लोकतन्त्रमा दलहरू फुट्नु हुन्न

राजनीतिक दलहरू लोकतन्त्रका पर्याय हुन् । राजनीतिक दललाई आधुनिक राजनीतिको जीवनरेखा (लाइफलाइन) समेत मान्ने गरिएको छ । विशेषगरी सैद्धान्तिक रूपमा भन्ने हो भने हरेक राजनीतिक दल र तिनका नेताहरूले देश र जनताका लागि काम गर्नुपर्छ । राजनीतिलाई व्यापार र व्यवसायको रूपमा हेर्नुहुँदैन । तर, विडम्बना हामीकहाँ राजनीतिक दलका नेताहरूकै असक्षमताका कारण राजनीति ‘लाजनीति’का रूपमा रूपान्तरण हुन पुगेको छ । अहिले सत्तारूढ दल नेकपामा जुन किसिमको लफडा देखिएको छ, यसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्नचिह्न सिर्जना गरिदिएको छ । नेकपा फुट्छ कि भन्ने भय चौतर्फी रूपमा बढेर गएको छ । नेपाली जनताले सत्तारूढ दल नेकपालाई राजनीतिक स्थिरता र विकासका लागि पाँच वर्षको म्यान्डेट दिएका हुन् ।

तर, सो दलभित्रको शक्तिसंघर्ष र व्यक्तिकेन्द्रित चरित्रका कारण जनताको मतको अपमान हुन सक्ने अवस्था देखिएको छ । नेकपामा फुट आउने अवस्था भयो भने त्यहीँबाट मुलुकमा राजनीतिक अस्थिरताको बीज रोपिनेछ र मुलुकमा फेरि पनि अराजकता बढेर जानेछ । त्यसैले, नेकपाका नेताहरूले ठन्डा दिमागले सोच्नुपर्ने बेला भएको छ । पार्टीलाई एकताबद्ध राखेर मुलुकको विकास र समृद्धिमा होमिने कि फुटाएर विनाशतर्फ जाने ? निर्णय गर्ने अधिकार नेकपाकै नेताहरूको हातमा छ । नेकपामा देश हाँकेका अनुभवी नेताहरूको अभाव छैन । चार जना त प्रधानमन्त्री भइसकेका व्यक्तिहरू नै छन् । नेकपा परिपक्व नेताहरू भएको दलको रूपमा समेत रँहदै आएको छ । त्यसैले, जनताले विश्वास गरेर झन्डै दुई तिहाइ मत दिएका हुन् । तर, अहिले नेकपाभित्रको कलह हेर्दा केही नेताहरूमा ‘केटाकेटीपन’को व्यवहार देखिन थालेको छ । परिपक्व ठानिएका नेतासमेत व्यक्तिकेन्द्रित दौडमा लाग्दा उनीहरूको क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ । समाजवादोन्मुख लक्ष्य लिएको नेकपाका नेताहरू बस्ने कुर्सीको बहानामा समेत झगडा गर्न थालेका छन् । जनतालाई खुसी र मुलुकलाई समृद्ध कसरी बनाउने तथा मुलुकका तमामखाले समस्यालाई एकीकृत रूपमा कसरी समाधान गर्ने भन्ने विषयमा नेताहरूबीच गम्भीरतापूर्वक छलफल नहुनु आश्चर्यको विषय भएको छ ।

जारी स्थायी समितिको बैठकमा पनि एकले अर्कालाई गालीगलौज गर्ने र आरोप लगाउने काममा नै अधिकांश नेताहरूले समय खर्चिरहेका छन् । पार्टीलाई एक ढिक्का बनाउने र गल्ती गरेकाहरूलाई सालीनतापूर्वक आत्मालोचना गर्न लगाउने वातावरण सिर्जना गर्नुभन्दा आफ्नै पार्टीका अध्यक्षलाई गालगलौज गरी उत्तेजित बनाउन खोज्ने र अपमानित गर्ने गलत प्रवृत्ति देखिएको छ । यस्तो प्रवृत्ति मौलाउँदै जानु भनेको पार्टीभित्र ‘चेनअफ कमान्ड’लाई कमजोर बनाउनु हो । धेरैको विचार सुन्दा उनीहरूमा राजनीतिक संस्कारको विकास हुन नसकेको देखिएको छ । त्यसैले, स्थायी कमिटीका धेरै नेताहरूले अनुशासन र नैतिकताको सीमालाई ध्यान दिन जरुरी छ । दुवै जना पार्टी अध्यक्षले पनि गुटको भन्दा पनि सबैको साझा नेताका रूपमा आफूलाई उभ्याउन नसक्दा पनि थप समस्या बढेको देखिन्छ । लोकतन्त्रका लागि लामो लडाइँ लडेका नेकपामा दुवै अध्यक्ष अब आपसी अविश्वास र शंकाको घेराबाट मुक्त भएर एकाताबद्ध हुनुको विकल्प छैन । पार्टी र सरकार सञ्चालनमा दुवै जनाले सहकार्य र समन्वय गरेर अगाडि बढ्ने वातावरण सिर्जना गर्नुपर्छ । आमनेता र कार्यकर्ताको भावनालाई सम्मान गर्दै पार्टीलाई एकजुट बनाएर अघि लैजाने गरी दुवै अध्यक्षको बाचा र प्रतिबद्धता छिट्टै आउनुपर्छ । किनकि दलहरू फुटेर होइन, जुटेर मुलुकको समृद्धिमा एकाकार हुनु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी