धनकुटा । धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।
स्वाब संकलन गरी धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा छथर जोरपाटी–२ का ४० बर्षीय पुरुष र छथर जोरपाटी–३ का ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
संक्रमित दुबै जना गत आइतबार बिदेशबाट आएका हुन् । छथर जोरपाटी–२ का संक्रमित बहराईनबाट र छथर जोरपाटी–३ का संक्रमित साउदीबाट आएको छथर जोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डंगोलले जानकारी दिए । उनीहरु जोरपाटी बजार नजिक सामुदायिक भवनमा रहेको क्वारेनटाईनमा थिए ।
बिदेशबाट आएका ६ जनासहित २९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । दुबै जना संक्रमितलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा पठाईएको छ । केही दिन अघि पनि छथर जोरपाटीका दुई जनामा संक्रमण भेटिएको थियो । योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या १४ पुगेको छ ।
यसअघि संक्रमण पुष्टि भएका छथर जोरपाटीका दुईसहित सहिदभूमी र महालक्ष्मीका एक/एक जनाको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचार भईरहेको छ । बाँकी आठ संक्रमित उपचार पश्चात निको भएका छन् ।