Tuesday, August 11, 2020
Home बिचार साँढेको जुधाइ बाछाको मिचाइ, अति भो !

साँढेको जुधाइ बाछाको मिचाइ, अति भो !

त्यसो त नेपालको राजनीति सदियौंदेखि सीमित वर्ग, समूह एवं व्यक्तिको सुविधाको माध्यम बन्दै आएको छ । लामो राजनीतिक लडाइँपश्चात् संविधानसभाबाट संविधान निर्माण र आमनिर्वाचनबाट बहुमतको सरकार बनेपछि राजनीतिक स्थायित्व र विकास हुने आशाको सुरुवात भएको अवस्थामा फेरि नेता व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा र पैसाका लागि भिडन्त गरिरहेका छन् । जनताले केही व्यक्तिको सत्ताको संघर्षका समाचार र बैठकका दृश्यबाहेक विकास, समृद्घि र विधिको शासनका देख्न र अनुभव गर्न पाएका छैनन् । देश र जनताको पक्षमा काम गर्ने दृष्टिकोण नै नभएका नेतागण र दास मनोवृत्तिका कार्यकर्ताका कारण सचेत, सभ्य र देशलाई माया गर्ने नागरिकको मन सिसाझैं चर्किएको छ । साँढेको जुधाइ बाछाको मिचाइ भनेझैं आधा दर्जनको संख्याका नेताको शक्तिसंघर्षमा ३ करोड नेपालीले दुःख पाइरहेका छन् ।

यो सरकार बनेको साढे दुई वर्षको अवधिमा जनताले महसुस गर्ने कुनै पनि काम गर्न सकेको छैन । अनेक प्रकरणको माझमा लोकलाज पचाउँदै अगाडि बढिरहेको सरकारका विगत केही महिनाबाट आफ्नै दलका शीर्ष भनिने वृद्घ उमेर समूहका नेताको बीचमा भएको आरोपप्रत्यारोप, घटिया हरकतले नेपालीको शिर निहुरिएको छ । लोकतन्त्रको साख घटाएको छ । कुनै पनि व्यवसाय नभएका सर्वहारा भनिने यिनको काठमाडौंमा घर, घडेरी, गाडी, बंैक ब्यालेन्सलगायत ऐसआरामको जीवन छ । तर, विडम्बना ! अर्बाैं रुपैयाँका भ्रष्टाचार, कमिसनलगायत देशको आर्थिक ढुकटी कब्जा गरेका यिनीसँग न त देश विकास गर्ने भिजन छ, न त इच्छाशक्ति नै ।

मुलुकमा राजनीतिक व्यबस्था बदलियो तर यहाँका निर्णायक ठाउँमा रहेका नेतागण कपट, बेइमान, आत्मकेन्द्रित भएका दृष्टान्त छताछुल्ल भइसकेको छन् । विधि नमान्ने, गुट चलाउने, आर्थिक चलखेल गर्ने, सुविधामा रमाउने, संवैधानिक निकाय कब्जा गर्ने, निम्नस्तरको बोली व्यबहार प्रदर्शन गर्ने, अलोकतान्त्रिक आचरण भएका नेतागणका कारण लोकतन्त्र बाँदरको हातमा नरिवल भनेझैं भएको छ । राजनीति सीमित व्यक्ति र समूहको दुहुनो गाई भएको छ । कमाइखाने स्रोत भएको छ । के राजनीतिमा अनुशासन हुँदैन ? लोकलाज हुँदैन ? धर्म कर्म हुँदैन ? विधि विधान हुँदैन ? जवाफदेहिता हुँदैन ? काम गर्ने कालु मकै खाने भालु भनेझैं दशकौंदेखि नेपाली जनताको बलिदानबाट प्राप्त लोकतन्त्रका नाइके र वरिपरिका नातागोता एवं पुजारीको रजाइँका लागि मात्र हो लोकतन्त्र ?

