भ्रष्ट, भ्रष्टाचार र दण्डहीनता

पहिले–पहिले चोर, डाँका र हत्यारालाई समाजले पतित मान्थ्यो । तर, अहिले सबैभन्दा पतित र तुच्छ भ्रष्टलाई मानिन्छ । यसको कारण हो चोर डाँकाले मानसिक रूपमा समाजलाई नै त्रसित बनाए पनि व्यक्ति विशेषलाई मात्र हानिनोक्सानी पु¥याउँछ । भ्रष्टले त व्यक्ति विशेषलाई मात्र होइन, सिंगो समाज र राष्ट्रलाई नै हानि पु¥याउँछ । किनकि राष्ट्रिय गौरवको अर्बौंको योजनामा कसैले घोटाला गरे त्यसले व्यक्ति मात्र होइन, ३ करोड नेपाली र सिंगो मुलुकलाई नै पीडित बनाउँछ । क्षतिको असर देशव्यापी रूपमा फैलने भएकाले भ्रष्ट व्यक्ति समाजको नजरमा सबैभन्दा तुच्छ र पतित ठानिन्छ । भ्रष्ट समाजबाट पतित त हुन्छ नै यसको अलावा उसको भ्रष्ट आचरणको दुर्गन्धित असर ऊ आफंैले परिवारका सम्पूर्ण सदस्यसम्म पु¥याउँछ । भ्रष्टको परिवारका सबै सदस्यहरूको सक्कली नाम नै छायामा पारी उनीहरूको सामाजिक पहिचान नै कलंकसँग जोडिन्छ । यसक्रममा उनीहरू ऊ के त्यो भ्रष्ट फलानाकी श्रीमती, भ्रष्टाचारीको छोराछोरी, भ्रष्ट फलनाकै नातिनातिनीका रूपमा समाजमा परिचित हुन पुग्छन् ।

भ्रष्टको परिवारका सबै निर्दोष, इमानदार र नैतिकवान् सदस्यहरूले समाजको सामु शिर झुकाउनुपर्ने अवस्था आउँछ । एक निर्दोष, निष्कलंक र नैतिकवान् व्यक्तिका निम्ति अर्काको कारणले समाजसामु शिर झुकाउनुपर्ने अवस्था आउनु सुन्नेकै निम्ति दुःखदायी हुन्छ भने सम्बन्धित व्यक्तिको निम्ति यो कति मार्मिक होला ? कल्पना गरौं त । भ्रष्टको परिवारलाई हेर्ने यो पछिल्लो परिवर्तित सामाजिक दृष्टिकोण हो । सोच्नेको निम्ति इज्जत प्रतिष्ठा र सम्मानभन्दा ठूलो अरू केही हुँदैन । इज्ज प्रतिष्ठा सबैले आर्जन गर्न नसक्ने, व्यक्तिमा निहित अत्यन्त दुर्लभ विशेषता हो । धन सम्पत्ति गुमे पुनः आर्जन गर्न सकिन्छ तर इज्जत प्रतिष्ठा गुमे पुनः आर्जन गर्न सकिँदैन । सानो चरिचत्रहीन कार्यले चुलिएको इज्जत प्रतिष्ठा क्षणभरमै माटोमा बिलाउँछ । प्रतिष्ठा आर्जन गर्न जति कठिन छ त्यसलाई यथाअवस्थामा जोगाई राख्न त्योभन्दा बढी कठिन हुन्छ । बिरलै व्यक्तिले मात्र इज्जत प्रतिष्ठालाई यथाअवस्थामा जोगाएका हुन्छन् । इज्जत प्रतिष्ठा जस्तो दुर्लभ सम्पत्तिलाई धाराशयी बनाएर व्यक्ति किन दुश्चरित्रवान् बन्छ ? यो आश्चर्यलाग्दो संवेदनशील विषय हो । यसलाई निरुत्साहित गराउन राज्य मात्र होइन, समाज नै लागिपर्नुपर्दछ ।

