कोरोना भाइरसको जोखिमबाट बच्न नागढुंगालगायतका नाकामा टनेल निर्माण गरी सवारीसाधनमा स्प्रे गरिरहेछन् । विभिन्न अस्पताल र स्थानीय तहले कोरोना भाइरसबाट जोगाउन मानिसको शरीरमा औषधि पानी स्प्रे गरिरहेका र आँखा छोप्दै पूरै शरीर भिजेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भए । तस्बिर सेयर गर्दै केही चिकित्सकले मानव स्वास्थ्यमा खेलबाड बन्द गरौं भन्दै लेखे । पत्रपत्रिका र सामाजिक सञ्जालमा देखिएको कोरोना स्यानिटाइजर टनेल झट्ट सुन्दा, पढ्दा निकै रोमाञ्चक लाग्छ । प्रयासको पछाडि कुने वैज्ञानिक अनुसन्धानको आधार छ वा कतै राजनीतिमा छिमेकको नक्कल गरेजस्तै थाल, ताली ठटाएर कोरोना भगाएजस्तै सामाजिक सञ्जालमा आएका हुन् ?
महामारीका बेला स्थानीय तहमा गरिएका रचनात्मक काम अन्य युवाका लागि प्रेरणादायी र प्रोत्साहनका हकदार हुन् । समाज कल्याणलाई ध्यानमा राखी गरिएका स्थानीय स्रोतसाधन प्रयोग, स्थानीयस्तरमा समस्या समाधान, युवाको प्राविधिक सफलताले विशेष महŒव राखेकाले गौरवको विषय पनि हो । तथापि, महामारीका बेला मनपरी गर्ने छुट त कसैलाई छैन । सरोकारवाला सरकारी र पेसागत काउन्सिल, संघसंस्थाको आधिकारिक धारणा पनि आएनन । स्यानिटाइजर स्प्रे, टनेल जनजीवन र जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषय हो ।
क्लोरिन ः अस्वाभाविक गन्ध भएको हरित पहेलो रंगको ग्याँस हो, जसको थोरै मात्राले पनि शरीरका विभिन्न भागमा जलन गराउन सक्छ । प्रयोगको मात्रा, अवधि, कार्य र गराइले नकारात्मक प्रभाव निर्धारण गर्छ । शुद्ध क्लोरिन ज्यादै विषालु हुन्छ र सूक्ष्म मात्राले पनि मानिसको मृत्यु गराउन सक्छ । त्यसैले, निश्चित चापमा राखी स्टिलको सिलिन्डरमा झोल क्लोरिनलाई ओसारपसार गरिन्छ । हावाभन्दा गह्रौं भएकाले विषालु धुवाँ जमिनको सतहभन्दा माथि रहन्छ र नाक, घाँटी र आँखामा रहेको म्युकस मेमब्रेनलाई असर गर्ने भएकाले पहिलो विश्वयुद्धमा क्लोरिन ग्याँसलाई केमिकल हतियारका रूपमा प्रयोग गरिएको थियो ।
स्यानिटाइजर स्प्रे र टनेल जनजीवन तथा जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्ने कुरा हुन्
सबैभन्दा बढी क्लोरिनको प्रयोग पानी उपचार तथा ढल निकास कार्य, दुग्धजन्य उत्पादन उद्योग, पौडी पोखरी सफाइ, प्लास्टिक उत्पादन उद्योग, कृषि तथा भेटनरी र अस्पतालमा हुन्छ । क्लोरिनको उपलब्धता ग्याँसको अत्यधिक क्रियाशीलताको कारण स्वतन्त्र रूपमा राख्न नसकिने भएकाले विभिन्न यौगिक तरल–सोडियम हाइपोक्लोराइड, घरायसीका लागि ५ प्रतिशत ब्लिच तथा ठोस–क्याल्सियम हाइपोक्लोराइड पाउडर, ट्याबलेटका रूपमा पाइन्छ ।
इतिहास ः सन् १७७४ मा कार्ल विल्हेम सिंहले पत्ता लगाएको क्लोरिनलाई पिउने पानीलाई कीटाणुशोधन गर्नमा प्रयोग गरिँदै आएकोमा सन् १८ सयदेखि यसको झोललाई डिसइन्फेक्टेन्ट र एन्टिसेप्टिकको रूपमा पनि व्यापक प्रयोगमा छ । क्लोरिनलाई सजिलै उपलब्ध, सर्वसुलभ र भाइरसविरुद्ध प्रभावकारी उपयुक्त कीटाणुशोधन रसायनका रूपमा लिइन्छ । महामारीका समयमा झनै व्यापक भएको छ ।
