उदयपुर । उदयपुरका कोरोना संक्रमित मध्ये ३ वर्षीय बालिकासहित ६४ जनाले कोरोनालाई जितेर घर फर्किन सफल भएका छन् । पछिल्लो पटक उदयपुरका १४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् । चौदण्डीगढी नगरपालिका– ६ सातधारेमा स्थापना गरिएको उदयपुर कोभिड–१९ अस्पतालको आईसोलेसनमा राखेर उपचाररात ३ वर्षीया बालिका सहित १४ जनाले कोरोना जितेर डिस्चार्ज भएका हुन् ।
भारतका विभिन्न ठाउँमा काम गरी घर फर्काइएका स्थानीय तहका उनीहरु संक्रमित प्रमाणित भएपछि आइसोलेसन वार्डमा राखेर उपचारमा थिए । लगातार १४ दिनसम्म बसेपछि ३ पटकसम्म पिसिआर परीक्षण गर्दा भाईरस नदेखिएपछि उनीहरु डिस्चार्ज भएर घर पठाइएको अस्पताल रेखदेख गर्ने जिम्मा पाएका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए ।
आइसोलेसनमा उपचाररत २५ जना बिरामी मध्ये निको भएका १४ जनालाई चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राईले कोरोनामुक्त प्रमाणपत्र प्रदान गर्दै बिदाई गरेका थिए । २ जना यसअघि नै निको भएर घर फर्किसकेका छन् भने एक महिलासहित ८ जना आइसोलेसनमा उपचाररत रहेको उनले बताए । उपचाररत ८ जनामा पनि अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिएको पोखरेलले बताएका छन् ।
उदयपुरमा हालसम्म ७७ जनामा संक्रमण देखिएको छ । बैशाख ५ गते पहिलो पटक सदरमुकाम त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिदमा रहेका १२ भारतीय सहित १६ जमाति मध्ये ११ जनामा संक्रमण पुष्टि भएको थियो । बैशाख अन्तिम सम्ममा ३२ जना संक्रमित पुगेको उदयपुरमा पछिल्लो पटक भारतबाट फर्केकाहरुमा कोरोना देखिने गरेको छ । हालसम्म त्रियुगा नगरपालिकामा सब भन्दा बढी १३ महिला र ३६ पुरुषमा संक्रमण पुष्टि भएको छ, भने बेलका नगरपालिकामा १ महिला सहित १४, कटारी नगरपालिकामा ३ महिला सहित ७ जनामा र चौदण्डीगढी नगरपालिकामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । गाउँपालिका तर्फ ताप्लीमा १ महिलासहित ३ जना र उदयपुरगढी गाउँपालिकामा २ पुरुषमा संक्रमण देखिएको छ । रौतामाई र लिमचुङबुङ गाउँपालिकामा अहिलेसम्म संक्रमित देखिएका छैनन् ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिलेसम्म उदयपुरमा १ हजार १ सय ७५ महिला र ३ हजार १ सय २६ पुरुषको पिसिआर परीक्षण गराइएको छ । जस मध्ये १८ महिला र ५८ पुरुष संक्रमित देखिएका छन् । जसमध्ये अहिलेसम्म ६४ जना निको भएर घर फर्किसकेको र १३ जनाको उपचार भई रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले बताएका छन् । उनका अनुसार हाल १५ महिला र २ सय ३ पुरुष क्वारेन्टिनमा रहेका छन् ।