आईजीपी थापाका चुनौती

बाढीपहिरोको जोखिम, कोरोना संक्रमणको बिगबिगी तथा सत्ताशक्तिभित्रकै चुलिएको स्वार्थको प्रतिस्पर्धाजस्तो असामान्य परिस्थितबीच सहज ढंगले नै शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८औं आईजीपी बनेका छन् । प्राकृतिक एवं राजनीतिक चुनौतीजस्तो सहकर्मीको प्रतिस्पर्धाको सामना भने शैलेश थापाले गरिरहनुपरेन । यस अर्थमा आईजीपी थापा भाग्यमानी देखिए । जसरी सहज तरिकाले उनी आईजीपी बने उसैगरी आफ्नो सामु रहेका चुनौतीको पहाड तोड्न आईजीपी थापा सफल बनून् भन्ने अपेक्षासहितको कार्य सफलताको शुभकामना आमनागरिकहरूले उनलाई प्रदान गरेका छन् ।

स्वार्थमा आधारित राजनीतिक प्रतिस्पर्धाले सत्ता परिवर्तनको सन्दर्भ अहिले सार्वजनिक चासोको विषय बन्न छोडेको छ । यसको कारण घुमिफिरी उनै अलोकप्रिय व्यक्तिहरू नै बराबर सतामा आउनेजाने भएकाले सत्ता फेरबदलको विषय अहिले ‘जुन जोगी आए पनि कानै चिरिएको’ भन्ने लोकोक्तिजस्तै बनिसकेको छ । तर, शान्ति सुरक्षाको दायित्ववाहक नेपाल प्रहरीको आईजीपी परिवर्तनको विषय भने अहिले पनि सबैका निम्ति उत्तिकै चासो र सरोकारको विषय बन्छ । नयाँ अनुहार नै पदासीन हुन पुग्ने भएकैले आईजीपी नियुक्तिको विषय सबैको आकर्षणको केन्द्र बन्दै आएको हो । यस क्रममा कुन पृष्ठभूमिको कस्तो व्यक्ति आईजीपी बन्यो ? उनको विगतको कार्य सम्पादन क्षमता कस्तो थियो ? उनको कार्यकालमा समाजको शान्ति सुरक्षाको अवस्था कस्तो रहला ? सर्वसाधारणले उनीबाट अनुभूतिजन्य सुरक्षा प्राप्त गर्छन्÷गर्दैनन् ? भन्ने कौतूहल र चासो सधैं जस्तो अहिले पनि सर्वसाधारणमा उत्पन्न भएको छ ।

सामान्यतया शान्ति सुरक्षाको विषय सधैं चुनौतीपूर्ण रहन्छ । आईजीपी शैलेश थापाको लागि मात्र होइन, विगतका सबै आईजीपीकै सामु चुनौतीहरू थिए । चुनौतीलाई पूर्ण रूपमा निर्मूल गराउन नसकिने भए पनि सकारात्मक कार्यका साथ लागिपर्ने हो भने अवश्य नै चुनौतीलाई न्यूनीकरण गर्न सकिन्छ । हाम्रो परिप्रेक्ष्यमा आईजीपीहरू कार्य क्षमतामा कमजोर भएकै कारण चुनौती सामना गर्न असक्षम भएका होइनन् । कानुनबमोजिम स्वतन्त्र ढंगले व्यावसायिक कार्य गर्ने अवसरै प्राप्त गर्न नसक्दा चुनौतीको सामना गर्न असक्षम देखिएका मात्रै हुन् । आईजीपी थापाको सामु कतिपय परम्परागत चुनौतीहरू छन् भने कतिपय आकस्मिक । परम्परागत चुनौती समाधाना गर्न आईजीपी थापा सफल बन्छन्÷बन्दैनन् ? त्यो भविष्यले नै बताउनेछ । तर, उनको स्वच्छ पारदर्शी र इमानदारी कार्यशैलीले मात्र राजनीतिग्रस्त परम्परागत चुनौतीलाई प्रभाव शून्य बनाउने सम्भावना भने न्यून छ । सिंगो संगठनलाई नै दूषित बनाउँदै आएको राजनीतिक चुनौतीको सामना गर्न आईजीपी थापाले नैतिक इमानदारितासँगै समय परिस्थिति अनुकूल अलिक खरै रूपमा प्रस्तुत हुन सक्नुपर्दछ । नेता रिझाउनेभन्दा प्रहरी संगठनलाई जनसेवामा निष्पक्ष, पारदर्शी र कानुनसम्मत ढंगले परिचालित गराउने उनको प्रमुख दायित्व हो ।

