गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले संवैधानिक व्यवस्थामा रहेको त्रुटिका कारण पार्टी भित्र संकट उत्पन्न भएको जीकिर गरेका छन् ।
रौतहटमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले सम्झौताको आधारमा निर्माण भएको संविधानमा समावेश गरिएका कतिपय समय र सिद्धान्त विपरीत व्यवस्थाकै कारण नेकपामा नेतृत्व तहमा विवाद सृजना भएको बताए ।
‘अहिले जुन संविधान छ, यो सम्झौताको बलमा तयार भएको संविधान हो । संविधानमा कतिपय ठाउँमा आवश्यकताभन्दा विपरीत ध्रुवको व्यवस्था पनि समावेश भएको छ जसले गर्दा यो संविधानमा अपूर्णता छ । त्यही अपूर्णता कारण आज हाम्रो पार्टीमा संकट उत्पन्न भएको हो’ अध्यक्ष साहले भने, ‘अहिलेको संविधानले न त कम्युनिष्ट सिद्धान्त बोकेको छ न त कांग्रेसकै, समग्रमा भन्ने हो भने हालको संवैधानिक व्यवस्था खिचडी जस्तो भएको छ । र पार्टी भित्र देखिएको विवाद त्यही त्रुटिपूर्ण व्यवस्थाको उपज हो ।’
राजनीतिक स्थिरता र निरन्तर विकासका लागि संविधानमा रहेको त्रुटि सच्याउनुपर्ने नेता साहको भनाई थियो । साथै नेता साहले पार्टी एकताका पक्षमा उभिन र सहमतीका आधारमा अगाडि बढ्न नेताहरुलाई दबाब दिन कार्यकर्ता अगाडि आउनुपर्ने बताए ।