काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनका लागि तय भएको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका उद्योगी-व्यवसायीले असन्तुष्टि जनाएका छन् । उनीहरूले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो असन्तुष्टि जनाएका हुन् ।
महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले २६ र २७ साउनका लागि तोकिएको निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण चैतमा नभएको निर्वाचनको मिति गत ७ र ८ जेठका लागि सारिएको थियो । सो समय पनि लकडाउन जारी रहेको भन्दै महासंघले आगामी २६ र २७ साउनका लागि तय गरेको निर्वाचन अहिले तेस्रोपटक स्थगित भएको हो ।
महासंघको सो निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकाल समूहले अर्को समूहले चुनाव हार्ने भएपछि कोरोनालाई देखाएर आगामी निर्वाचनको मिति सारेको आरोप लगाएको छ । महासंघका वर्तमान अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समर्थन गरेको ढकालका प्रतिस्पर्धी किशोर प्रधान समूहले चुनाव हार्ने निश्चित भएपछि कोरोनाको बहानामा महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति सारेर गलत काम गरेको उनीहरूको आरोप छ ।
सरकारले १ सय २० दिनसम्म लगाएको लकडाउन गत मंगलबारबाट हटाएको र कोरोनाको प्रभाव तथा त्रास विस्तारै कम हुँदै गएको अवस्थामा निर्वाचन गर्न सकिने भए पनि अध्यक्ष राणाले आफूले समर्थन गरेको समूहले हार्ने भएपछि चुनाव नै स्थगित गरिएको उनीहरूको आरोप छ । चैतमा हुने साधारणसभा कोरोनाका कारण सम्पन्न गर्न नसकेपछि लकडाउनकै बीचमा निर्णय गरेर आफूहरूले आगामी २६ र २७ साउनका लागि तोकेको जानकारी गराउँदै महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार ढकालले भने, ‘हिजो महासंघका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारणसभालाई अनिश्चित समयसम्मका लागि धकेल्ने काम भयो । त्यसमा हामीहरूले आपत्ति जनाएका हौं ।’
कार्यसमिति बैठक बोलाउनका लागि प्रशस्त समय हुँदाहुँदै पनि कार्यसमितिको अधिकारलाई बिहीबार बसेको पदाधिकारी बैठकले कुल्चिने काम गरेको भन्दै उनले यो महासंघको इतिहासमै अत्यन्तै दुखःद घटना भएको दाबी गरे । यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको बताउँदै उनले यस्ता गतिविधिले महासंघमा आबद्ध उद्योगी व्यावसायीले अप्ठ्यारो परिस्थितिमा अभिभावकविहीनको अवस्था महसुस गर्नुपरेको दाबी गरे । आफूहरूले महासंघको निर्वाचन पूर्णरूपमा स्वास्थ्यसम्बन्धी मापदण्ड पु¥याएर सञ्चालन गरौं भन्ने राय राखेको जानकारी गराउँदै उनले यस्तो राय राख्दा महासंघकै पदाधिकारी हतास मनस्थितिमा निर्वाचन स्थगित गर्ने निणर्य गरेको बताए ।
महासंघका वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघका केही पदाधिकारीले बहुमतका आधारमा हार स्वीकार गर्दै चुनाव सार्ने काम गरेको बताए । अहिले महासंघका अध्यक्षलगायतका केही पदाधिकारीले कोरोनाका कारण देखाउँदै चुनाव रोक्ने निर्णय गर्नु गैरकानुनी काम भएको बताउँदै श्रेष्ठले भने, ‘अर्को पक्षले आफू हार्ने निश्चित भएपछि केही समयका लागि पदमा रहिरहन भएपनि चुनाव सार्ने काम गरेको हुनसक्छ ।’ उनले अहिले उनीहरूले पूर्वअध्यक्षहरूको रायसुझावलाई पनि गत तरिकाबाट प्रचार गर्दै अध्यक्षलगायतका केही पदाधिकारीले हतारमा यस्तो गलत निर्णय गरेको आरोप लगाए ।
सो कार्यक्रममा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले अहिलेको कार्यसमिति महासंघको विधानअनुरूप अवैधानिक भएको भन्दै पुरै कार्यसमिति खारेज हुनुपर्ने बताए । महासंघको विधानअनुरूप जस्तोसुकै परिस्थितिमा पनि गत २८ चैतको मितिले २ महिनाभित्र निर्वाचन गरिसक्नुपर्नेमा अझै वर्तमान अध्यक्षबाट थप अन्योल पैदा गरेको भन्दै राजकर्णिकारले भने, ‘तसर्थ अहिलेको सम्पूर्ण कार्यसमित अवैधानिक भएका कारण यसलाई खारेज गरेर नयाँ परिस्थितिअनुरूप निर्वाचन गरेर अघि बढ्नुपर्छ ।’ यसैगरी, एसोसिएटतर्फबाट उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले महासंघ पदाधिकारी बैंठकले निर्वाचनको मिति सार्ने जस्तो विषयलाई हतासमा निर्णय गर्नु एकदमै दुर्भाग्यपूर्ण रहेको बताए ।
‘महासंघको निर्वाचन अनिश्चित समय रोक्ने पदाधिकारीको निर्णय यसरी हतारमा आउनु एकदमै आपत्तिजन भएको दाबी गर्दै संघाईले भने, ‘महासंघले सरकारसँग अहिलेको अवस्थामा निर्वाचन गर्न सहमति मागिरहेको बेला निर्णय सरकारी जवाफ नआउँदै महासंघ पदाधिकारी बैठकले बहुमतको आधारमा चुनाव रोक्नु असल नियत होइन ।’ यसैगरी, जिल्ला नगरतर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका तथा महासंघ ५ नम्बर प्रदेशका अध्यक्ष गुणनीति तिवारीले पनि अब आफूहरू महासंघको तेस्रोपटक चुनाव रोक्ने निर्णयविरुद्ध कानुनी उपचारमा जाने बताए । महासंघको अनिर्णयको बन्दी बनाएर राख्न नहुने भन्दै उनले कानुनी उपचारमा गएरै भएपनि नयाँ उपायको खोजी गर्ने बताए ।
चुनाव सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले गरिनु गलत भएको ढकाल समूहको आरोप छ ।
महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार प्रधान समूहका उद्योगी–व्यवसायीले भने अझै कोरोना त्रास बाँकी रहेका कारण निर्वाचनको समय सार्नुपरेको प्रतिक्रिया दिएका छन् । अहिले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाअनुरूप आगामी अध्यक्ष शेखर गोल्छा नै हुनेछन् । महासंघको आगामी अध्यक्ष गोल्छा भए पनि वरिष्ठ उपाध्यक्षलगायत अन्य पदमा ढकाल र प्रधान भिन्दाभिन्दै समूहसहित निर्वाचनमा भिड्दै छन् ।