मुम्बई । अभिनेता आमिर खानले अहिलेको अवस्था लद्दाखमा आफूले छायांकन गर्न नसक्ने बताएका छन् । निर्माण पक्षले लद्दाकमा राखेको आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को छायांकन उनले नगर्ने बताएका छन् ।
यो फिल्ममा आमिरले एउटा सैनिकको भूमिका निर्वाह गरेका छन् । निर्माण पक्षले उनको सैनिकको युद्ध पाटोको छायांकन लद्दाखमा गर्ने भएको थियो । दुई साताअघि भारतीय र चिनिया सैनिकबीचको द्वन्द्वले २० भारतीय सेनाको ज्यान गएको थियो । त्यसपछि सो क्षेत्र तनाव ग्रस्त रहेको छ । सोही कारण अहिले त्यहाँ आफ्नो फिल्मको छायांकन गर्न गाह्रो हुने आमिरको कथन छ ।
यो फिल्मको अझै करिब ४० प्रतिशत छायांकन बाँकी छ । जसमा आमिरको नायिकाकी रूपमा करिना कपुर छिन् । यो फिल्मको छायांकन तीन महिनादेखि लकडाउनका कारण रोकिएको हो ।
अहिलेसम्म फिल्मको दिल्ली, राजस्थान, चण्डीगढ, अमृतसर, कोलकत्तामा छायांकन भइसकेको र अबको छायांकन लद्दाखमा गर्ने तयारीमा निर्माण पक्ष रहेको बताइएको छ । फिल्मको कथामा चीन र भारतबीचको युद्ध देखाइएको छ । सो युद्धमा आमिर भारतीय सेना हुन्छन् । सोही कारण पनि लद्दाखलाई छायांकन स्थलको रूपमा निर्माण पक्षले रोजेको जनाएको छ ।
आमिरले लद्दाखमा छायांकन नगर्ने भनेपछि निर्माण पक्षले लाल सिंह चड्डाको छायांकन कार्गिलमा गर्ने भएको छ । सो छायांकन दुई महिनापछि मात्र सुरु गर्ने पनि निर्माण पक्षले जनाएको छ ।