सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व मनाउन घरमै सीमित हुनुपर्दा खल्लो महसुस गरिएको छ ।
तराई मधेशमा भाईबहिनीको प्रेम तथा सद्भावको प्रतिक मानिने रक्षाबन्धन पर्व अधिकांश भाईबहिनीका लागि रौनक बिहीन बन्यो । लगातार १२ औं दिनसम्मको निषेधाज्ञा सोमबार पनि जारि रहदा घर बाहिर रहेका कतिपय दाजुभाई÷दिदीबहिनी एक आपसमा भेटघाट गर्न सम्म पाएनन् । यसरी बाहिर रहेका दाजुभाई र दिदीबहिनीले मोवाइलको प्रयोग गरि आनलाईन मार्फत एक आपसमा सद्भाव साटासाट गरेर रक्षाबन्धन पर्व मनाएका छन् ।
घरमा रहेका दिदीबहीनीले भने दाजुभाईको हातमा राखी बाँधेर दिर्घायुको कामना गर्दै रक्षाबन्धन पर्व मनाएका छन् । राखीका पसलसँगै रक्षाबन्धनको अर्को आकर्षणको बस्तु मानिने मिटाई पसल फाटफुट खुलेपनी ग्राहकको उपस्थिति न्यून देखिएको थियो ।
नगरका सम्पूर्ण मन्दिरहरु पनि लकडाउनका कारण बन्द रहदा साउनको अन्तिम सोमबार भक्तजनहरु पूजापाठ नगरि निरास भई फर्किएका थिए । साउने सोमबारका दिन विषेश गरि शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेकोमा कोरोनाका जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनको निर्देशनमा मन्दिर बन्द गरिएको पुजारीहरुले बताएका छन् ।
प्रदेश २ सरकारले रक्षाबन्धन पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपनि यातायात नचल्दा र आवागमनमा कडाई गरिएकाले सार्वजनिक बिदाको सदुपयोग गर्न नपाइएको अधिकांशले गुनासो गरेका छन् ।