काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावी कार्यसमितिमा को आउलान् भनेर चासोपूर्वक नियालिरहेको समयमा महासंघको निर्वाचन पुनः स्थगित भएको छ । साउन २६ र २७ गतेका लागि तोकिएको महासंघको ५४औं साधारण सभा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण देखाउँदै दोस्रोपटक स्थगित गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले साधारण सभा सार्ने निर्णय गरेको हो । निवर्तमान अध्यक्ष पशुपति मुरारकाका अनुसार नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न खुला गरेको १५ दिनपछि महासंघको निर्वाचन गर्ने गरी मिति सारिएको नेपाल उद्योग वाणिज्य महासंघले उल्लेख गरेको छ ।
कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमबारको नेपाल सरकार मन्त्रिपरिषद् निर्णयबाट अर्को निर्णय नभएसम्म कुनै पनि प्रकारको सभा/सम्मेलन/भेला आयोजना गर्न प्रतिबन्ध लगाएको निर्णयसमेतलाई आधारमानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारण सभा सरकारले सभा÷सम्मेलन÷भेला गर्ने स्वीकृति दिएको १५ दिनभित्र आयोजना गर्ने भनी महासंघले निर्णय गरेको हो ।
बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डीराज ढकाल, महासंघका पूर्वअध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकालको सहभागिता रहेको थियो । महासंघ पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, जिल्ला/नगर उपाध्यक्ष, वस्तुगत र एसोसिएट गरी तीन जना उपाध्यक्ष र एक जना कोषाध्यक्ष हुन्छन् । पदाधिकारी बैठकमा विशिष्ट सदस्य उपस्थित हुने भए पनि उनीसँग मताधिकार हुँदैन । विशिष्ट सदस्यका रूपमा पूर्वअध्यक्ष चण्डीराज ढकाल छन् ।
महासंघले यसअघि गत चैत २८ र २९ गते साधारण सभा गर्ने निर्णय गरेको थियो । कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि साधारणसभा सारेर साउन २६ र २७ गते गर्ने निर्णय गरेको थियो । सो बेला र अहिले पनि नयाँ कार्यसमितिका लागि चुनावी अभियानमा होमिसकेका थिए ।
सरकारले लकडाउन हटाए पनि सभा सम्मेलन गर्न अनुमति खुला नगरेकाले र एक स्थानमा २५ जनाभन्दा बढी भेला भएर कुनै पनि कार्यक्रम गर्न नपाइने नियम सरकारले लागू गरेकाले बाध्य भएर स्थगन गर्नुपरेको संस्थापन पक्षको दाबी छ ।
महाधिवेशनमा देशभरका कम्तीमा पनि १ हजारभन्दा बढी व्यवसायी हुने र सरकारले काठमाडौं उपत्यका छिर्न अनुमति लिनुपर्ने व्यवस्था गरेका कारणले पनि स्थगन भएको बताइएको छ । आन्तरिक हवाइ उडान पनि भदौ १ गतेदेखि मात्रै खुल्ने भनिएपछि चुनाव स्थगन गर्न महासंघ पदाधिकारीलाई दबाब बढ्दै गएको थियो ।
कोरोना संक्रमण कायम नै रहेको र सहज रूपमा आवतजावत पनि गर्न नसकिने अवस्था भएकाले व्यवसायीको स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता देखाउँदै महाधिवेशन सारिएको तर्क पनि संस्थापन पक्षले गरेको छ ।
महासंघको साधारण सभामा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खुलेर समर्थन गरेका छन् भने पूर्वअध्यक्ष तथा महासंघ विशिष्ट सदस्य चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्रप्रसाद ढकाललाई खुलेर समर्थन गरेका छन् ।