काठमाडौं । पोलिमर नोट छपाइ प्रकरणमा विशेष अदालतले पूर्वगभर्नर तिलक रावलसहितलाई सफाइ दिने फैसला गरेको छ । विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र शान्ति सिंह थापाको मंगलबारको इजलासले रावलसहित तीन जनालाई सफाइ दिने फैसला गरेको हो ।
सफाइ पाउनेमा राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडे रहेका छन् । उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो ।
रावल र पौडेललाई महŒवपूर्ण पदमा हुँदा राष्ट्रलाई हानि हुने काम गरेकाले ६ वर्षसम्म कैद र ९१ लाख ९ हजार ८ सय ८९ रूपैयाँ नै जरिमाना तिराउनुपर्ने दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।
त्यस्तै, पाँडेलाई जरिमाना उत्तिकै सुनाए पनि कैद भने ६ महिनादेखि १ वर्षसम्म गर्नुपर्ने अख्तियारको माग गरेको थियो । १० रुपैयाँको पोलिमर नोट ५ करोड थान छाप्न मे फ्लावर कम्पनीलाई दिइएको थियो । प्रतिहजार नोट छपाइका लागि ६८ अस्ट्रेलियन डलर लाग्नेमा पछि ४ डलर बढाएर बोलपत्र स्वीकृत गरिएकामा त्यसैलाई बिगो बनाएर मुद्दा दायर भएको थियो ।
छपाइका क्रममा नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अस्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिएको, सञ्चालक समितिका निर्णय चुहाएको र जर्मन कम्पनीसँगको नोट छाप्ने साँचो नोट प्रिन्टिङ अस्ट्रेलियालाई हस्तान्तरण गर्न लगाएको आयोगको दाबी थियो । नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अस्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार भएको, छापिएका नोटका कमी कमजोरी मिडियामा नल्याउन मिडियाकर्मीलाई थाइल्यान्ड हुँदै अस्ट्रेलिया पठाउनुलाई समेत आयोगले भ्रष्टाचारको आधार मानेको थियो ।