प्रतिष्ठा गुमाएर व्यक्ति भ्रष्ट बन्ने कारण पनि अनेकौं हुन्छन् । त्यसमध्येको प्रमुख कारण व्यक्तिमा निहित दरिद्र मानसिकता र प्रलोभन हो । साँझ–बिहान खानाकै समस्यामा रुमलिएका अधिकांश विपन्न व्यक्ति पनि दरिद्र मानसिकताका हुँदैनन् । लाउने, खाने र बस्ने आधारै नभएर बिचल्लीमा पर्दा पनि मागेर वा अर्काकै आश्रयमा जीवन गुजारा गर्ने, दरिद्र मानसिकताविहीन स्वाभिमानी व्यक्ति समाजको नजरमा सधैं सम्मानित बनिरहेका हुन्छन् । तर यसविपरीत दिनको अर्बौं कमाउने धनाढ्य पनि दरिद्र मानसिकताका हुन्छन् । धनसम्पत्तिले मात्र दरिद्र मानसिकतालाई प्रभावहीन बनाउन सक्दैन । अभाव र समस्याले दरिद्र मानसिकता उत्पन्न गराउने होइन यो त व्यक्ति विशेषमा स्वतःस्फूर्त वा जन्मजात देखापर्ने दुर्गुण हो । प्रलोभनको त दरिद्र मानसिकतासँग अनोन्याश्रित सम्बन्ध हुने भएकोले यस्तै व्यक्तिहरू भ्रष्टाचारमा लिप्त हुने गर्दछन् । कमीकमजोरी र अभाव पूरा गराउन होइन, आदतलाई निरन्तरता दिन दरिद्र मानसिकताका व्यक्तिहरू भ्रष्टाचारमा लागिरहन्छन् । सार्वजनिक महŒवको सम्मानित ओहदामा रहँदा भ्रष्ट कहलिएका विगतका कतिपय उच्च पदस्थ पदाधिकारीहरू यसको दृष्टान्तमा पर्दछन् भने कतिपयको यही लिस्टमा नाम थपिने क्रम पनि बढ्दै आएको छ ।

भ्रष्टले देश र जनतालाई कसरी पीडित बनाउँदै आएका छन् तथा मुलुकको भ्रष्टाचारको विद्यमान अवस्था र यसको विस्तार कुन अवस्था र रफ्तारमा भइरहेको छ भन्ने कुरा सर्वसाधारण सबैको मुख्य सरोकारको विषय हो । भ्रष्टलाई निरुत्साहित बनाउनु अगाडि यसको विविध पक्षको जडसम्म हामीले अध्यायन अनुसन्धान गर्नुपर्ने हुन्छ । भ्रष्टाचारको विद्यमान अवस्थालाई बुझ्न हामीले मुलुकको राजनीतिक, आर्थिक, सामाजिकलगायत सरकारी संघसंस्था र निजी क्षेत्रसम्म पुग्नुपर्दछ । यसमध्ये पनि राजनीतिक भ्रष्टले पछिल्लो समयमा मुलुकलाई सबैभन्दा पीडित बनाउँदै आएका छन् ।

दण्डहीनताले भ्रष्टाचार चरम शिखरमा पुग्दा पनि दण्ड–सजाय दिलाउने कानुन कार्यान्वयनमा ल्याइएको छैन

राजनैतिक व्यक्तिको पहुँच मुलुकको सबै क्षेत्रमा हुने कुरा सर्वविदितै छ । राज्यको विकास निर्माणको योजना बनाउने र कार्यान्वयन गराउने राजनीतिक व्यक्तिहरू नै हुन्छन् । यस क्रममा राष्ट्रको ढिकुटी नै यिनीहरूको हातमा हुन्छ । सामान्य योजनाबाट करोडौं हत्याउन पनि उनीहरूलाई सहज हुन्छ । कुन योजना कहिले ल्याउने, कोद्वारा कसरी सञ्चालन गराउने, विश्वासी व्यक्ति तयार पारेर मात्रै पछि टेन्डर आह्वान गर्ने, सकेसम्म मिलेमतोमै टेन्डर हाल्न लगाउने, यदि कानुनी बाधा अवरोध केही भए संशोधन गरी आफ्नो स्वार्थअनुकूल बनाउने र सबै प्रक्रिया पूरा गराएरै विश्वासी व्यक्तिलाई जिम्मेवारी प्रदान गराउने प्रवृत्तिका राजनीतिक भ्रष्ट शक्तिशाली ठानिन्छन् । मुलुकको कार्यकारी प्रमुखलाई उतिखेरै प्रभावित बनाउने कला उनीहरूमा हुन्छ । न्यायालयसमेत राजनीतिक भ्रष्टको वशमा रहेको विद्यमान अवस्थामा अन्य संवैधानिक निकाय र राज्य संयन्त्र त राजनीतिक भ्रष्टको खेलौना बन्दै आएका छन् ।

