काठमाडौं उपत्यकाका १ सय ६५ स्थान वर्षाजन्य घटनाको जोखिममा, यस्ता छन् कारण

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा रहेको देखिएको छ ।
गृह मन्त्रालयले तयार गरेको तथ्यांकअनुसार काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको देखिएको हो । काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किन सक्ने भनिएको छ ।

यसैगरी, ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको तथा भक्तपुरमा २२ स्थानमा डुबान, ८ स्थानमा बाढी र १३ स्थानमा पहिरो जान सक्ने सम्भावना रहेको छ ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले राजधानीको सहरी व्यवस्थापन गर्दा जोखिममा आधारित ज्ञान, सिप र क्षमता उपयोगको अभाव देखिएका कारण उपत्यकाका अधिकांश स्थान बर्सेनि बाढी, पहिरो तथा डुबानको जोखिममा पर्दै गएको बताए ।

‘सहरी व्यवस्थापन गर्दा नै कहाँ घर बनाउने, कहाँ पार्क बनाउने भन्ने ध्यान दिइएन, पार्क तथा सिमसार हुनुपर्ने क्षेत्रमा घर बनाउँदा राजधानीमा बर्सेनि जोखिम बढ्दो क्रममा छ,’ गृहका ती अधिकारीले भने ।

उपत्यकाका बाग्मती नदी, विष्णुमती नदी, गोदावरी, हनुमन्ते, टुकुचा खोला, मनोहरा खोलासँगैका तटीय क्षेत्र बढी जोखिममा छन् । ती स्थानमा तटीय क्षेत्र अतिक्रमित गरी बनाइएका संरचनालाई जोखिमको मुख्य कारण मानिएको छ । यसैगरी, अव्यवस्थित रूपमा नक्साबिना नै जहाँ पायो, त्यहीँ घर तथा भौतिक संरचना बनाउने गरिएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अनुपयुक्त स्थानमा आफूखुसी घर बनाइएकाले बढी जोखिम देखिएको बताए । ‘घर बनाउन नहुने ठाउँमा घर बनाइएको छ, जसका कारण जोखिम बढेको छ । जोखिम कम गर्न बढी क्षति हुने स्थानको नक्सांकन गरेर जोखिम कम गर्न आवश्यक तयारी गरिरहेका छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले राजधानीसँग भने ।

पोखरेलले मनसुनका कारण अबको एक सय दिन जोखिमपूर्ण रहेको र यस वर्ष पानी तथा पानीजन्य रोगका कारणसमेत गरी झन्डै ३० लाख मानिस प्रभावित हुने अनुमान गरिएको बताए ।

प्रहरी प्रधान कार्यालयले समेत जोखिमयुक्त स्थान छुट्याएरै आवश्यक कदम चाल्न गृह मन्त्रालयमा सम्भावित स्थानसहितको विपद्सम्बन्धी विवरण पेस गरेको छ । सरकारले डुबानबाट अति संवेदनशील जिल्लाअन्तर्गत झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई राखेको छ । त्यस्तै, संवेदनशील जिल्लामा दाङ, कपिलवस्तु र रूपन्देहीलाई राखिएको छ ।

यसैगरी, बाढी तथा पहिरोबाट बढी प्रभावित हुनेमा संखुवासभा, धनकुटा, दोलखा, धादिङ, कास्की, पाल्पा, रुकुम र दार्चुला अति संवेदनशील जिल्लामा पर्छन् । पाँचथर, इलाम, काभ्रे, दाङ, सुर्खेत, जुम्ला र डोटी संवेदनशील जिल्लामा रहेका छन् ।

यस वर्षको मनसुन ३१ जेठबाट नै सुरु भइसकेको छ । मनसुन सुरु भएसँगै अधिकांश स्थानमा असर देखिन थालिसकेको छ । पानी पर्ने क्रम सुरु भइसकेका कारण जमिनसमेत गलिसकेको र बाढी, पहिरो, डुबान र कटानसँगै मौसमी संक्रामक रोगबाट प्रभावित हुनेहरू समेत बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीका कारण मात्रै यस वर्ष १२ लाख ५० हजार घर परिवार प्रभावित हुने अनुमान गरिएको छ । यसैगरी, पहिरो तथा पानीजन्य रोग तथा मनसुनकै समयमा हुने डेंगु, मलेरिया तथा सर्पको टोकाइका कारण हुने क्षतिसमेत हेर्दा यस वर्ष करिब ३० लाख व्यक्ति प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान छ ।

सरकारले राष्ट्रिय विपद् व्यवस्थापन कोषमा भएको रकमलाई नै विपद् व्यवस्थापनका लगि खर्च गर्ने गरेको छ । स्रोतका अनुसार यस वर्षको हालसम्मको अवधिमा सो कोषमा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । सो रकममध्येबाट नै घाइते तथा प्रभावितहरूको उद्धार, राहत तथा उपचारमा खर्च गर्ने गरिएको छ ।

यसबाहेक विभिन्न मन्त्रालयले समेत आआफ्नै क्षेत्रअनुसार बाढी तथा पहिरो रोकथाम तथा संक्रामक रोगको न्यूनीकरणका लागि रकम खर्च गर्ने गरेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जोखिम न्यूनीकरणका लागि बाढी पहिरो तथा संक्रामक रोगका लागि अलग अलग कार्ययोजना बनाएर अलग अलग काम गर्नुपर्ने बताए । प्राधिकरणले जोखिम न्यूनीकरणका लागि सरकारी, निजी तथा गैरसरकारी संयन्त्रमार्फत काम गर्दै आएको छ ।

यसैगरी, प्रदेशस्तरमा रहेका प्रदेश विपद् व्यवस्थापन समिति, जिल्लास्थित विपद् व्यवस्थापन समिति तथा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिले समेत आआफ्नै तरिकाले जोखिम न्यूनीकरणका लागि काम गर्दै आइरहेका छन् । नेपालमा मनसुनजन्य प्रकोपका कारण बर्सेनि झन्डै १ हजार मानिसले ज्यान गुमाउने गरेका छन् । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एसियामै सबैभन्दा उच्च जोखिममा पर्छ ।

यस वर्ष भने प्राधिकरणले असर कम गर्न भन्दै असरमा आधारित पूर्वसूचना प्रणाली सुरु गरेको जनाएको छ । सो प्रणालीमार्फत बढी प्रभावित हुने क्षेत्रलाई तोकेर नै त्यहाँका स्थानीयलाई सचेत रहन आग्रह गरिनेछ । प्राधिकरणले त्यसका लागि स्थानीयस्तरको भाषा अनुसार नै सूचनामूलक सामग्री तयार गरिसकेको छ ।

सूचना प्रणालीको व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौंले समन्वय गरिरहेको छ ।

यसका अलावा पूर्वतयारी, पूर्वसूचना प्रणालीको व्यवस्थापन, भइपरी आएका घटनाको सामना गर्न आवश्यक बन्दोबस्ती र जनशक्तिको व्यवस्थापन गर्दै क्षतिको न्यूनीकरणमा समेत गृह मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।

विपद्मा यस्तो छ सुरक्षा निकायको तयारी

सेनाको ‘अपरेसन अर्डर’

नेपाली सेनाले कोभिड–१९ को रोकथामसँगै ‘अपरेसन अर्डर’ जारी गर्दै विपद् व्यवस्थापनका लागि तयार रहन आफू मातहतका निकायलाई निर्देशन दिएको छ । त्यसका लागि खोज तथा उद्धार कार्यमा आवश्यक पर्ने उपकरणसहितको न्यूनतम सामग्री सम्भावित स्थानमा तयार राख्न जंगी अड्डाले मातहतका निकायलाई भनिसकेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले मनसुन भित्रिएसँगै आउन सक्ने सम्भावित प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन मातहतका निकायमा निर्देशन भएको बताए ।

प्रहरी पनि तयार

नेपाल प्रहरीले पनि विपद्का समयमा आइपर्ने सम्भावित चुनौतीका लागि भन्दै आफ्ना जनशक्तिलाई तयारी अवस्थामा राखेको छ । प्रहरी प्रधान कार्यालयले देशभर आफ्ना मातहतका निकायलाई सम्भावित जोखिम रहेका क्षेत्रमा निगरानी गर्न भनिसकेको छ । केन्द्रीय प्रहरी प्रवक्ता निरजबहादुर शाहीले अघिल्ला वर्षकै विपद्को अवस्थालाई हेरेर सम्भावित क्षेत्रको निगरानी गर्दै उच्च सतर्कता अपनाउन मातहतलाई निर्देशन भइसकेको जानकारी दिए ।

‘जिल्ला जिल्लामा रहेका हाम्रा मातहतका निकायलाई पहिलेको अवस्थालाई हेरेर उच्च सतर्कता अपनाउन भनिसकेका छौं, सम्भावित क्षेत्रमा निगरानी सुरु भइसकेको छ,’ प्रहरी प्रवक्ता शाहीले भने ।

सशस्त्रको विज्ञ टोली खटिने

सशस्त्र प्रहरीले कोभिड–१९ को संक्रमणकै बीच प्राकृतिक विपद्को प्रतिकार्यका लागि अनुभव प्राप्त १२ सय जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

यसका अलावा सशस्त्रले विपद् प्रतिकार्यमा सामान्य अनुभव भएका र अन्य जनशक्तिलाई समेत खटाउने गरी तयारी अघि बढाएको छ । सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता प्रवीणकुमार श्रेष्ठले सबै मातहतमा कोभिड–१९ सँगै प्राकृतिक विपद् प्रतिकार्यका लागि तयार रहन निर्देशन भइसकेको जानकारी दिए ।

उनका अुसार विपद् प्रतिकार्यमा डिजास्टर म्यानेजमेस्ट सेन्टर कुरिनटारबाट तालिम प्राप्त जनशक्ति सातै प्रदेशमा तयारी अवस्थामा राखिएको छ । उनीहरू आवश्यक स्रोत र साधनसहित खटिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 554 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष