काठमाडौं । यस वर्ष पनि नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ संगीत, नाटक तथा नृत्य विधाका ६ जना अग्रज साधकहरुलाई प्रदान गरिएको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संस्कृति मन्त्रालयमा एक समारोहबीच यी स्रष्टाहरूलाई जनही १ लाख १ रुपैयाँसहितको नेपाल संगीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७६ बाट सम्मानित गरेका हुन् ।
कोरोन संक्रमण मुलुकमा देखिएसँगै निस्क्रिय भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यो आर्थिक वर्ष सकिँदै गर्दा ६ जना नाट्य तथा संगीतकर्मीलाई मंगलबार पुरस्कृत गरेको हो ।
यस वर्ष परम्परागत तथा शास्त्रीय संगीत विधातर्फको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट वरिष्ठ तवलावादक रामहरि गुरुङलाई सम्मानित गरिएको छ । यस्तै, आधुनिक संगीत विधातर्फको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट वरिष्ठ संगीत संयोजक हस्तबहादुर थापा ‘पल्ली मगर’ पुरस्कृत गरियो । सोही कार्यक्रममा नाट्य विधातर्फको यो वर्षको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ललाई पुरस्कृत गरियो ।
मन्त्री भट्टराईले यस वर्षको लोकसंगीततर्फको प्रज्ञा पुरस्कार अग्रज लोकगायक कुमार बस्नेतलाई प्रदान गरे । त्यसैगरी, सोही कार्यक्रममा रंगमञ्च विधातर्फको यस वर्षको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट अग्रज अभिनेता नीर शाहलाई र नृत्यतर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार अग्रज नृत्यकलाकार नारायणीदेवी प्रधानलाई मन्त्री भट्टराईले प्रदान गरे । मन्त्री भट्टराईले नेपाली संगीत तथा नाट्य क्षेत्रको संरक्षण र उन्नयनमा प्रज्ञा प्रतिष्ठानले गर्ने हरेक क्रियाकलापमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदैैव सहयोगी भूमिका खेल्ने बताए ।
सो पुरस्कार समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले नेपाली संगीत तथा नाट्य क्षेत्रको संरक्षण, संवद्र्धन तथा उन्नयनमा आफ्ना् जीवनको लामो समय पु¥याएका स्रष्टालाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे । कोरोनाका कारण सिर्जना भएको समस्यासँगै बेरोजगार र आर्थिक संकटमा नेपाली कलाकारहरू पनि परेको कुलपति रायनले बताए ।
सो प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै देशको प्रगति सडक, पुललगायतका संरचनाहरुले मात्र निर्धारण हुने नभई मौलिक संस्कृति र जीवनशैलीले पनि निर्धारण गर्ने बताए । नेपाली संगीत तथा नाट्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका धेरै स्रष्टा भएकाले आउँदा दिनमा क्रमशः पुरस्कृत गर्दै जाने पनि बताए ।
यस्तै, प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोटले सो कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको योगदानको चर्चा गरे । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्यहरू मेधराज शर्मा ‘मञ्जुल’, अशोककुमार राई, निशा पोखरेल तथा नमुना शर्मा, सभा सदस्य हरिबहादुर थापा, मन्त्रायलका सचिव केदारबहादुर अधिकारी, सहसचिव सुरेश आर्चायलगायत सहभागी थिए ।