रसायन छर्कंदा शरीरभित्र प्रवेश गरिसकेका कीटाणुलाई मार्न नसक्ने र शरीरबाहिर कपडामा भएका भाइरसलाई मार्छ नै भन्ने वैज्ञानिक तथ्य हालसम्म छैन र विश्व स्वास्थ्य संगठनले क्लोरिनजन्य निसंक्रामक जथाभावी छर्कने कार्य वातावरणीय तथा मानवीय स्वास्थ्यका दृष्टिले हानिकारक हो भन्दै सजग गराइरहेको छ ।
घरायसी ब्लिच प्रयोग गर्दा धातु र रंग लगाएको सतहमा प्रापा उप्काउने भएकाले सतहमा प्रयोग नगर्ने, छाला तथा आँखाको सम्पर्क हुनबाट जोगाउने, डिटरजेन्ट, जैविक वस्तु र फोहरसँग प्रभावकारिता कम हुने भएकाले मिसाउन हुँदैन । सर्फले सफा गरेकालाई पानीले पखाली सफा गरेर मात्र साधन, सवारी, पदार्थ कीटाणुशोधन गर्नपर्छ । भण्डारणमा केमिकल डिकम्पोजिसन हुने भएकाले घाम नपर्ने ठाउमा राख्ने, तुरुन्तै प्रयोग गर्ने र झोललाई पातलो गरेको २४ घटाभित्र प्रयोग गरिसक्नुपर्छ ।
मात्रा : कुनै पनि कडा सतहमा जस्तै पीपीई, सवारीसाधन, बिरामीले प्रयोग गरेका कपडा, बेड, भाँडाकुँडालगायतमा अवस्थित सार्स कोरोना भाइरसको लागि डिटरजेन्टमा धोएपछि ०.०५ देखि ०.१ प्रतिशतको सोडियम हाइपोक्लोराइडको झोल ५ मिनेटसम्म राख्नपर्छ । तर, थर्माेमिटरजस्ता संवेदनशील वस्तु र सतह ब्लिचले मारे पनि भने ७० प्रतिशत इथानोलको प्रयोग गर्नपर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमित लत्ताकपडाको सरसफाइमा घरायसी डिटरजेन्टले सफा गरेपश्चात् ०.०५ प्रतिशत क्लोरिन पानीमा आधा घण्टा डुबाउने र घाममा सुकाउने, हातमा लगाउने पन्जा तथा गाउनलाई साबुनपानीले सफा गरी ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइडमा आधा घण्टा डुबाउने र घाममा सुकाउने, बिरामीबाट निस्किएका तरल पदार्थ परेको सतहलाई ०.५ प्रतिशत क्लोरिन झोल खन्याई १० मिनेटसम्म रहन दिई त्यसपछि सफा पानीले पखाल्नुपर्छ । संक्रमित व्यक्तिले प्रयोग गरेको शौचालयलाई दिनको कम्तीमा दुईपटक ०.५ प्रतिशत क्लोरिन झोलले सफा गर्ने, खानेपानीको शुद्धीकरणका लागि अन्तिम धारासम्म ०.२ देखि ०.५ मिलिग्राम प्रतिलिटर कायम राख्ने गर्नुपर्छ । यसरी क्लोरिनको सम्पर्कमा आउने व्यक्तिले अनिवार्य रूपमा व्यक्तिगत सुरक्षा कवच भने लगाउनैपर्छ ।
वातावरणीय असर : क्लोरिन पानीमा तत्कालै घुल्छ र निश्चित अवस्थामा पानीबाट निस्केर हावामा समेत जान्छ । विभिन्न क्रियाकलापबाट उत्सर्जित क्लोरिन वातावरणमा मुख्यत हावा र सतही पानीमा मिसिन्छ । तर, भूमिगत पानीमा भने प्रवेश गर्दैन । जनावर तथा विरुवामा भण्डारण हुँदैन । अर्गानोक्लोराइड, डाइअक्सिनजस्ता अत्यधिक विषालु र क्यान्सर गराउन सक्ने क्लोरिनका बाइप्रोडक्ट वातावरणमा लामो अवधिसम्म रहन्छ । औद्योगिक प्रायोजनबाट निस्किएको पानी खोलानालामा मिसिदा खोला,नाला र पोखरी प्रदूषित हुन्छन् । बायो–एकुमुलेसनबाट नकारात्मक असर देखिन्छन् ।
