बागलुङ । बागलुङका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परीक्षणमा जैमिनी नगरपालिकामा कार्यरत ५२ वर्षीय स्वास्थ्यकर्मीसहित बागलुङका ६ जनामा कोरोना पुष्टि भएको हो ।
पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए पछि कन्ट्रयाक ट्रेसिङ थालिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुखर सुरज गुरौले जानकारी दिए ।
संक्रमति स्वास्थ्यकर्मीलाई उपचारको लागि धौलागिरी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भएको छ । स्वास्थ्यकर्र्मी क्वाटरमै बस्ने भएकाले क्वाटरमा बस्ने, कार्यालयमा कार्यरत कर्मचारीसहित फिल्डमा गए नगएको बुझेर सम्भावित जोखिममा रहेका सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने उनले बताए ।
अन्य संक्रमतिमा बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३० बर्षीय एक पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका काठेखोला गाउँपालिकाका २५ र २४ बर्षीय दुई जना पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका बडिगाड गाउँपालिकाका २६ र ३४ बर्षीय दुई जना पुरुष रहेका छन् ।
बिहिवार संक्रमण पुष्टि भएका मध्ये बागलुङ नगरपालिकाका एक जना बहराइनबाट आएका हुन् भने अन्य भारतबाट आएका थिए ।