नेकपा संकट: फुट जोगाउन बल्ल जागे सांसदहरू

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्षले पार्टी नै विभाजनको संघारमा पुगेका बेला फुट जोगाउन सांसदहरूले दबाब अभियान सुरु गरेका छन् । पार्टी फुट जोगाउन सांसदहरू आफैं जागेपछि अब भने नेकपा विभाजनको खतराबाट जोगिने देखिएको छ ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपाका ६१ सांसदले शीर्ष नेतालाई पार्टी एकताको पक्षमा उभिन दबाब दिँदै पार्टी फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् । उपत्यकाबाहिर रहेका सांसदहरूले पनि यो अभियानमा जोडिने बताएका छन् ।

सांसदहरूले सिंहदरबारमै पत्रकार सम्मेलन गरी आफूहरू कसैको स्वार्थका पछाडि नदौडिने र पार्टी फुट आफूहरूका लागि मान्य नहुने चेतावनीसमेत दिए । सांसदहरूको यो दबाबलाई सकारात्मक रूपमा हेरिएको छ । सांसदहरूले सरकार ढाल्ने र बनाउने खेलको समेत आफूहरूले डटेर सामना गर्ने तथा त्यस्तो खेलमा सहभागी नहुने उद्घोष गरे । उनीहरूले पार्टी एकता जोगाउन भन्दै आफूहरू कसैको पक्ष–विपक्षमा नलाग्ने प्रण गरे ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर तीनै नेतालाई पार्टी एकता जोगाउने गरी अघि बढ्न सुझाव दिएका छन् ।

तीन बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उनीहरूले पार्टी विभाजन हुने गरी गरिएका गतिविधिमा आफूहरूको संलग्नता नरहने स्पष्ट पारेका छन् । एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावनाअनुसार आफूहरू प्रतिबद्ध भई सामूहिक पहलकदमी लिने उनीहरूले बताए ।

– नेताका घरमै पुगेर धर्ना दिइने
– शीर्ष नेतालाई मिलेरै अघि बढ्न दबाब
– पार्टी फुटाएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी
– सरकार बनाउने–गिराउने खेलमा सहभागी नहुने उद्घोष
– गुट उपगुट ध्वस्त पारिने दृढता

‘पार्टीमा हुने र देखिने सबै प्रकार अन्तर्विरोधलाई पार्टीको विचार र सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा वस्तुवादी समाधानहरू खोज्न हामी प्रतिबद्ध छौं,’ सांसदहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तर्विरोधलाई मूर्त वा अमूर्त ढंगले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरू आदि माध्यमबाट सार्वजनिक ढंगले पक्ष–विपक्षमा अभिव्यक्ति दिने कार्यक्रममा सहभागी नहुने र त्यस प्रकारका पार्टी एकताविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न आफूहरू प्रतिबद्ध रहेको उनीहरूले जनाएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षका कृष्णप्रसाद दाहालको अध्यक्षता र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षका सुरेशकमार राईको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा ओली तथा दाहाल र नेपाल समूहका सांसदहरूले बोलेका थिए ।

कुनै पनि गुटको पक्ष–विपक्षमा नलाग्ने र नेताहरूको स्वार्थसिद्धिका माध्यम नबन्ने प्रतिबद्धता जनाइएको पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, विशाल भट्टराई, जीवनराम श्रेष्ठ, गणेश पहाडी, अञ्जना विशंखे, राजबहादुर बुढा, नारदमुनि रानालगायतले पार्टी विभाजन हुन नदिन अब कुनै पनि गुटको पक्ष विपक्षमा लाग्न नसकिने स्पष्ट पारेका थिए ।

भेलाका अध्यक्ष तथा अर्थ समितिका सभापतिसमेत रहेका दाहालले विगतमा जुन गुटमा हस्ताक्षर गरेको भए पनि पार्टी विभाजन वा कसैलाई हटाउने प्रयोजनले गरिने अभियानमा हस्ताक्षर नगरिने दृढता व्यक्त गरे । सांसद रामकुमारी झाँक्रीले पार्टी विभाजन रोक्न आफूहरूले संयुक्त दबाब अभियान सुरु गरेको र कुनै हालतमा पनि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाइन् ।

पर्टीलाई जुटाउने अभियानमा सहभागी अर्का सांसद विशाल भट्टराईले नेकपा विभाजनले मुलुकमा संकट उत्पन्न हुने र त्यसले गम्भीर क्षति भोग्नुपर्ने भन्दै त्यस्तो स्थिति आउन नदिन आफूहरूले सचेत अभियान थालेको बताए ।
। मुलुक, जनता तथा कार्यकर्ताको भविष्यका लागि पार्टी एकताको विकल्प नभएको उनले बताए ।

‘नेकपा विभाजन भए अहिलेको शासन प्रणाली, संविधानका साथै गणतन्त्र नै धरापमा पर्ने निश्चित छ,’ भट्टराईले भने, ‘हामी कुनै गुटमा नभई एकताको पक्षमा उभिएका छांै, आवश्यक परे नेताहरूको घरमै पुगेर धर्ना दिन पछि पर्नेछैनौं ।’ सांसद यज्ञराज सुनुवारले आफूहरू जनताबाट निर्वाचित भएर आएकाले माथिका नेताबीचको झगडाले तल कस्तो निराशा छाएको छ भन्ने अनुभूति रहेको बताए ।

नेकपाभित्र केही सातायता शीर्ष नेताहरूबीचको शक्ति संघर्षले उग्र रूप लिएपछि पार्टी नै विभाजको संघारमा पुग्ने खतरा रहँदै आएको छ । शीर्ष नेताहरू कुर्सीको दौडमा लागेपछि संकट चुुलिन थालेको हो ।

सांसद गणेश पहाडीले आफूहरूका टाउको गनेर पार्टी विभाजन गर्ने खेल नखेल्न नेतृत्वलाई चेतावनी दिए । पार्टी विभाजन हुँदा कसैको पनि भविष्य सुरक्षित नरहेकाले अहिले पक्ष वा विपक्षमा लागेर विभाजनलाई बल पुग्न नदिइने प्रतिबद्धता सांसदहरूले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन