काठमाडौं । काठमाडौं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सरसफाइ गरेको छ । सिंहदरबारको सरसफाइ गर्ने दायित्व सिंहदरबारभित्रै रहेका विभिन्न मन्त्रालय र निकायको हो । तर, नेपाल सरकारका सचिव तथा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको सक्रियतामा सिंहदरबारको प्रमुख प्रवेशद्वारमा सरसफाइ गरिएको हो ।
सिंहदरबारभित्रका सडकहरू चिल्ला छन् तर पनि वर्षा लाग्नासाथ सिंहदरबारका मूल गेटदेखि प्रशासकीय भवनहरूमा झार उम्रने र लेउ लागेर सिंहदबारको सुन्दरता बिगार्ने गरेका छन् । काठमाडांै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले सिंहदबार आउजाउ गर्दा प्रमुख गेटलगायत विभिन्न ठाउँमा झार उम्रिएको र लेउ लागेको देखेपछि तत्काल त्यसलाई हटाउन महानगरको सरसफाइ टोली परिचालन गरेका हुन् ।
सचिव अर्यालले आफू सिंहदरबार ओहोर दोहोर गर्दा मुख्य गेट तथा अन्य भवनहरू र बाटोमा लेउ र फोहोर देखेपछि तत्काल सरसफाइ थालिएको बताए । अर्यालकै प्रत्यक्ष निर्देशनमा शुक्रबार काठमाडौं महानगरपालिकाका सफाइ तथा सुरक्षा सम्बद्ध कर्मचारीहरू सिंहदरबारको मूल गेट सफाइ गर्न पुगेका थिए । उनीहरूले झार उखेले । हरिया लेउ खुर्किए । गेटका संरचनाका फोहोर हटाए ।
सिंहदरबार क्षेत्र फोहोर देखेपछि तत्काल सफाइका कर्मचारीहरू परिचालन गरी सिंहदरबारलाई सुन्दर पारिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । अर्यालले सिंहदरबारलाई आगामी दिनमा पनि सुन्दर राख्न महानगरले आवश्यक भूमिका खेल्ने जनाए ।