अब भरिनेछ रानीपोखरीमा पानी

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानी पोखरी अब पहिले जस्तै भरीभराउ हुने अवस्थामा पुगेको छ । रानीपोखरी पुनर्निर्माणअन्तर्गत पोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माणको काम सकिएसँगै अब रानी पोखरी पानी भर्न सकिने अवस्थामा पुगेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको अकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने कार्यलाई प्राथमिकता दिने र नपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाइने बताएका छन् ।

प्राधिकरणका पुरातत्व विज्ञ राजुमान मानन्धरले दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको बताएका छन् । उनका अनुसार टुँडिखेलमा जम्मा भएको पानी ल्याउन पाइप बिछ्याउने काम पनि भइसकेको छ ।
सरकारले भूकम्पपछिको पुनर्निर्माणको कामका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । प्राधिकरणले उपभोक्ता समितिमार्फत पोखरीको पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम सम्पन्न गराएको हो । २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इन्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो ।

उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले प्राधिकरणलाई यसअघि नै उपभोक्ता समितिको जिम्मेवारीमा रहेको काम सम्पन्न भएको जानकारी गराइसकेका छन् । सरकारले रानीपोखरी पुनर्निर्माणको काम १२ वैशाख २०७७ अर्थात् पाँच वर्षअघि भूकम्प गएकै दिन सक्ने गरी गरिरहेको थियो । कोरोना भाइरससँगै लकडाउनका कारण पूर्वनिर्धारित समयमा भने काम सम्पन्न हुन नसकेको हो ।

रानीपोखरीको पिँध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालिगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालिगढ पनि सहभागी भएका थिए ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम जारी छ । यी काम सिएरतुलसी कन्ट्रक्सन जेभीले गरिरहेको छ । अहिले रानीपोखरीमा पानी जम्मा गर्न मिल्ने भएपछि मन्दिरको पुनर्निर्माण भने अझै जारी नै रहेको छ । प्राधिकरणले ठेक्काको करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

प्राधिकरणले तिहारसम्म रानीपोखरी खुला गर्ने गरी काम भइरहेको जनाएको छ । लकडाउनकै बिचमा पनि सामाजिक दुरी कायम गर्दै रानीपोखरी निर्माणको काम जारी राखिएको थियो ।

यसअघि, रानीपोखरी पुनर्निर्माणको काम काठमाडौं महानगरपालिकाले अघि बढाउने तयारी गरेको थियो । तर, सिमेन्टलगायतको प्रयोग भएपछि विवादका कारण पुनर्निर्माण अघि बढ्न सकेको थिएन । सरकारले पछि मन्त्रिपरिषद् स्तरीय निर्णय गर्दै रानीपोखरी पुनर्निर्माणको जिम्मा प्राधिरकण र पुरातत्व विभागलाई सुम्पिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी