काठमाडौं । सार्वजनिक सवारी सञ्चालन गर्न पहल र समन्वयका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनले कार्यदल गठन गरेका छन् ।
सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सञ्चालन गरेका छैनन् । महासंघ र तीनवटा मजदुर संगठनको शनिबार ललितपुरमा बसेको संयुक्त बैठकले सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्न भन्दै चार सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका कार्यवाहक अध्यक्ष दीपक केसी छन् ।
बैठकपछि जारी विज्ञप्तिमा कार्यदलले लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण सवारी साधन सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक पहलकदमी गर्ने उल्लेख छ । सरकार प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय सार्वजनिक गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार आकस्मिक रूपमा बसेको केन्द्रीय कमिटी बैठकले सरकारले सार्वजनिक यातायात खुलाउने वातावरण नबनाएको भन्दै सवारी नचलाउने निर्णय गरेको थियोे ।
महासंघले बैंकको ऋण किस्ताको स्थगन गरी पुनर्तालिकीकरण गर्नुपर्ने, ब्याजदरमा सहुलियत दिनुपर्ने, पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, गाडी र चालकको कागजपत्र नवीकरण गर्न सहजीकरण गर्नुपर्ने, चालक र परिचालकको स्वतः कोरोना बिमाको व्यवस्था गरिनुपर्नेलगायतका माग राखेका छन् ।