‘ए’ ग्रेडमा पर्ने उच्चस्तरीय राजनीतिक भ्रष्टपछि ‘बी’ ग्रेडका भ्रष्ट आउँछन् । यो समूहमा तल्लो तहका राजनीतिक व्यक्ति, निजबाटै परिचालित वित्तीय क्षेत्रसँग सम्बन्धित राष्ट्रसेवक र निर्माण व्यावसायी एवं ठेकेदार पर्दछन् । यिनीहरूले ‘ए’ ग्रेडकै राजनीतिक भ्रष्टको आदेशलाई अख्तियार प्राप्त सरकारी अधिकारीमार्फत प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याई लाभ लिने र दिने गर्दछन् । विशेष गरी यो वर्गका भ्रष्टको निर्माण कार्यमा संलग्न व्यक्ति र ठेकेदारसँग सम्बन्ध राम्रो हुन्छ । सञ्चालित आयोजना परियोजनाको अनुमानित लागतमध्ये केकति प्रतिशत ‘ए’ ग्रेडका भ्रष्टमा पु¥याउने, कति प्रतिशत आफूले राख्ने तथा कति ठेकेदारलाई दिने भन्ने’boutमा कार्य प्रारम्भ गर्नुअगाडि नै यिनीहरूबीच सम्झौता हुन्छ । स्वार्थको सम्झौताले निर्माण कार्य नै प्रभावित बन्छ । निर्माण गुणस्तरहीन भए पनि बोलपत्रमा उल्लिखित सर्तअनुसारै गुणस्तरीय छ भनी कागजी रूपमा प्रमाणित गर्न संलग्न सरकारी प्राविधिज्ञहरू पनि पछि पर्दैनन् । सम्पन्न भएको केही समयमै निर्माण संरचना लथालिंग हुँदा सर्वसाधारणबाट हुने विरोधलाई लाभ प्राप्त व्यक्तिले सुनेको नसुनै गरी उडाइदिन्छन् । यस्तो प्रवृत्तिको उनीहरूको कार्यबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सर्वसाधारण नागरिकदेखि राष्ट्रलाई नै क्षति पु-याउँछ । विकास निर्माणका हरेक कार्यको अवस्था अहिले यस्तै छ ।

यति मात्र होइन मुलुकमा तेस्रो तहका भ्रष्टहरू पनि उत्तिकै सक्रिय छन् । यस समूहका भ्रष्टको कार्यशैली भने सबैभन्दा डरलाग्दो र घातक हुन्छ । यस समूहमा सरकारी एवं गैरसरकारी संघसंस्थामा आबद्ध उच्चस्तरीय पदाधिकारी, निजी क्षेत्रकै व्यावसायी जस्तो उद्योगपति, वित्तीय संस्थाका सञ्चालक तथा कामकार्यको सिलसिलामा उनीहरूकै निकट सम्पर्कमा रहने सरकारी पदाधिकारी पर्दछन् । यो वर्गका भ्रष्टले पनि प्रत्यक्ष एवं अप्रत्यक्ष रूपले देश र जनतालाई पीडित बनाउँछन् । पेसागत कार्य सम्पन्न गर्ने क्रममै यिनीहरूबाट भ्रष्टाचार हुन्छ । यस्ता भ्रष्टको उद्देश्य पनि राष्ट्रलाई ठग्ने हुन्छ । आम्दानीको स्रोत लुकाउने, आयात–निर्यात पारदर्शी नगराउने, सम्झौतामा लेखापरीक्षण गराएर कागजी प्रमाण दुरुस्त बनाउने, सरकारी दस्तुर कम तिर्ने, लेखापरीक्षण गर्ने सरकारी एवं निजी क्षेत्रकै लेखापरीक्षकलाई आफ्नै स्वार्थमा प्रयोग गरी लाभ लिने यो वर्गका भ्रष्टको प्रमुख विशेषता हो । यो समूहका भ्रष्ट पनि सबै समान हुँदैनन्, कोही उच्चस्तरीय हुन्छन् भने कोही सामान्य । यो वर्गका भ्रष्टको अर्को डरलाग्दो विशेषता भनेको काल्पनिक प्रमाण बनाएरै वित्तीय संस्थाको रकम लुट्ने हुन्छ ।

माथिको वर्गीकरणभित्र नपर्ने अन्य ससाना खुद्रे भ्रष्टको अर्को झुन्ड पनि हुन्छ । जसलाई चौथो वर्गको भ्रष्ट मानिन्छ । यिनीहरूको निम्ति २÷४ हजारकै रकम पर्याप्त हुन्छ । यस्ता खुद्रे भ्रष्ट भने निश्चित स्थानमा मात्र सीमित रहन्छन् । सेवा प्राप्त गर्ने सिलसिलामा सेवाप्रदायक कार्यालयमा सेवाग्राही पुग्दा उनीहरू रानोलाई मौरीको झुन्डले घेरेजस्तै सेवाग्राहीलाई घेर्छन् । सेवाग्राहीले आफैं गर्दा घन्टौं लाग्ने कार्य खुद्रे भ्रष्टमार्फत गर्दा छोटो समयमै सम्पन्न पनि हुन्छ । तर, यसबापत उनीहरूले तोकेको नजराना भने टक्र्याउनै पर्दछ । खुद्रे भ्रष्टले सम्बन्धित कार्यालयको निम्ति मासिक निश्चित रकम प्रदान गरी कर्मचारीलाई हात लिएका हुन्छन् । यही कारणले उनीहरूमार्फत हुने कार्य छिटोछरितो ढंगले सम्पन्न हुन्छ । खुद्रे भ्रष्टले अरू भ्रष्टको जस्तो राष्ट्रिय क्षति नपु¥याए पनि सेवाग्राहीलाई भने सामान्य क्षति पु¥याउँछन् । लेखनदास र दलालको रूपमा परिचित यी भ्रष्टहरू विशेष गरी वित्तीय कारोबार गर्ने कार्यालयहरू जस्तो ः मालपोत, नापी, राजस्व, भन्सार र अन्तशुल्कजस्ता कार्यालयमा अखडा जमाएर रहेका हुन्छन् । अपराधको दृष्टिकोणले लुटेरा शैलीमा प्रस्तुत हुने यी भ्रष्टको समूह पनि ठूलै हुन्छ ।

दण्डहीनताले भ्रष्टाचार चरम शिखरमा पुगेको छ । दण्ड–सजाय दिलाउने कानुन छ तर कार्यान्वयन छैन । अख्तियारलाई राजनीतिक भ्रष्टहरूले नै आफ्नो पकडमा पारी खुलेआम भ्रष्टाचार गर्दै आएका छन् । प्रथम श्रेणीमाथिको उच्च पदस्थ कर्मचारीदेखि सबै राजनीतिक भ्रष्टलाई अख्तियारले कारबाही त होइन, ठाडो शिर गरेर हेर्नसम्म सक्दैन । तल्लो तहका २÷४ जना निरीह कर्मचारीलाई मात्र कारबाहीको दायरामा ल्याएर अख्तियारले अहिले आफ्नो साख बचाउँदै आएको छ । राजनीतिक संरक्षणमा केन्द्रदेखि स्थानीय तहसम्म हुने भ्रष्टाचार व्यवहारमा अख्तियारको कार्यक्षेत्र बाहिरको मानिदै आएको छ । सामान्य सिफारिसकै लागि पनि सेवाप्रदायक कार्यालयमा सेवाग्राहीले नजराना चढाउनै पर्ने बाध्यता छ ।

मुलुकका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टलाई छोड्दिन भनेर पीडित जनतालाई आस्वस्त बनाउँछन् तर भ्रष्टउपर छानबिन, अनुसन्धान गर्ने बाटो सशक्त बनाउन सकेका छैनन् । प्रतिस्पर्धात्मक राजनीतिक भ्रष्टाचारले अहिले देश र जनतालाई पीडित बनाउँदै ल्याएको छ । यस्ता सबैखाले हर्कतहरु बन्द नगरिदासम्म शासकीय सुधारका गफ कोरा साबित हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी