बैतडी । बैतडीस्थित चौलानी नदी किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका ३ बगडीका ४ बर्षीय बालक संगित लुहार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृत भेटिएका बालक दोगडाकेदार गाउँपालिका ६ चम्तडीस्थित चौलानी नदी किनारमा फेला परेको बैतडीका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । बालकको शव आफन्तको जिम्मा लगाइएको छ ।
मृतक बालकसहित उनकी २३ बर्षीया आमा मञ्जु लुहार र ६ महिनाका भाई निकम लुहार साउन १८ गते घरबाट एक्कासी बेपत्ता भएको मृतकका बुवा सुनिल राम लुहारले बताए ।
बेपत्ता रहेका श्रीमती र १ छोराको खोजीका लागि सुनिलले साउन १९ गते प्रहरी चौकी सिमारमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अन्य बेपत्ता रहेका २ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।