गुल्मी । गुल्मीमा पहिरोको कारण दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ का दुईजनाको मृत्यु भएको हो भने मुसिकोट नगरपालिका वडा नम्बर २ का एकजना बेपत्ता भएका छन् । पहिराले इस्मा गाउँपालिकाको १ हस्तिचौरका १८ महिनाका सिजन सारुको मृत्यु भएको छ । पहिरोले गोठ (बंगालो) बगाउँदा बसन्त सारु र उनकी श्रीमती सृजना सारु घाइते भएका छन् ।
सिजन बसन्त सारुका छोरा हुन् । त्यस्तै पहिरोले हस्तिचौरकै रिख बहादुर खत्रीको घर बगाउँदा ७ बर्षकी छोरीको अपेक्षा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताए । बालिकाकी आमा इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ । तर अवस्था गम्भिर रहेको छ । सोहि घरका पुतला खत्री र टीका खत्री पनि घाइते भएका खड्काले बताए । मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । बिहिबार रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता लागेको छैन । तर उनको उद्धार कार्य भने जारी रहेको छ ।
डेढ सय घर जोखिममा, क्वारेन्टिन समेत पुरियो
बिहिबार रातिको पहिरोले इस्मा गाउँपालिकाका डेढ सय घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गाउँपालिका उपाध्यक्ष बिमला खत्रीका अनुसार इस्मा गाउँपालिका १ हस्तिचौरमा मात्रै एक सय १६ घर, वडा नम्बर ४ दोहलीमा करिव २० घर र अन्य वडामा गरेर डेढ सय घर परिवार बिस्थापित भएका छन् । उनले पहिरोले बिस्थापित हस्तिचौरका परिवारको हिमालय माविमा व्यावस्थापन गर्ने काम अगाडी बढेको बताइन् । त्यस्तै वडा नं ४ दोहलीमा करिव २० घर परिवार बिस्थापित भएका छन् । बिहिबार रातिको बर्षाले कालिका निमावि पुरेको छ । बिद्यालयमा क्वारेन्टाइन संचालन भएकाले ५ जना आरडिटी पोजेटिभ व्यक्ति बसेका थिए । पहिरो खसेपछि उनीहरु भागेर घरमा गएर होम क्वारेन्टाइनमा बसेको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै दोहलीकै न्वाला, छोटडाँडा, रातापानी र खासु गाउँका २० घर परिवार बिस्थापित भएका छन् ।
पुर्व मन्त्री बिष्टद्धारा घाइतेको उद्धार
पुर्व मन्त्री एवम् सोहि क्षेत्रका सासंद गोकर्ण बिष्टले पहिरोमा घाइते भएका ५ जनाको हेलिकप्टर मार्फत उद्धार गरेर काठमाण्डौ लगेका छन् । बिष्ट शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत घटना स्थलमा पुगेका थिए । गम्भिर घाइते दुई र सामान्य घाइते तीन जनालाई थप उपचारको लागि काठमाण्ठौ लगिएको हो । घटना स्थलबाट फर्केर नेपाली सेनाको बिरभद्रजंग गुल्ममा जिल्लाका सरोकारवाला र संचारकर्मीसंग कुरा गर्दै बिष्टले गाउँमा पहिरोले मानवीयसंगै भौतिक रुपमा ठुलो क्षति पुराएकाले बिस्थापित र जोखिममा परेका परिवारको उद्धार, राहत तथा व्यावस्थापनमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिए ।
जिल्ला बिपद् व्यावस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी गुल्मीले हेलिकप्टर मार्फत खाद्य सामग्री र त्रिपाल तथा कम्बल घटना स्थलमा पुराइएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए । ६ क्विन्टल चामल, सय किलो दाल, ५० किलो नुन, ५० लिटर तेल, ५० किलो चिनी, १५ थान कम्बल, १५ थान त्रिपाल र पाँच सेट भाँडा घटना स्थल पुराइएको शर्माले जानकारी दिए । अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधी र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।