प्रहरी समायोजन : प्रदेश प्रमुख डिआइजी नै, काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत

काठमाडौं । सरकारले संविधान जारी भएको पाँच वर्षपछि प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रमुख र सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीबीचको छलफलले समायोजनसम्बन्धी विषयको टुंगो लगाउँदै समायोजन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्बाट पारित भएसँगै समायोजन प्रक्रिया अघि बढाउने तयारीमा रहेका बेला कोरोनाका कारण समायोजन प्रक्रिया रोकिएको थियो । केही विषयमा सहमति हुन नसक्दा पनि समायोजन प्रक्रिया सुरु हुन सकेको थिएन ।

प्रदेश प्रमुखका रूपमा डिआइजी वा एआइजीमध्ये को रहने तथा काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा को मातहत रहनेलगायत विषयको अन्तिम टुंगो लाग्न बाँकी थियो ।

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले समायोजनका क्रममा अन्योल रहेका विषयमा समाधान निकालिएको बताए । ‘समायोजनका विषयमा सबै विषयको हल भएको छ,’ पथिकले राजधानीसँग भने ।

पथिकका अनुसार काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा केन्द्र (संघ) सरकार मातहत नै राखिने भएको छ । यसअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय (मेट्रो) रानीपोखरीले उपत्यका हेर्दै आएकामा त्यसले निरन्तरता पाउने भएको छ । मेट्रो प्रदेश सरकार मातहत रहने कि संघ मातहत रहने भन्ने विषयको टुंगो लाग्न बाँकी रहेको थियो ।

यस्तै, प्रदेश प्रमुख तत्कालका लागि डिआइजीको नेतृत्वमा रहने भएको छ । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीका अनुसार छलफलमा विभिन्न सुझावहरू आए पनि तत्कालका लागि डिआइजीको नेतृत्वमा प्रदेश प्रहरी प्रमुख राखिने भएको हो । ‘छलफलमा प्रदेश प्रमुखका रूपमा एआइजी बनाउनुपर्नेलगायतका विभिन्न सुझाव आएका छन् तर अहिलेका लागि डिआइजीकै नेतृत्वमा प्रदेश प्रमुख रहने भएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी