काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ अर्थोप्लास्ट रिह्याबलिटेसन सेन्टरको ब्रान्ड एम्बासडर नियुक्त भएको छ । अर्थोप्लास्टले गोलरक्षक किरणलाई एक वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।
किरण र अर्थोप्लास्टका प्रबन्ध निर्देशक हरि तामाङबीच ग्वार्कोस्थित अर्थोप्लास्टमा शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार किरण र उनको परिवारका अन्य सदस्यलाई अर्थोप्लास्टले एक वर्षमा २ लाख रुपैयाँ बराबरको आफ्नो सेवा उपलब्ध गराउनेछ ।
त्यस्तै आफूमार्फत सेवा वा उपचारका लागि किरण वा उनको परिवारको सदस्यलाई अन्यत्र ल्याबमा पठाउँदा ५० प्रतिशत छुटको व्यवस्था पनि अर्थोप्लास्ट गर्ने सम्झौता रहेको बताइएको छ । त्यस्तै अर्थोप्लास्ट कुनै पनि खेलका खेलाडीलाई फेजियोथेरापीलागयत अन्य आफ्नो सुविधामा ३० प्रतिशत र राष्ट्रिय खेलाडीको हकमा थप १० प्रतिशत छुट दिने घोषणा पनि गरेको छ । भलिबल खेलाडी प्रतिभा माली र बास्केटबल खेलाडी सविता खड्का पनि घुँडाको शल्यक्रियापछि अर्थोप्लास्टमा फिजियोथेरापी गराइरहेकी छन् ।
अर्थाेप्लास्टले किरणको आबद्धताले संस्थाको विश्वसनीयता बढ्नुको साथै खेलाडी लक्षित सेवाको गुणस्तर सुधार हुनुका साथै थुप्रै खेलाडीहरूलाई रिह्याब तथा फिजियोथेरापी गराउने लक्ष्य राखेको छ । यस्तै, अर्थाप्लास्टले निकट भविष्यमै ‘स्पोर्ट्स इन्ज्युरी रिकभरी सेन्टर’ सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराए । किरण भारतको पन्जाब एफसीबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।