स्यानिटाइजिङ टनेल विषालु धराप भएकाले जनतामाथिको भद्दा मजाक हो
स्वास्थ्यमा जोखिम : ईपीएका अनुसार हावामा रहेको क्लोरिनको मात्रा ०.५ पीपीएमभन्दा माथि भएमा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ । क्लोरिनसँगको अल्पकालीन सम्पर्कमा एकदेखि तीन पीपीएम मात्राले नाकमा जलन र चिलाउने हुन्छ । पाँच पीपीएम मात्राले आँखाको सम्पर्कमा आउँदा आँखामा ज्वलन, दुख्ने गर्छ । ५ देखि १५ पीपीएम मात्राले घाँटी खसखस गराउँछ । त्यसैगरी, ३० पीपीएम क्लोरिनको सम्पर्कले खोकी लाग्ने, स्वाँ स्वाँ हुने, छाती दुख्ने, बान्ता हुने आदि हुन्छ । ४० देखि ६० पीपीएम मात्राको सम्पर्कले फोक्सोमा पानी जम्छ । यदि ४३० पीपीएम क्लोरिन ३० मिनेटसम्म सम्पर्कमा मानिसको मृत्युसमेत हुन सक्छ । दीर्घकालीन सम्पर्कका असरमा शरीरको तौल घट्ने, आँखा र नाकमा जलन, श्वास प्रणालीमा असर देखिन्छ ।
हाल प्रयोग भइरहेको ०.५ प्रतिशतको ब्लिचको झोललाई टनेल स्प्रे, पोर्टेबल ट्ंयाकी स्प्रे, टयाकंर स्प्रे आदि मार्फत बाटाघाटो, बाटोको छेउछाउ, सवारी साधन, मानिसलगायत जीवित वस्तुमाथि छर्कने कार्य आफैंमा अत्यधिक जोखिम कार्य हो । प्रायः अस्पताल, पालिका, मन्त्रालयमा विभिन्न दाताबाट स्यानिटाइजर टनेल र प्रत्यक्ष टंयाकीमार्फत मानिसलाई क्लोरिन छर्कने गरिँदै छ । जताततै क्लोरिन छर्कने कार्यले जनस्वास्थ्य, वनस्पति, ब्याक्टेरियालाई रेजिस्टेन्स, वातावरण र मानव स्वास्थ्यलाई असर पार्दछ ।
विश्वमै आर्थिक मन्दी आएको बेलामा नेपालजस्ता गरिब राष्ट्रले स्रोतसाधनको सही र वैज्ञानिक ढंगले प्रयोग गर्न अति आवश्यक छ । एक स्यानिटाइजिङ टनेलको औसत १ लाख ६० हजार रूपैयाँको हाराहरीमा मूल्य पर्दछ । विश्वव्यापी समस्याको रूपमा देखापरेको कोभिड–१९ महामारी नियन्त्रणका लागि वैज्ञानिक तथ्यमा आधारित उपायमध्ये व्यक्तिगत सरसफाई, मास्कको प्रयोग, सामाजिक दूरी, शिष्टाचारयुक्त भेटघाट, श्वासप्रश्वास आदि महŒवपूर्ण मानिन्छन् । यसका अतिरिक्त संक्रमणजन्य वस्तुको उचित सरसफाइ तथा वातावरणीय व्यवस्थापन जस्तै खानेपानी, शौचालय सफाइ, फोहर पानी व्यवस्थापनको त्यत्तिकै भूमिका छ ।
अन्तमा, सन् २०१४ देखि २०१६ मा इबोला महामारीको क्रममा दक्षिण अफ्रिकामा क्लोरिन स्प्रे गरिएको स्वास्थ्यकर्मीको तुलनामा पटकपटक स्प्रे गरिएकामा श्वासप्रश्वाससम्बन्धी समस्या ३० गुणाले बढी, आँखाको समस्या २५ गुणाले बढी र छालाको समस्या २० गुणाले बढी पाइएपछि भविष्यमा मान्छेमाथि क्लोरिन स्प्रेलाई प्रतिबन्ध लगाउनपर्ने सुझाव छ । अर्कातिर स्प्रे वा टनेलमा छिर्ने तर हात नधुने, मास्क नलगाउने र भौतिक दूरी कायम नगर्ने बढ्छ । स्यानिटाइजिङ टनेल विषालु धराप भएको र जनतामाथिको भद्दा मजाक हो ।