नेतामा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने क्षमता र दृष्किोण चाहिन्छ

नागरिक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको पर्खाइमा रहेको बेला दलका नाइकेको आन्तरिक शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । राजनीतिक परिवर्तन पछाडि अहिलेसम्म एउटा संविधानको किताब, सातवटा प्रान्तीय सरकार, ७ सय ५३ वटा स्थानीय सरकारबाहेक जनताले के पाए ? देश विकास नागरिक चाहनालाई कुल्चिएर आन्तरिक झैझगडामा समय गुजार्ने राजनीतिक दुष्कर्मलाई जनताले नजिकैबाट हेरिरहेका छन् । देशलाइ केन्द्रमा राखेर काम गर्ने आचरण नभएको नेतृत्वका कारण आज मुलुक डोकोजस्तो जताततै विसंगतिका प्वालले भरिएको छ । एकातिर टाल्न खोज्यो अर्कोतिरबाट समस्या देखिने स्थितिमा छ । देशलाई कमजोर बनाउने, जनतालाई गरिब बनाउने र आफ्नो दुनो सोझाउने सीमित नेताको चक्रव्यूहमा सिंगो मुलुक फसिरहेको छ । देशलाई नेताको व्यक्तिगत टकराव र स्वार्थको वरिपरि रोटेपिङजस्तो कहिलेसम्म घुमाइरहने ? यो मुलुकका सचेत नागरिक, लेखक, विश्लेषक, प्रबुद्घ वर्ग, प्राज्ञिक क्षेत्रका व्यक्ति एवं व्यक्तित्वले के सोच्दा हुन् ? सही र गलत छुट्याउने सक्ने सचेत वर्गको मथिंगलमा के गुज्रिइरहेको होला ? कूटनीति नियोग र अन्तर्राष्ट्रिय जगत्ले नेपाल र नेपालीलाई कसरी मूल्यांकन गर्दो हो ? अहिलेको नेपाल कम्युनिस्ट दलको आन्तरिक फोहोरी हरकत कुनै सैद्घान्तिक वा देश विकासको एजेन्डामा आधारित भएको भए जनता खुसी हुने थिए । यसको राष्ट्रिय महŒव हुने थियो । घटनाक्रम नितान्त व्यक्तिगत र समूहगत स्वार्थको नांगो नाँचको रूपमा विकसित भइरहेका छन् ।

अहिले राजनीतिक दलहरूमा मौलिक सिद्घान्त, निष्ठा, जवाफदेहिता भन्ने नै छैन । नागरिकलाई उत्तेजित बनाउने, सपना बाँड्ने र आप्mनो स्वार्थसिद्घ गर्ने, स्वार्थपूर्ति हुन सकेन भने आपसी खिचातानी र निर्लज्ज हुन पछाडि नपर्ने जस्ता अत्यन्त निम्नकोटीका हर्कत हुने गरेका छन् । देश विकासका लागि अध्ययन, अनुसन्धान, कार्ययोजना, विकासको भिजन हुनुपर्दछ । उमेर, ज्येष्ठता, जेलमा बसेको अवधि जस्ता मापदण्डका आधारमा नेतृत्वमा पुग्ने र राजनीतिक चालबाजीबाहेक यो पुस्ताका नेतृत्वबाट देश र जनताले केही पाउन सकेनन् ।

यो मुलुकका कुनै पनि योजनामा कमिसनको खेल नभएको पाइँदैन । राजनीतिलाई समावेशी, समानुपातिक राजनीतिक प्रणाली बनाएर आफ्नै श्रीमती, छोरी, बुहारी, भाइभतिजा, आफन्तजन र ठूला व्यापारीलाई नियुक्ति गर्ने र देशको ढुकुटीमा रजाइँ गर्ने यी नेतालाई नेपाली जनताले कहिलेसम्म टुलुटुलु हेरेर बस्ने ? राजनीतिक नियुक्तिमा भागबन्डा, अख्तियार, न्यायालय, संवैधाकि निकायमा भागबन्डा, माथिल्ला पदमा पैसाको चलखेल, सरकारी जग्गामा यिनकै चलखेल, शिक्षा र स्वास्थ्यमा राजनीतीकरण, अब त अति भयो ।

मुलुकलाई हाँक्न कठोर निर्णय क्षमता र कार्यान्वयनको इच्छाशक्ति चाहिन्छ । देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने क्षमता र दृष्किोण चाहिन्छ । विधिको शासनमा विश्वास गर्ने नेतृत्व चाहिन्छ । नेतृत्वमा त्याग गर्नसक्ने सफा मन चाहिन्छ । देश विकासको भिजन, काम गर्ने मिसन र आवश्यकताअनुसार एक्सन भएको गतिशील राजनेता चाहिन्छ । राम्रो योजना, चुस्त प्रशासन, सेवामुखी कर्मचारीतन्त्र चाहिन्छ । पदलोलुपता र धन आर्जनको जिज्ञाशाले भरिएको मन भएको नेतृत्वले कुराबाहेक केही गर्न सक्दैन । विकासका गफ दिएर जनतालाई कहिलेसम्म ठग्ने ? राजनीति र राज्य सञ्चालनको शैली केटाकेटी आए गुलेली चलाए भनेझंै भएको छ ।

खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं अहिलेको सरकारलाई विकास गर्न केले रोक्यो ? केले छेक्यो ? प्रधानमन्त्रीले आप्mनै दलका मान्छेले विकास गर्न दिएनन् भनेर कोकोहोलो गर्ने कि कमीकमजोरी हटाएर राम्रा काम गर्दै जाने ? जनताको मतबाट बनेको प्रधानमन्त्रीलाई भारतले हटाउन चाहन्छ भनेर रुन्चे मुख लगाउने कि कूटनीतिक मर्यादामा बस्ने ? भ्रष्टाचारीलाई काखी च्यापेर हिँड्ने कि कारबाही गर्ने ? सिद्घान्त, निष्ठा र जवाफदेहितामा रहेर कुरा गर्ने कि उखानटुक्का भन्दै मजाक गर्ने ? प्रधानमन्त्रीले चाहेमा भ्रष्टाचार हट्न सक्दैन ? आपूmले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनेका प्रधानमन्त्रीले काम गर्नुपर्दैन ? भ्रष्टामन्त्रीलाई ठेगान लगाउनुपर्दैन ? भ्रष्ट कर्मचारीलाई काबाही गर्नुपर्दैन ? हरेक ठाउँमा विवादित काम गर्न मिल्छ ? मुलुकमा सुशासन, आर्थिक समृद्घि, रोजगारीको अवसर, महँगी नियन्त्रण र जनताको सहज जीवनयापनको व्यवस्था गरी कोरोनाको महामारीसँग लड्नुपर्ने बखतमा पार्टीभित्रको रडाको, प्रधामन्त्रीको लाटो हठ, नेताका आआफ्नै स्वार्थ, के मुलुकलाई सधैंभरि यी सीमित नेतागणको स्वार्थको खेलमा फसाइरहने ? समाजले सोच्ने बेला आएको छ ।

मुलुकमा तमाम समस्या छन् । कोरानाले समाज विक्षिप्त भएको छ । बाढी पहिरोको जोखिम छ । क्वारेन्टाइन स्तरीय हुन नसकेको गुनासो छ । बालुवाटार र सिंहदरबार वरिपरि नै कोरोना संक्रमितको संख्या बढ्दै छ । शैक्षिक संस्था ठप्प छन् । विद्यार्थीले परीक्षा दिन पाएका छैनन् । जनतालाई बेरोजगारी समस्याले सताएको छ । उल्लिखित समस्याको समाधान खोज्ने कि लडिरहने ? दुनियाँ हँसाइरहने ? सरकारले यतातिर ध्यान दिएर काम गर्नुपर्दैन ? समय छँदै होस आओस् ।

(Visited 87 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

तुलसीपुरमा ट्याक्टर पल्टिदा सहचालक घाइते

तुलसीपुर । तुलसीपुमरा ट्याक्टरको ट्राली पल्टिदा एक सहचालक घाइते भएका छन् । बिजौरीबाट बालुवातर्फ जाँदै गरेको रा १ त ८६९ नम्बरको ट्याक्टरको ट्राली पल्टिदा...

सहमतिबिनै काम गरेको भन्दै सुपरमाईविरुद्ध स्थानीय

इलाम । इलामको माईखोलामा निर्माणाधिन सुपरमाई हाइड्रोले विना सहमति खोला प्रयोग गर्न खोजेकोे भन्दै स्थानीय आन्दोलित बनेका छन । इलाम नगरपालिका २, माइजोगमाई गाउँपालिका...

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बधुबार प्रधानमन्त्री निवास...

उदयपुरमा लागुऔषधसहित ४ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले नियमित चेकजाँचको क्रममा ४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका– १३ बाट त्रियुगा...

ई-पेपर

(Visited 46 times, 1 visits today)