५ लाख ५० हजार मेट्रिक टनसम्म धान उत्पादन हुन आउँछ ।

नेपालीको प्रमुख खाद्यान्न बाली धान खेतीलाई पर्वको रूपमा मनाउँदै जीवन्तता दिने गरिए पनि व्यवहारमा भने किसानका समस्या कम पीडादायी छैनन् । मनसुन सुरु भइसक्दा पनि धानखेतमा प्रयोग गरिने रासायनिक मलको सधैं अभाव रहने गर्दछ । खेती गर्नुपूर्व सक्कली धानको बीउ नपाइनु, खेतीका लागि आवश्यक आर्थिक परिचालन गर्न पुग्ने सहुलियत कृषि ऋणको अभाव हुनु, चर्को मिटर ब्याजको फन्दामा पर्नु, जनशक्ति अभावका कारण समयमै खेती गर्न नसक्नुजस्ता समस्या किसानमाथि आइपर्दछन् । बाहिर हेर्दा धान खेती र धान दिवसको जुन रोमाञ्चकारी सकारात्मक स्वरूप देखापर्दछ, भित्रभित्र भने किसान निकै मारमा परिरहेका हुन्छन् । किसानका यी दुःख र पीरमर्कालाई सरकारले यथासमयमा सम्बोधन गर्न सके मात्र धान दिवसको सार्थकता रहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार