रुकुम पश्चिमको घटना र नेपाली समाज

मुलुकमा कोरोना महाव्याधिको नियन्त्रण गर्न अनावश्यक हिँडडुल नगर्न र सामाजिक दूरी कायम गर्न उर्दी भइरहेको बेला रुकुम सोतीमा ६ जनाको ज्यान जानेगरी भएको निर्मम हत्याकाण्डले सबै नेपालीलाई तर्सायो । विश्व तहसनहस बनाउने कोरोना भाइरस नियन्त्रण गर्ने नियम अपहेलनाको संयोगमा भएको हत्यामा कोरोनाभन्दा खतरनाक जातीय विभेद नामको भाइरसको भूमिका रहेछ । कोरोनाले लिएको ज्यानको पीडा परिवारभित्र नै रहन्थ्यो तर जातीय विभेद नामको भाइरसले गराएको हत्याकाण्डले चेतनशील सबै नेपालीलाई छोएको छ, कति खतरनाक रहेछ यो काल्पनिक रोग । अन्धविश्वास र झुटो कल्पनाको विनाशकारी शक्ति कति हुँदो रहेछ भन्ने सोती घटनाले देखाउँछ । समाज विकास र प्रगतिमा पु¥याउने नकारात्मक असरको लेखाजोखा त अध्ययनको छुट्टै विषय हुन्छ ।

छुवाछूत र वर्ण व्यवस्था : काम र पेसाको वर्गीकरण गर्ने उद्देश्यबाहेक अरू कुनै अर्थ नराख्ने वर्ण व्यवस्था लामो कालखण्डमा स्वतः स्थापित भएको हुनुपर्दछ । ज्ञान र सीप सिक्न र सिकाउन आजको जस्तो विश्वविद्यालय र तालिम केन्द्रको सोच नहुँदैको प्राचीन कालमा निश्चित काम र पेसा निश्चित परिवार र समूहभित्र रह्यो । सामाजिक सुरक्षाको सोच नआउँदैको प्राचीन राज्यहरूमा पेसागत मानिस आफ्नो समूहको सुरक्षा र कल्याणका लागि संस्थागत भए होलान् । तेरो मेरो र तँभन्दा म राम्रो भन्ने मानवीय अहंताले काम, पेसा र समूहलाई विकृतिको संस्कार दिएको हुनुपर्दछ । सीप हस्तान्तरण, कार्य निपुणता र उत्पादन वृद्धिका लागि यो प्रथाको आफ्नै महŒव थियो होला त्यो बेला तर विद्वान्हरू, सचेतक र कानुनी अधिकारले कमी नभएको आजको नेपालमा वर्ण व्यवस्थाकै कारण एकैचोटि ६ जनाको हत्या हुनु पशुवत् विध्वंश हो । विकृत मानसिकताको राक्षसी शक्तिले दह्रो भएको यो प्रथालाई सुदृढ र परिमार्जित सोचाइको बलबाट फाल्नुपर्दछ, जहाँ धैर्य, संयता र प्रयासको आवश्यकता पर्दछ । शिक्षा, चेतना, मानवीय सोच र कानुनी सहयोग चाहिन्छ । आवेश, आक्रोश र मुढेबल होइन । धेरैले सत्य र चेतनाको बत्ती बाल्नाले समाज अवश्य उज्यालो हुनुपर्दछ । असभ्य र अमानवीय जातीय विभेदको विषयमा चेतनशील नागरिक खुम्चिएर तुच्छ र त्रसित हुनुहुँदैन ।

जातीय विभेदले जन्माएको अर्को घिनलाग्दो पाटो साम्प्रदायिकता पनि हो । राष्ट्रले सामाजिक सुरक्षाको न्यूनतम व्यवस्था गर्न नसक्दा, सबै नागरिकले निष्पक्ष अधिकारको महसुस गर्न नसक्दा नेपाली समाज अझै पनि सम्प्रदायिकताको संकुचित जेलभित्र रहेका छन् । सीमित व्यक्ति र समूहको क्षणिक स्वार्थपूर्ति भए पनि साम्प्रदायिकता राष्ट्र विकासका लागि घातक हुन्छ । साम्प्रदायिकताले आपसी सद्भाव र विश्वास मेट्छ, शंका र त्रास निम्त्याउँछ, नागरिकको मनोबल खस्किन्छ, ऐक्यबद्धता र एकता बिथोलिन्छ, राष्ट्रको शक्ति क्षीण हुन्छ ।

अशिक्षा र अन्धविश्वासका कारण गाउँले सधैं दुःख भोगिरहन्छन् भन्ने कुरा सोती घटनाले देखाउँछ

बिहे के हो ? : बिहे वास्तवमा एक अर्काप्रति पवित्र दुई आत्माको मिलन हो । यो मिलनमा त्याग, सम्मान, सेवाभाव र संरक्षण हुन्छ । यो मिलनमा सिर्जना र प्रगतिको ऊर्जा हुन्छ । असलीमा बिहेको बीजारोपण आपसी सम्मान र निश्चल प्रेमबाट हुन्छ । निःस्वार्थ विचारको मिलन मात्र बलियो बिहेमा परिणत हुन सक्दछ । एक पक्षीय माया स्वार्थ हुन्छ, एक पक्षीय निर्णय ज्यादती हुन्छ । निश्चल आत्माको मिलन राष्ट्रका लागि पनि हितकारी हुन्छ । स्वार्थपूर्ण र जबरजस्तीको मिलन झगडालु हुन्छ, झगडालु मिश्रण विनाशकारी हुन्छ, जुन समाज र राष्ट्रका लागि अहितकर हुन्छ । साँचो मिलन र विवाहमा टकराव र शक्तिको आवश्यकता पर्दैन, संघर्षबिनाको मिलनमा समर्पण हुन्छ, पवित्र समर्पणले सुख, शान्ति र आनन्द दिन्छ । त्यहाँ सिर्जना र प्रगति हुन्छ । सच्चा मिलन हरण गरिदिनु अपराध हो, मानवअधिकारको हनन हो, शान्ति र प्रगति बिथोल्नु हो ।

दोषारोपणको संस्कार : विध्वंशको चकमन्नतापछि साधारण मान्छेको चेत खुलिहाल्छ । छुवाछूत र जातीय विभेदको प्रथालाई जिउँदो राख्न मान्छे मार्नेलाई दोष त स्वतः लाग्ने नै भयो । पीडित पक्षबाट शंका र दोष प्रशासनले पनि प्राप्त गरेको छ, ‘प्रहरीले बचाउन सकेन ।’ अहिले विध्वंशलाई सपना भइदिएको भए भन्ने पीडकहरू पनि ‘हामीलाई प्रहरीले रोकिदिएको भए’ भनेर दोषारोपण नै गरेको हुनुपर्छ । विकृत र पशुवत् मानसिकताको संरक्षण नपाउँदाको घडीमा स्वतः निष्क्रिय र मृत हुने छुवाछूत र जातीय विभेदको प्रथालाई नै प्रायः नेपालीले हत्याकाण्डको कारण र दोष मानेको हुनुपर्दछ । दोषारोपणको संस्कारले राष्ट्रलाई समस्याको भुमरीबाट उम्कन दिँदैन ।

सतही कुरामा अल्मलिँदा गुह्य कुरामा पुगिँदैन, गुह्य कुरामा नपुग्दासम्म सत्य कुरा भेटिँदैन, सत्यबिना सही निर्णय र न्याय हुँदैन, सही निर्णय र न्यायबिना दोषपूर्ण संस्कार र समस्या दोहोरिरहन्छ । संस्कारभित्रको दोष र दोषपूर्ण संस्कार एक अर्काका परिपूरक हुन् । विकृतिका यी दुवै पक्षलाई दोषारोपणको संस्कारले झनै मलजल गरेको हुन्छ । काम बिग्रेको घडीमा सबभन्दा पहिले दोषारोपणको सोच राख्ने बिगार्नेवाला नै हुन्छ । सभ्य समाज जिम्मेवारी केन्द्रित हुन्छ, दुःखी समाज दोषारोपणमा केन्द्रित, फरक यत्ति छ । जिम्मेवारी वहनले दोषारोपणको अनावश्यकतालाई हटाइदिन्छ । असल मानवको जिम्मेवारी भुलेर दोष मात्र दिने संस्कारले दुःख दिइरहन्छ ।

मानव धर्मको समाज भइदिएको भए जातीय विभेद हुने थिएन । जातीय विभेद नभइदिएको भए नवराजले आफ्नी प्रेमिकालाई पाउन संघर्ष गर्नुपर्ने थिएन । सदियौंदेखि खिलझैं गाडिएको कुप्रथालाई मुढेबलले जित्न नखोजेको भए ६ जना मानव जीवनको खती हुने थिएन । आवेग, आवेश र क्रोधले आँखा नचिम्लेको भए चौरजहारीवासीले कानुनी सजाय र पश्चाताप भोग्नैपर्ने थिएन ।

प्रहरीलगायत घटनास्थलमा उपस्थित कुनै पनि व्यक्तिको सानो मानवीय प्रयासले घटनाको प्रकृति पूरै फरक हुन सक्थ्यो । दर्शकले निर्दोष हुन खोज्नेबित्तिकै उसमा दुई दोष थुप्रिन्छन् । हरेक व्यक्तिले एक असल मानव र नागरिकको भूमिका निर्वाह गर्नेबित्तिकै ठाडो औंलाको आवश्यकता नै पर्दैन । गैरजिम्मेवारीपन, बेकारीपन र रमितेपनले दोषारोपणको संस्कार र दुःखलाई जिउँदो राख्दछ । यो दृष्टान्तको मर्म र महŒव घरदेखि राष्ट्रसम्म एउटै हुन्छ ।

सारांश : अन्तरजातीय विवाहको प्रयाससँग जोडिएको यो घटनाले नेपाली समाजभित्रको दूरावस्था दृष्टान्त दिएको छ । सम्पूर्ण प्राणी र मानव जगत्को दुःखको कारण र उपाय खोजेर विश्वमा शान्ति फैलाउने बुद्धको भूमिमा धर्मको नाममा एकै दिनमा हजारौं जनावर बली चढाउने र झुटो जातीय अहंतामा सामूहिक हत्याकाण्डको राक्षसी उदण्डजस्ता क्रियाकलापले नेपाली समाजमा रहेको मानवसभ्यताको दुःखदायी चरण देखाउँछ । नवराजसहित ६ जनाको निर्मम हत्या जातीय विभेदको पराकाष्ठा मात्र होइन, कमजोर र विकृत मानसिकता, कोरा र खतरनाक मनोविज्ञान, आवेश, आवेग र मुख्र्याइँको चरम हद हो । धैर्य, संयमता र करूणाको क्षीण अवस्था पनि हो ।

राष्ट्रको शान्ति र प्रगति वा अशान्ति र दुर्गतिले प्रत्येक नागरिक र नागरिक बस्ने समाजको चिन्तन, सद्भाव, मिहिनेत र धैर्य वा आवेश, मुख्र्याइँ, अधैर्य र आलस्यतासँग सीधा सम्बन्ध राख्दछ । मानव जीवनको अधिकार र सुखमय भविष्यको इच्छा राख्ने नवराजजस्ता युवकहरूले पनि सामाजिक अवस्थालाई ख्याल राखी जिद्धी, मुख्र्याइँ र टकरावी बाटोको सट्टा विवेक, संयम र उपायको बाटो लिएको भए सुखमय जीवनको साथै विकृतिसँगको लडाइँले पनि टेवा पाउने थियो । रुकुम सोतीको घटनाले सारा नेपालको समस्या उजागर गर्दछ भन्ने प्रायः नेपालीलाई ज्ञान छ । नवराजलाई छोरी उम्काइदिएको भए डम्बरबहादुर त्यो गाउँमा रहन सक्ने अवस्था हुने थिएन भन्ने पनि प्रायः नेपालीले यकिन गर्न सक्दछन् ।

जातीय विभेदविरुद्ध कानुनको प्रत्याभूति व्यवहारमा लागू भएको दृश्य कानुन बनाउने स्तरकै घरहरूबाट नदेखिँदासम्म अशिक्षा र अन्धविश्वासबाट गलित गाउँहरूले अन्योल र दुःख भोगिरहनेछन् । रुकुम हत्याकाण्डले धनसँग आँकलन गर्न नसकिने जीवन क्षतिको पाटो मात्र बोक्दैन, राष्ट्रमा फैलिने नकारात्मक मनोवैज्ञानिक असर र यस्ता घटनाको व्यवस्थापनको लामो प्रक्रियामा राष्ट्रले अनावश्यक परिचालन गर्नुपर्ने स्रोत र साधनको खती पनि देखाउँछ ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
दोहोरिदा जनमत पाएनन्, चार पालिका निर्वतमान अध्यक्षले