प्रहरी प्रमुखको कार्यशैली र व्यवहार स्वच्छ, एवं पारदर्शी, निष्पक्ष र विभेदरहित भएमा प्रहरी संगठनले गति लिनेमा शंका छैन

प्रहरीसामु देखापर्ने चुनौतीको प्रकृति र स्वरूप पनि अहिले समयानकूल परिवर्तन हुँदै आएको छ । आपराधिक समूहबाट भन्दा राजनीतिक व्यक्तिसम्बद्ध अपराध र अप्रत्यासित रूपमा देखापर्ने असामान्य राजनीतिक गतिविधि नै अहिले प्रहरीका लागि बढी चुनौतीपूर्ण बन्दै आएका छन् । शान्ति सुरक्षामा खलल पु¥याउने आपराधिक गिरोहलाई प्रहरीले नियन्त्रणमा राख्दै आएकाले त्यस्ता समूह अहिले खासै चुनौतीपूर्ण छैनन् । आपराधिक गिरोहभन्दा पूर्वाग्रह र प्रतिशोध प्रेरित राजनीतिक समस्या प्रहरीका निम्ति बढी चुनौतीपूर्ण बन्दै आएको छ । राजनीतिक कारणबाट निम्तने चुनौतीहरूमध्ये पनि प्रहरीलाई कमजोर बनाएर सधैं पिछलग्गु बनाइरहने, संगठनात्मक एकतामा खलल पु¥याई राजनीतिक स्वार्थमा प्रयोग गर्न सहज बनाउने, संगठनको दीर्घकालीन हितलाई भन्दा राजनीतिक नेतृत्वको स्वार्थलाई सर्वोपरी ठान्ने, राजनीतिक हस्तक्षेपको ढाल बन्नुपर्ने तालुकदार गृह मन्त्रालय नै आफ्नो दायित्वबाट पन्छने तथा प्रहरी संगठनात्मक रूपमा मजबुत बने आफ्नो चलखेल बन्द हुने ठान्ने नेताको संकुचित मानसिकता प्रहरीको अहिलेको मुख्य चुनौती हो ।

राजनीति प्रेरित चुनौतीविरुद्ध आईजीपी शैलेश थापाले कानुनसम्मत ढंगले नै मुकाबाला गर्न सक्नुपर्दछ । राजनीतिक चुनौती प्रहरीको नियन्त्रण क्षमताभन्दा बाहिर हुने र सता सञ्चालकद्वारा नै संरक्षित हुने भएकोले यसलाई परास्त पार्न आईजीपी थापा सुझबुझका साथ कार्य गर्नुपर्ने हुन्छ । दबाबमूलक राजनैतिक चुनौतीविरुद्ध संगठनलाई नै साथमा लिएर उनी अघि बढ्नुपर्दछ । अधिकृत जवानहरूको मनोबल उच्च गराई भावनात्मक रूपमै प्रहरीलाई एक ढिक्का बनाए आईजीपी थापा कहिल्यै एक्लै हुँदैनन् । मातहतका अधिकृत जवानहरूले पनि आईजीपी थापाको समूहिक हितको कार्यमा साथ दिनुपर्दछ ।

संगठित रूपमै सुदृढ र विस्तारित भएको भ्रष्टाचार अहिले मुलुककै सबैभन्दा ठूलो चुनौती मानिन्छ । मुलुकमा भ्रष्टाचारविरुद्ध कानुन छ तर प्रभावकारी रूपले कार्यान्वयन भएको छैन । ठूलो परिमाणको भ्रष्टाचार राजनीतिक व्यक्तिबाट हुने गरेकाले यस्तो भ्रष्टाचार दिनानुदिन विकराल बन्दै आएको सर्वविदितै छ । भ्रष्टलाई दण्डसजाय गराउने कानुनी प्रावधानलाई व्यवहारमा अक्षरशः लागू गराउने प्रचलन भए भ्रष्टहरू हतोत्साहित बन्दै जान्छन् । तर, कारबाही होइन, भ्रष्टलाई उल्टै संरक्षण गर्ने राजनीतिक प्रवृत्तिले भ्रष्टहरू नै प्रोत्साहित बन्दै आएका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व प्रहरीको पनि हो । आईजीपी शैलेश थापाले यसतर्फ पनि विशेष ध्यान पु¥याउनुपर्दछ । व्यक्ति व्यक्तिबीच लाभको आदानप्रदानबाट प्रारम्भ भएको भ्रष्टाचारको स्वरूप समूहगत रूपमै राष्ट्रव्यापी रूपमा विस्तारित भइसकेको छ । यसक्रममा नगदको लेनदेन मात्र होइन, अन्य धनमाल र स्थिर सम्पत्तिसमेत सौगातकै रूपमा आदानप्रदान गर्ने प्रवृत्ति भ्रष्टहरूमा देखिएको छ । तर, भ्रष्टविरुद्ध कठोर बन्ने आईजीपी थापाको कदम राजनीतिक नेतृत्वकै बाधक बन्न सक्दछ । तथापि, त्यसको परवाह नगरी दृढतापूर्वक आफ्नो मिसनमा आईजीपी थापा अगाडि बढे सम्पूर्ण जनताले नै आईजीपीलाई साथ दिने भएकोले भ्रष्ट नेताहरू क्रमशः नांगिन पुग्छन् । यो अवस्थामा आईजीपी थापा लोकप्रिय बन्नेछन् ।

आईजीपी थापाको सामु संगठनात्मक आन्तरिक चुनौतीहरू पनि नभएका होइनन् । आन्तरिक चुनौतीभित्र, प्रहरीमा अझै कायमै रहेको राजनीतिक आस्थामा केन्द्रित प्रतिस्पर्धाको अवशेषलाई आईजीपी थापाले पूर्ण रूपमा निर्मूल बनाउनुपर्दछ । यसैगरी दण्ड र पुरस्कारको नीतिलाई संगठनले विभेदित ढंगले कार्यान्वयनमा ल्याउनुपर्दछ । अधिकृत जवानको मूल्यांकनको आधार नेताको सिफारिस होइन, कर्मचारीको व्यावसायिक दक्षतामा आधारित बनाउनुपर्दछ । वृत्ति विकासका स्थिर नीति तर्जुमा गरी लागू गर्नुपर्दछ । अझै जनमैत्री हुन नसकेको प्रहरीको आचरण र व्यवहार सुधारमा ल्याउनुपर्दछ । नेताप्रति होइन, प्रहरी अधिकृत जवानहरू आईजीपीप्रति बफादार बन्ने अवस्थामा प्रहरी मनोबल बढाउनुपर्दछ । बराबर आलोचित हुँदै आएको प्रहरी अनुसन्धानलाई बाह्य हस्तक्षेपबाट मुक्त गराउनुपर्दछ । प्रहरी असन्तुष्टिको कारण बन्दै आएको सरुवा र बढुवा प्रक्रियालाई समानुपातिक रूपमा पारदर्शी र व्यवस्थित गराउनुपर्दछ । सबै प्रकारका आन्तरिक चुनौती हल गरी प्रहरीलाई भावनात्मक रूपमै एक ढिक्का बनाउन आईजीपी थापाले अग्रणी भूमिका निभाउन सक्नुपर्दछ । आन्तरिक संगठनात्मक सुधारका कार्यलाई र्आजीपीले पहिलो आवश्यकताको विषय ठान्नुपर्दछ ।

प्रहरीसामु देखापर्ने चुनौतीको प्रकृति र स्वरूप समयानकूल परिवर्तन हुँदै आएकाले त्यसको पहिचान जरुरी छ

समाजमा आकस्मिक रूपमा निम्तन सक्ने चुनौतीहरू पनि असीमित हुन्छन् । श्रीमान्–श्रीमतीबीचको घर झगडाले उतिखेरै सडक अवरोध हुन पुग्छ । दुर्घटना हुनासाथै तोडफोड, आगजनी र तनाव निम्तन्छ । सेवा प्रदायक निकायले सेवा प्रवाहमा ढिलाइ गरे उतिखेरै नाराजुलस लाग्छ । आपराधिक घटना हुँदा सुरक्षा निकायलाई साथ सहयोग पु¥याउनुको सट्टा असक्षम बनाउने नियतले तनाव सिर्जना गराइन्छ । गैरकानुनी कार्यविरुद्ध आवाज उठाउने व्यक्ति वा संघसंस्थाको कार्यलाई सरकार विरोधी षड्यन्त्रको रूपमा लिइन्छ । अवैध कार्य व्यक्तिको स्वतन्त्रताको अधिकार हो भन्ने उद्देश्यले सञ्चालित हुने गतिविधिले बराबर समाजमा तनाव बढाउँछ । अवैध कार्य गर्नेलाई दण्डसजायको भागिदार बनाइनुहुँदैन भन्ने राजनीतिक दबाब आउँछ । तर, राजनीतिक व्यक्ति संलग्न जघन्य आपराधिक घटना’boutमा भने समाज नै मौन बस्छ । यस्तै, अप्रत्यासित घटनाले शान्तिसुरक्षाको अवस्था उतिखेरे तनावपूर्ण बन्ने भएकाले त्यसलाई मौकैमा बुद्धिमतापूर्ण ढंगले हल गर्न सक्ने कुशल एवं दक्ष प्रहरी अधिकृत नै कार्यक्षेत्रमा खटिएको हुनुपर्दछ । नेताको सिफारिस र व्यक्तिको अनुहार हेरेर होइन, उत्पन्न हुने आकस्मिक चुनौतीलाई कुशलतापूर्वक निराकरण गर्न सक्षम र दक्ष व्यक्ति कार्यक्षेत्रमा खटिए प्रहरी आफैं समस्याको कारण बन्दैन । यो आईजीपी थापाले ध्यान पु¥याउनुपर्ने महŒवपूर्ण कुरा हो । यो पृष्ठभूमिमा हुने प्रहरी कार्य छिटो, छरितो र जनसेवामुखी बन्छ । यसको परिणाम प्रहरी समाजमा लोकप्रिय हुन्छ ।

स्वार्थकै कारण प्रहरीको वृत्ति विकासको स्थिर नीति सरकारले अवलम्बन नगर्दा ठूलो संख्याका अधिकृतहरू एकैसाथ सेवामुक्त हुने तथा कतिपय दक्ष अधिकृतहरू पछि पर्ने गरेका छन् । अहिलेकै दृष्टान्त हेर्ने हो भने एकैदिन भर्ना भएका व्यक्तिहरू एसएसपीदेखि क्रमशः आईजीपीसम्मको चार तहमा कार्यरत देखिन्छन् । ब्याचमेटबीचकै अन्तर तीन तहको हुनु सामान्य होइन । यसले प्रहरीको उच्च स्तरीय अधिकृतहरूकै मनोबलमा प्रतिकूल प्रभाव पार्ने भएकाले त्यसको प्रत्यक्ष असर प्रहरी कार्यमा पर्दछ । आईजीपी थापाको निम्ति यो अवस्था चुनौतीपूर्ण नभए पनि असहज भने हुन्छ । यसको अतिरिक्त निकट भविष्यमा गर्नुपर्ने प्रहरीको समायोजन र उपल्लो तहदेखिकै बढुवा प्रभाव मुक्त भए त्यसलाई थापाले सहजै सम्पन्न गर्न सक्छन् । तर, राजनीतिक हस्तक्षेप यथावत् रहे त्यो थापाका लागि चुनौतीपूर्ण बन्छ । यो अवस्थामा आईजीपी थापाले बढी सावधानी अपनाउन सक्नुपर्दछ ।

आईजीपी थापाको सामु रहेका उपरोक्त चुनौतीहरू सबै राजनीति सिर्जित नै हुन् । राजनीतिक चुनौती रोकी प्रहरी सेवालाई स्वच्छ र पारदर्शी बनाउने पहिलो दायित्व प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रामबहादुर थापाकै भएकाले उनीहरूले द्वैध मानसिकता त्यागी राजनीतिक हस्तक्षेप रोक्ने ढाल बनिदिनुपर्दछ । यसरी, प्रहरी राजनीतिक प्रभावबाट मुक्त हुने हो भने आईजीपीको लागि चुनौती केही छैनन् । यसका निम्ति आईजीपी थापाको कार्यशैली र व्यवहार स्वच्छ, पारदर्शी, विभेदरहित निश्चित मापदण्डमा आधारित तथा स्वार्थ र स्वेच्छाचारिताविहीन भए पुग्छ । यस पृष्ठभूमिमा थापाद्वारा सम्पादित कार्य संगठनभित्र मात्र होइन, सर्वसाधारणको नजरमा पनि प्रशंसनीय देखिन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने