कोरोना महामारी संक्रमण दिन प्रतिदिन बढिरहेका बेला सरकारको तर्फबाट परीक्षणका लागि आवश्यक सामग्री आपूर्तिमा निकै कमी आएपछि यसले सार्वजनिक चासो र चिन्ता बढाएको छ । जनताको अविभावकका रूपमा रहेको सरकारले आफ्ना नागरिकप्रतिको दायित्व पूरा गर्न चाहेन वा सकेन भने त्यसको सामूहिक र सार्वजनिक प्रतिफल कति भयावह होला ? यो सोचनीय विषय हो । फेरि अहिलेको अवस्था सामान्य र टाकनटुकन गरी बिताउने अवस्था पनि होइन । यो त महामारीले चुनौती दिइरहेको र सो डरलाग्दो चुनौतीसँग जीवनमरणको संघर्ष गरिरहेको बेला हो । यति बेला हरकसैको दायित्व भनेको एक डरलाग्दो युगको अन्त्य र अर्को आशावादी जीवनशील युगको सुरुवात हो । हामीले गल्ती ग¥यौं भने ‘रात रह्यो अग्राख पलायो’ भन्ने नेपाली भनाइले भोलिका दिनमा थप भयावह समस्या निम्त्याउनेतर्फ उद्दत हुने छौं । समयमै समस्याको समाधानतर्फ लागेछौं भने भोलिका आशावादी दिनहरूलाई स्वागत गर्नेछौं । यो कर्म र मर्मलाई हैसियतसहित बसेका देशका नेताहरूले अनुभूत र सम्बोधन गर्नैपर्छ ।
सत्ता भनेको आफंैमा अन्तर्विरोधको पुञ्ज हो । सरकार यही जटिल अन्तर्विरोधमा काम गर्न सक्ने अद्वितीय क्षमता भएका नेताहरूको सामूहिक गतिशीलता हो । अन्तर्विरोधमा रमाउँदै, हेलिँदै र आएका समस्यालाई वस्तुवादी ढंगले हल गर्दै अघि बढ्नु सरकारमा रहेका नेताको काम, कर्तव्य र अधिकार हो । रिसाउने, बदलाको भवना लिने, खुच्चिङ साँध्ने र देखाइदिन्छु भनेर उल्टै जाइलाग्न खोज्ने हो भने राज्यसत्ता दमनकारी संयन्त्र पनि हो । यसले कसैको भलो गर्दैन । त्यसैले, सत्तासीन नेताहरूको मनमा मानवता हुनुपर्छ, हरेक अन्तरविरोधलाई पहिचान गर्ने र हल गर्ने ज्ञानको आँखा हुनुपर्छ र विशाल अन्तर्विरोधमा विचरण गर्न सक्ने र सानातिना मतभेदलाई बिर्सने र गल्ती महसुस गर्नेलाई क्षमा दिन सक्ने ल्याकत राख्नुपर्छ । जनताले आफ्नो विरोध गरून् वा समर्थन तिनलाई आफ्नो काम गराइको अभिभावकत्वले नतमस्तक बनाउनुपर्छ । सरकारमा रहेका नेताहरूले आत्मसमीक्षा गर्नु जरुरी छ । जोसँग लड्नुछ, लड्नलाई छुट छ तर जसको रक्षा र बचाउ गर्नुछ, त्यो दायित्वबाट पछि हट्ने छुट सरकारलाई छैन । कोरोना महामारीबाट जनतालाई बचाउनु सरकारको पहिलो कर्तव्य हो ।
संसार खुला किताबझैं छ । जसले जति बेला पनि पढ्न सक्छ, तुलनात्मक अध्ययन गर्न सक्छ र आफ्नो राय वा सुभाव राख्न सक्छ । स्वास्थ्य मन्त्रालयले सुरुका दिनमा खरिद गरेका सामान स्वाभाविक रूपमा सार्वजनिक गरिएका मूल्यभन्दा कैयौं गुणा महँगा भए । यसलाई स्वाभाविक खरिद मूल्यमा ल्याएर बचेको पैसाले अरू धेरै संक्रमित तथा स्वास्थ्यकर्मीको आवश्यक स्वास्थ्य सामग्री ल्याउन सकिने थियो भन्ने अर्थमा गरिएको आलोचना कसैका लागि पनि अक्षम्य हुन सक्दैन । सरकारका लागि त यो अति आवश्यक सुझाव र सतर्कताका लागि कोसेढुंगा नै थियो । तर, विरोध हुने भयो भन्ने डरले वा नगरे के हुँदोरहेछ हेरौं न त भन्ने अर्थमा अड्डी लिन र ईष्र्या साँध्न थालियो भने त्यो सरकारकै लागि घातकसिद्ध हुनेमा कुनै शंका छैन । त्यसैले सरकारका आन्तरिक विरोध र बाह्य विरोध राजनीतिक र कूटनीतिक ढंगले विचार पु¥याएर हल गर । तर, कोरोना महामारीले निम्त्याएको संकटको हल भने आवश्यक स्वास्थ्योपचार सामग्री उपलब्ध गराएरै हुने कुरा नबिर्स । कोरोना परीक्षण सामग्रीको मात्रा बढाऊ । जनताको जीवन बचाऊ ।