पार्टी एकता र स्थिरताको सन्देश देऊ

देशमा दुई तिहाइको सरकार बनेर स्थायित्व कायम होला भनी जनताले अपेक्षा गरिरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । यसले सत्तारूढ पार्टीलाई विभाजनको सँघारमा पु¥याउने हो कि भन्ने चिन्ता बढेर गएको छ । सत्तारूढ पार्टीमा अवश्यम्भावी फुटको संकेत देखेपछि पार्टी नेता तथा सांसदले दबाब अभियान सुरु गरे तापनि शीर्ष नेताहरू भने टसकोमस भएका छैनन् । सांसदहरूको दबाब अभियानपूर्व पार्टी केन्द्रीय नेताहरूले हस्ताक्षर संकलन गरी केन्द्रीय कार्यालयमा बुझाएका थिए । पहिले वाम एकता र पछि त्यही पार्टी एकतामा परिणत गरिए पनि पार्टी एकताका का स्थानीयस्तरसम्म पूरा गर्न बाँकी छन् । यही बाँकी रहेको कार्यभारका कारण अहिलेसम्म पूर्वएमाले र पूर्वमाओवादी (केन्द्र)को आभास स्थानीयस्तरमा अझै छ । जनता पार्टी जुटेकोमा रमाउँछन्, फुटेको हेर्न चाहँदैनन् । तर, नेताहरूमा भने जनताको यो मनोभावनालाई कदर गर्न सक्ने क्षमताको कमी देखिन थालेको छ ।

बलिदानपछि प्राप्त राज्यको पुनर्संरचनासहितको संघीय लोकतन्त्र कार्यान्वयनको चरणमा छ । तीन तहका सरकार निर्वाचनमार्फत तीनै तहमा रहेर काम गरिरहेका छन् । सिंहदरबार गाउँगाउँमा भनी दिइएको नारा साकार पार्न बाँकी छ ।
तर, यसै बेला नेताहरूमा देखिएको झगडा र बेमेलले जनतामा नमीठो सन्देश दिन पुगेको छ । नेताहरूको आग्रह–पूर्वाग्रह र बदला भाव एक ठाउँमा होला तर जनता भने आफ्नो गाउँठाउँ र स्थानमा विकास भएको हेर्न चाहन्छन् । विकास र समृद्धिको यो आकांक्षा तब मात्र सम्भव छ, जब स्थिर सरकार रहन्छ र सत्तारूढ पार्टी एक ढिक्का भएर देशका निर्माण कार्यको नीति तथा योजना बनाएर सरकारमार्फत कार्यान्वयनमा लैजान्छ । दलीय व्यवस्थामा जनताले आखिर घोषणापत्रका आधारमा पार्टीलाई भोट दिएका हुन् । वर्तमान सत्तारूढ पार्टीले आफ्नो चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धता पूरा गर्न बाँकी छ । जनता त्यसको कार्यान्वयन होला भनी प्रतीक्षामा देखिन्छन् पनि । जनताका इच्छा र आकांक्षाको सम्बोधन गरिएको चुनावी घोषणा पत्र कार्यान्वयन गर्न सत्तारूढ पार्टी र सरकार स्वयं लागि पर्नुपर्ने आजको आवश्यकता हुन गएका बखत पार्टीभित्र देखिएको विवाद र फुटको संकेत जनतामाझ पाच्य हुन सकिरहेको छैन । त्यसैले पनि सत्तारूढ पार्टीको आन्तरिक विवाद र खिचलोमा जनताको केही पनि मत वा विमत देखिँदैन । बरु जनता अहिले असरल्ल परेका छन् । उनीहरू आउँदै गरेको चुनावमा यसको बदला लिने दाउँमा देखिन्छन् ।

अहिले देश कोरोना महामारीको संकटमा फसेको छ । यसको नियन्त्रण र रोकथामका लागि लिइएका कदम पनि त्यति प्रभावकारी हुन सकिरहेका छैनन् । राहत तथा सेवासुविधाका कार्यक्रम पनि दिइएका छैनन् । जनता यस विषयलाई लिएर रुष्ट हुँदै गएका छन् । अर्कोतिर निरन्तर वर्षादका कारण देशमा बाढी, पहिरो र डुबानको समस्या थपिँदै गएको छ । देशभित्र जनधनको क्षति निकै उच्च हुँदै गइरहेको छ । पीडित जनताले राहत र सेवासुविधाहरू पाउन सकिरहेका छैनन् । बिनामलखाद धान रोपाइँ गरेका जनता रोपाइँ उठिसक्दा पनि राख्नका लागि रासायनिक मल पाउन सकिरहेका छैनन् । सरकार यसका ’boutमा बेखबरजस्तै छ । यसरी तत्काल आइपरेका यी समस्या समाधान गर्न र देशलाई विकास तथा समृद्धितिर अघि बढाउन सत्तारूढ पार्टी एक ढिक्का भएर अघि बढ्नु जरुरी पर्छ । साथै सरकारले सापेक्ष स्थायित्व दिन सक्नैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार