काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघमा देखिएको आर्थिक अनियमितताका सम्बन्धमा सत्यतथ्य पेस गर्न एक साताको अल्टिमेटम दिएको छ । राखेपले बक्सिङ संघका अध्यक्ष राम अवालेलाई पत्र लेख्दै सात दिनभित्र संघभित्र भएका आर्थिक अनियमितताका विवरण परिषदमा पेस गर्न निर्देशन दिएको हो ।
संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानबिन गर्न मागसहित राखेपमा उजुरी दिएका थिए । उनीहरूले संघभित्रको आर्थिक अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गर्दै राखेपमा पाँच बुँदे निवेदन दर्ता गरेका थिए । राखेपका संघ सस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पत्र लेख्दै सत्यतथ्य विवरण खुलाई सात दिनभित्र राखेपमा पत्र पेस गर्न निर्देशन दिएका हुन् ।
पछिल्लो समय बक्सिङ संघभित्रको विवाद उत्कर्षमा छ । संघका निर्वाचित कोषाध्यक्षलाई बाहिर राख्दै विधानविपरीत सहकोषाध्यक्षको हस्ताक्षर गराई अध्यक्ष अवालेले आर्थिक अनियमितता गरेको भन्दै महासचिव भट्टचार्य र कोषाध्यक्ष सुजखु विरोधमा उत्रिएका छन् । संघको पछिल्लो बैठकमा महासचिव भट्टचार्यले आफूमाथि अध्यक्षसहित केही पदाधिकारीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै विरोध गरेका थिए ।
महासचिव भट्टचार्यले संघका अध्यक्ष अवाले एकलौटी र तानाशाही ढंगले चल्न खोजेको भन्दै नेतृत्वको विरोध गर्दै आएका छन् । कार्यसमिति बैठकमै आफूमाथि दुव्र्यवहार भएपछि महासचिव भट्टचार्य र कोषाध्यक्ष सुजखुले राखेप सदस्यसचिवलाई पत्र लेख्दै संघभित्रका विषय अनुसन्धानका लागि आग्रह गरेका थिए ।