काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले कुर्सी जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मंगलबार दुई पार्टीका शीर्ष नेताबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी भित्रैबाट विवादकै बीच राजीनामा माग भएपछि कुर्सी जोगाउनकै लागि संसद्को चालु अधिवेशन अन्त्य भएको छ ।
छलफलमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र महतोले कोरोना भाइरसबाट जनता पीडित भइरहेका बेला सरकारलाई काम गर्न दबाब दिने उद्देश्यले भेटघाट भएको बताए ।
‘जनता अहिले कोरोनाका कारण पीडित भएका छन् तर यो बेला केपी ओली र नेकपाका मान्छे कसरी सत्तामा टिकिराख्ने र कुर्सी जोगाउने भनेर लागेका छन्,’ महतोले भने, ‘अब यसरी हुँदैन । सरकारलाई काम गर्न दबाब दिनुपर्छ भनेर हामीले छलफल गरेका छौं ।’
संसद् अधिवेशन अन्त्य, कारोना भाइरसको नियन्त्रण र रोकथाम, नागरिकता विधेयक, एमसिसी सम्झौतालगायतका विषयमा समेत छलफल भएको बताइएको छ । यसका साथै अहिलेको पछिल्लो राजनीतिक अवस्था’bout छलफल गर्दै जनताको समस्या समाधान गर्न सरकारलाई दबाब दिने निष्कर्ष बैठकले निकालेको छ ।
कोरोना भाइरसको नियन्त्रण र रोकथाममा सरकार असफल भएको महतोले बताए । कोरोना भाइरसको सन्त्रास र लकडाउनले जनता पीडित रहेको बेला सत्ताको जोडघटाउमा लाग्नु अनुचित रहेको उनले बताए ।
‘जहाँ जनताको कुरा राखिन्छ, त्यहीँ संसद्को अधिवेशन प्रतिपक्षी दलसँग सल्लाहै नगरी एकाएक छापामार शैलीमा अन्त्य हुन्छ,’ महतोले भने, ‘जनताको समस्या सुन्ने र त्यसलाई सम्बोधन गर्ने संसद् नै बन्द गरेर ओलीजीले अझै राष्ट्रवादको कुरा गरिराख्नुभएको छ ।’
कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले दुवै दलका बीचमा पछिल्लो राजनीतिक अवस्था’bout छलफल भएको बताए । सरकारले आफ्नो दायित्व निर्वाह गर्न चुकेको बैठकको निष्कर्ष रहेको उनले बताए ।
नागरिकता विधेयक, एमसिसी सम्झौतालगायतका विषयमा कांग्रेस र जसपाको समान धारणा रहेको छ । समान धारणा रहेका विषयमा दुवै दल मिलेर विगतदेखि नै सरकारलाई दबाब दिँदै आएका छन् ।
छलफलमा कांग्रेस सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्ष विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतका नेता सहभागी थिए । यस्तै, जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताद्वय डा. बाबुराम भट्टराई र महतो सहभागी भएका थिए ।