अलपत्र प-यो तीन जिल्ला छुने बाहिरी चक्रपथ

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला छुने बाहिरी चक्रपथ आयोजना निर्माणमा सरकारले बेवास्ता गरेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर छुने गरी ७२ किलोमिटर दुरीको चक्रपथ निर्माणलाई सरकारले बिर्सिएको हो । बाहिरी चक्रपथ आयोजना पछिल्लो समय पूर्ण निष्क्रिय अवस्थामा छ ।

सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७५-७६ को लक्ष्यअनुसार सोही वर्ष एक किलोमिटर चक्रपथ निर्माण हुनुपर्ने हो । तर, हालसम्म चक्रपथ कुन ठाउँबाट निर्माण गर्ने भन्ने टुंगोमा समेत सरकार पुगेको छैन । सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेटमा बाहिरी चक्रपथको नामसमेत लिएको छैन ।

राष्ट्रिय योजना आयोगको वार्षिक विकास कार्यक्रममा २०७६-७७ मा हुने मुख्य क्रियाकलापमा बाहिरी चक्रपथ आयोजनाको ठेक्का व्यवस्थापन गर्ने लक्ष्य राखेको थियो ।

– २०७५ मै एक किमि बन्नुपर्नेमा अझै सुरु भएन
– महालेखाको अडिटमा शून्य प्रगति
– सरकारको नीति तथा बजेटमा नामसमेत परेन

महालेखा परीक्षकको कार्यालयले भने आर्थिक वर्ष २०७६-७७ मा बाहिरी चक्रपथ आयोजनालाई शून्य प्रगतिको आयोजनामा राखेको छ । ‘शून्य प्रगति भएका ४ आयोजनामध्ये सासेक राजमार्ग सुधार आयोजना, उपक्षेत्रीय यातायात अभिवृद्धि आयोजना र काठमाडौं बाहिरी चक्रपथ आयोजनासमेतका लागि २६ करोड ८२ लाख २६ हजार बजेट विनियोजन गरे तापनि खर्च गरेको छैन,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

बाहिरी चक्रपथ आयोजनाका लागि जग्गा अधिग्रहण गर्न सहरी विकास मन्त्रालयमा फाइल पुगेको फाइल केही वर्षदेखि थन्किएर बसेको छ ।

तत्कालीन सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले चक्रपथ निर्माणमा लगानी सुनिश्चितता भएपछि जग्गा अधिग्रहण अघि बढाउने बताएका थिए । उनको राजीनामा पछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले नै सहरी मन्त्रालयको पनि जिम्मेवारी सुम्पिँदै आएका छन् ।

आर्थिक वर्ष २०७५-७६ मै एक किलोमिटर बाहिरी चक्रपथ बन्नुपर्नेमा हालसम्म पनि निर्माण सुरु हुन सकेको छैन । मन्त्रालयले बाहिरी चक्रपथ निर्माणमा चासो र तत्परता समेत नदेखाउँदा गत आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माण प्रगति शून्य रहन पुगेको हो ।

पछिल्लो समय पहिलो खण्डको ६ दशमलव ६ किलोमिटर जग्गामा २ हजार ९ सय ५३ साना कित्ता परेपछि ‘त्यसलाई कसरी अगाडि बढाउने’ भन्ने विषयले बाहिरी चक्रपथ निर्माण प्रभावित हुन पुगेको थियो । त्यसयता समस्या समाधान गर्न सरकारले चासो देखाएको छैन ।

४ वैशाख २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकबाट पहिलो खण्डको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएको थियो । मन्त्रालयको आर्थिक वर्ष २०७५-७६ को योजनाअनुसार बाहिरी चक्रपथको चोभारदेखि सतुंगल खण्डको ६.६७ किमि २०७९÷८० सम्म सम्पन्न गर्ने लक्ष्य छ ।

सरकारकै बेवास्ताले ओझेलमा परेको बाहिरी चक्रपथ ८ लेनको बनाउने तयारी छ । सडकका दुवै भागमा साइकल ट्र्याक र ‘ग्रिन बेल्ट’सहितको फुटपाथ निर्माण गर्ने योजना बनाइएको छ ।

चक्रपथ काठमाडौं उपत्यकाका तीनवटै जिल्ला छुने गरी बनाउन लागिएको आयोजना हो । बाहिरी चक्रपथ तराई जोड्ने ‘फास्ट ट्र्याक’का साथै अरनिको, त्रिभुवन र पृथ्वी राजपथसँग जोडिनेछ । बाहिरी चक्रपथ निर्माणका लागि साढे ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता