सिन्धुपाल्चोक । असार २४ गते राति भिषण बाढी पहिरो गएपछि बाह्रविसे नगरपालिकाको मेयर र उपमेयरको दैनिकी फेरिएको छ । असारको अन्तिम अन्तिममा विकास निर्माणलगायत आगामी आर्थिक वर्षको योजना नीति निर्माणमा व्यस्त रहनु पर्ने नगरपालिकाका जनप्रतिनिधिहरु यतिबेला राहत र उद्धारमा नै दैनिकी बितीरहेको छ ।
बाढीपहिरोले बाह्रविसे नगरपालिका –५ मा दुई जनाको मृत्यु र १७ बेपत्ता र सायै स्थानीय विस्थापित भएका छन् । तल भोटेकोशी नदीको कटान र माथिबाट आएको पहिरोले बाह्रविसे नगरपालिकाको प्रवेश विन्दु जुरेदेखि नै सडक अवरुद्ध भएको छ । ‘बाढीपहिरोको प्रकोप पछि हामी दुवै जनाको दैनिकी फेरिएको छ । म अवरुद्ध सडक खुलाउन लागेको छु, उपमेयर राहतलगायतका काममा व्यस्त छौँ’, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने ।
बाढीपहिरो पछि नगरपालिकाका अन्य सबै कामहरु छाडेर आफुहरु विस्थापितलाई स्थापित, घाइतेहरुको उपचार र अवरुद्ध सडक खुलाउन निरन्तर लागिरहेको मेयर शेर्पाले जानकारी दिए । बाढीपहिरोले सडक अवरुद्ध भएपछि एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधनहरु प्नि सञ्चालनमा कठिनाइ भउपछि अवरुद्ध सडक खुलाउन पहिरो गएको भेलिपल्ट देखि नै फिल्डमा खटिएको मेयर शेर्पाले बताए । ‘हामी निर्णय गरेरै नै कामको विभाजन त गरेको होइन तर परिस्थितले दुवै क्षेत्रमा काम गर्नुपर्ने भएकाले आ–आफ्नो जिम्मेवारीमा लागेका छौँ’, मेयर शेर्पाले भने ।
बाह्रविसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनलाई बाढीपहिरो गएको दिनदेखि कुनै पनि समय फुर्सद नै छैन । ‘बाढीपहिरो आएको रातीदेखि नै पीडितहरुले सम्र्पक गर्नुभयो । राति भएकाले जान सकिएन, भोलिपल्टदेखि त निरन्तर बाढीपहिरो प्रभावित क्षेत्रमा नै छु’, उनले भनिन् । विपत्तीको समयमा महिला, बालबालिका र वृद्धाहरु बढी असुरक्षित हुने भएकाले आफ्नो ध्यान उहाँहरुलाई सुरक्षित रुपमा राख्नेमा नै गएको उनले बताइन् ।
विस्थापित भएर अस्थाई शिविरमा बस्दा महिला र बालिकाहरुको असुरक्षित भएका धेरै घटनाहरु छन्, त्यसैले आफूले विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर विस्थापितहरुका लागि मनोपरामर्श समेत दिन सुरु गरेको उपमेयर पाख्रिनले बताइन् । राहातका लागि दुर्गम गाउँबाट हिँडेर नगरपालिकामा आउने स्थानीयलाई राहत प्रदान गर्ने,विस्थापितहरु भएको स्थानमा खानेपानी,शौचालय लगायत अन्य कामहरुमा आफुहरु लागिरहेको उनले बताइन् ।
दुई सातादेखि दैनिक रुपमा यही काममा नै समय बित्ने गरेको छ,उपमेयर पाख्रिनले भनिन । कहिलेकाँही त मध्यरातमा समेत पीडितहरुले सम्र्पक गर्ने गरेको उनले बताइन् । यस्तो बेलामा आफ्नो लागि भन्दा पनि पीडित जनताको लागि सोच्नुपर्ने हुदो रहेछ पाख्रिनले आफ्नो अनुभव सुनाइन् ।
सबैको साथ सहयोगका कारण दुइ साताको बिचमा बाढीपहिरोले क्षत विषत भएको सडक धेरै प्रतिशत ममर्त गर्न सकिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । ‘अब दुई दिनभित्र जम्बुसम्म एकतर्फी भएपनि सडक खुलाउने गरी निरन्तर लागिरहेका छौँ मेयर शेर्पाले भने–‘गाउँका सडकहरु पनि नगरपालिकाबाट ममर्तसम्भार सुरु भएको छ ।’