नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई स्रोत नखुलेको नगद १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित कार्य कक्षबाटै नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले विशेष सुराकीको आधारमा भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाललाई उनकै कार्यकक्षमा स्रोत नखुलेको रकमसहित बिहीबार करिव साढे तीनबजे नियन्त्रण लिएर अनुसंंधान सुरु गरेको जानकारी दिए ।
उनले कम्प्युटर अपरेटर खनाले विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिशन बापतको १० लाख बढी नगद र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवम उजुरीको आधारमा कार्यालयबाट खटेको टोलीले स्रोत नखुलेको सो रकमसहित खनाललाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको बताए ।
आयोगमा केही दिन अघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण उपकरणमा (पिसिआर) आर्थिक चलखेल भएको भन्दै भेरी अस्पतालकाविरुद्ध उजुरी समेत दर्ता भएको र सो उजुरीको बारेमा छानविन जारी रहेको जनाइएको छ ।