काभ्रे । बढ्दो आधुनिकता संगै सहरबजारमा पानी घट्टको प्रयोग हुन छाडेपनि गाउँबस्तीमा भने घट्टको लोकप्रियता घटेको छैन । जिल्लाको विभिन्न स्थानमा कुटानी पिसानीको लागि परम्परागत पानी घट्टको प्रयोग यथावत नै छ ।
परापूर्वकालदेखि नै प्रयोगमा आएको पानीघट्ट अहिलेपनि मानिसहरुको आम्दानीको श्रोत बनिरहेको छ । पूर्वाधारले विकसित भएका ठाउँहरुमा अझैपनि पानीघट्टको प्रयोग उस्तै छ ।
बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको छेउमै एउटा सानो चिटिक्क परेको पानीघट्ट छ । कुटानी पिसानीमै व्यस्त थिए, स्थानीय ६८ वर्षीय चेतमान तामाङ । उमेर ढल्के पनि काम गर्ने उनको जोश जाँगर भने ढल्केको छैन । बिहानको ७ बजेदेखि बेलुकाको ७ बजेसम्मै उनको दैनिकी घट्टमा व्यस्त हुन्छ । पानीघट्टसँगको उनको दैनिकी दुई दशक अघिदेखिको हो ।
घट्टकाे स्वादै बेग्लै
पानीघट्ट र खेतीपाती नै आफ्नो आम्दानीको मुख्य श्रोत भएको तामाङ बताउँछन् । गाउँमा मेलको प्रयोगमा आएपनि पानीघट्टमा सेवाग्राहीको भने कमी नभएको उनले सुनाए । तर पहिलेको तुलनामा अलि फुर्सदिलो भएको उनले महसुस गरेका छन् । ‘पहिला गाउँमा मेल नहुदाँ २४ घण्टैँ पानी घट्टामा काम गर्नुपथ्र्यो,’ उनले भने, ‘दिनरात खोला छेउमा बसेर काम गर्नुपथ्र्यो । सर्पको निकै डर हुनथ्यो । तर अहिले गाउँमा मेल आएपछि काम अलि कम भएको छ । तर पनि घाटा भने भएको छैन ।” पानीघट्टबाटै तामाङले राम्रै आम्दानी गररहेका छन् ।
चलाल गणेश स्थानमा कुटानी पिसानीको लागि आधुनिक प्रविधि भित्रिएको ७ वर्ष भईसकेको छ । तर पनि त्यहाँका स्थानीयहरु कुटानीपिसानीको लागि पानी घट्ट नै धाउने गर्छन् । पानी घट्टमा खाद्य पिसानी गर्दा सस्तो पर्नुको साथै घट्टमा पिसिएको खाद्य निकै स्वादिलो हुने भएकाले पसिानीको लागि पानीघट्टको नै प्रयोग गरेको स्थानीय बताउँछन् ।
पानीघट्टमा मकै पिस्न आएकी सानुकान्छी तामाङले भनिन्, ‘पहिलेदेखि घट्टमा पिसेको पिठो खाएर होला, मेलमा पिसेको स्वाद नै लाग्दैन । घट्टमा पिसानी ढिला भएपनि सस्तो छ । १० पाथी मकै घट्टमा पिस्दा २५ रुपैँया पर्छ भने मेलमा ५० रुपैँया तिर्नुपर्छ ।’
डाेकाे बुनेर समय बिताउछन्
निँगालोका चोया र हसिँया घट्ट छेउमै छन् । घट्टमा काम नभएको बेलामा तामाङ डोको बनाएर दिचर्या बिताउँछन् । ‘फुर्सदमा बस्नुभन्दा एउटा डोको मात्र बुने पनि खर्च टर्छ नि,’ उनले भने, ‘डोको बुन्नको लागि लगानी पनि धेरै गर्नुपर्दैन । एउटा डोकोको लागि जम्मा ५० रुपैँया मात्र । गाउँघरमा सजिलै निँगालो पाइन्छ । सीप भए त बनाउन पनि गाह्रो छैन । एक दिनमा उनले एउटा डोको बुन्छन् जसबाट उनले ६ सय रुपैँया कमाउँछन् । उनका अनुसार नेपाली जीवनशैलीमा आदिम कालदेखि स्थान पाएको पानी घट्ट चलाउन न विजुली चाहिन्छ न त खर्चिलो भयो भनेर डराउनु पर्छ । पानीको फोहोराबाट यसलाई चलाउन सकिन्छ ।
प्रविधिको विकाससँगै कुटानी पिसानीका लागि नयाँ प्रविधि भित्रिएसँगै देशको विभिन्न ठाउँमा परम्परागत पानीघट्टहरु लोप हुदैँ गएको पाइएको छ । तर काभ्रेकोे दुई स्थानीय तहमा भने कुुटानीपिसानीको लागि पानीघट्ट बाहेक अर्को विकल्प छैन । खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा कुटानी पिसानीको लागि पराम्परागत पानीघट्टको नै प्रयोग हुने गरेको नेपाल पानीघट्ट व्यवसायी संघ काभ्रेले जनाएको छ । संघका अनुसार जिल्लाको अरु स्थानीय तहमा पनि पानीघट्ट प्रयोगमै छन् तर पहिलेको तुलानामा घट्टको प्रयोगमा कमी भने आएको छ ।