काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । अधिवक्ता सुजित केसीले सोमबार एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राई गरी तीनलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराएका हुन् ।
रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रूपमा निर्माण गरिएको र त्यस मुद्दा विचाराधीन अवस्थामा रहे पनि एन्फा र पदाधिकारीले अदालतको आदेशलाई अवहेलना गरेको कारण मुद्दा दर्ता गरिएको केसीले बताए । ‘हालसम्म पनि सम्मानित अदालतमा मुद्दा विचाराधीन अवस्थामा नै रहेको छ । यसरी अन्तरिम आदेशको सम्बन्ध छलफल नभएको र अन्तरिम आदेश कायम नै रहेको अवस्था अदालतको आदेशको मर्म र भावनाविपरीत गई विपक्षीले कार्य गरेकाले यस सम्मानित अदालतको अपहेलना भएको छ ।’ सर्वोच्चमा दर्ता गरिएको निवेदनमा भनिएको छ ।
यसअघि केसीले २१ माघमा रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि २९ माघमा एकेडेमीका सम्बन्धमा भए गरेका निर्णयहरू कार्यान्वयन नगर्नु÷नगराउनु यथास्थितिमा राख्नु भनी सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । तर, एन्फाको गत २६ माघमा बसेको कार्यसमितिको बैठकले एकेडेमीको सम्बन्धमा थप निर्णय गर्नु सर्वोच्च अदालतको आदेशविरुद्ध भएको निवेदनमा उल्लेख गरिएको छ ।
एन्फाको बैठकले एकेडेमी’bout निर्माण सम्पन्नको प्रमाणपत्र बुझाएकाले त्यसलाई स्वीकृत गर्ने, ३९ लाख ५७ हजार १ सय १७ रुपैयाँ घेराबार र गार्ड हाउस निर्माण तथा ४५ लाख ९७ हजार ७ सय १ रुपैयाँमा फ्लोरिसिङको काम पनि टेक प्रालिलाई नै ठेक्का दिने तीन निर्णय गरेको थियो ।