काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई उन्मुक्ति दिन नहुने र घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही नगरिए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल महिला संघले श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाइएको घटना, निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुग्दा पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको र हिट एन्ड रन मुद्दामा अभियुक्त पृथ्वी मल्ललाई ५ लाख धरौटीमा रिहाइ गरिएको र युवतीमाथित एसिड आक्रमणलगायतका घटनाको विरोध गरे । उनीहरूले यी घटनाका दोषीहरूलाई कारबाही गरिनुपर्ने माग गरेका हुन् ।
नेपाल महिला संघकी महासचिव तथा पूर्वसांसद धना खतिवडाले नेपालमा पछिल्लो समय महिला हिंसाका घटनाहरू दिन प्रतिदिन बढिरहेको बताउँदै घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरिन् ।
उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा हुँदासमेत सरकारले दोषीलाई कारबाही गर्न नसकेको र पीडित परिवारलाई न्याय दिलाउन नसकेको गुनासो पोखिन् ।
उनले एसिड आक्रमण गर्ने अपराधीहरूलाई कडा कारबाही गरिनुपर्ने माग गरिन् ।
जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय सदस्य पवित्रा तिमिल्सिनाले देशमा स्थानीय तहदेखि राष्ट्रपतिसम्म महिला हुँदा पनि महिलामाथि हिंसाका घटना नरोकिएकामा दुःख व्यक्त गरिन् । उनले आफूहरू सबै मिलेर महिलामाथि हुने अन्यायको विरुद्धमा संघर्ष गर्नुपर्ने पनि बताइन् । कार्यक्रममा नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले पछिल्लो समय न्यायलयप्रति जनविश्वास घटेको बताईन् । र, न्यायलयका तुलोको एकातर्फ न्याय र अर्कोतर्फ पैसा देखिएको भन्दै आफूहरूलाई यसले लज्जाबोध भएको उनको भनाइ छ ।