काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्याग्रही युवाहरूको माग सम्बोधन नगरेर सरकारले गल्ती गरिहेको बताएका छन् । कुनै आँखा रोग लागेको कारण नेपाल सरकारले जनमत कदर नगरेको उनको भनाइ छ ।
‘अब जनता नउठी भएन,’ राप्रपाका अध्यक्ष लोहनीले आइतबार भने । ‘बसन्तपुरमा अनसन बसीरहेका युवाहरूको मागलाई कुन आँखा रोगको कारण नेपाल सरकारले देखिरहेको छैन ?’ लोहनीले ट्वीट गर्दै भने ।
कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै जारी इनफ इज इनफ अभियानप्रति ऐक्यवद्धता जाहेर गर्दै राप्रपाले गत बिहीबार प्रदर्शन गरेको थियो । बसन्तुपर डबलीमा सम्पन्न कार्यक्रमको दौरान सत्याग्रहीको जीवन रक्षा गर्न, युवा अभियन्तासँग सरकारले गरेको सहमति पूरा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गरेको थियो ।
युवा अभियन्ता ईःको सत्याग्रह आज १६ औं दिनमा प्रवेश गरेको छ । ईःसँगै समैरा श्रेष्ठले यस अघि ९ दिन र करण गुरुङले ७ दिन बिना खाना पानी सत्याग्रह गरेका थिए ।