कालिकोट । अविरल वर्षापछि कालिकोटका विभिन्न क्षेत्रमा आएको बाढि र पहिरोको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले निरिक्षण गरेका छन् ।
शुक्रवार हेलिकप्टर मार्फत मुख्यमन्त्री शाही, कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाही, सम्बन्धित स्थानिय तहका प्रमुख, प्रहरी प्रमुख लगायत पहिरो प्रभावित क्षेत्र पुगेका थिए ।
निरिक्षण संगसंगै जिल्ला विपत व्यवस्थापन समितिको वैठकमा मुख्यमन्त्री शाहीले, बाढी र पहिरोले बगाएका घरहरु प्रदेश सरकारले बनाईदिने प्रतिवद्धता जनाए । कालिकोट बाढी र पहिरोको उच्च जोखिम क्षेत्र रहेको मुख्यमन्त्री शाहीले बताए । बाढि र पहिरोले बगाएका घरहरुको पहिचान गरि प्रदेश सरकारले घर बनाई दिने उनको भनाई थियो । मृत्यु भएकाका परिवारलाई दुईलाख राहत दिने पनि उनले बताए ।
यस्तै बाढि र पहिरोको उच्च जोखिममा रहेका घरहरुलाई सुरिक्षित स्थानमा सार्ने ,प्रत्येक वडामा स्वयम सेवक परिचालन गरि विपत जोखिम न्युनिकरण गर्न निर्देशन समेत दिए ।
वैठकमा यहाँका राजनितिक दल र स्थानिय नागरिकहरुले कालिकोटका गाउँ गाउँमा आएको बाढी र पहिरो अहिले सम्मकै ठुलो भएको बताएका थिए । नेपाल मजदुर किसान पाटिका केन्द्रिय सदस्य नन्दबहादुर शाहीले, गाउँ गाउँमा भिषण पहिरो आउनुको कारण विकासको नाममा प्रयोग भएको डोजर भएको टिप्पणी गरे । ‘अहिलेसम्म गाउँमा यति ठुलो पहिरो कहिलै आएको थिएन । पहिला कर्णाली राजमार्गमा मात्रै आउथ्यो । स्थानिय सरकारले गाउँगाउँमा डोजरले सडक खन्दा यो पहिरो आएको हो ।’ राष्ट्रिय जनमोर्चाका नेता मिनबहादुर शाहीले गाउँमा डोजरले बाटो खन्दा बाढी र पहिरोको सिकार हुनु परेको बताए ।
चार दिनमा १७ को मृत्यु, ६ बेपत्ता
वैठकमा विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले बाढी पहिरोले कालिकोटका तीन सय घरहरु उच्च जोखिममा रहेको जानकारी दिए । जिल्लाको रास्कोट नगरपालिका बाढी र पहिरोको उच्च जोखिम रहेको बताउदै शुक्रबार सम्म १७ जनाको मृत्यु र ६ जना बेपत्ता रहेको जानकारी दिए । उनका अनुसार, गएरातिनै जिल्लाको पलाता गाउँपालिका वडा नं ९ मा १९ वर्षिय कलम बहादर रोकायाको पहिरो परि मृत्यु भएको छ भने रासकोट नगरपालिका वडा नं मा पनि एक जना महिलाको पहिरोमा परि मृत्यु भएको छ ।
गैरेले भने ‘डोजरले बाटो खन्दा, वातावरणिय मुल्याकनलाई कुनै ख्यालै नगरि खनिएका सडकहरुमा अहिले धेरै जसो पहिरो आएको छ ।’