काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० निर्धारण गरिएको छ ।
मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार पुगेको थियो । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँस एक हजार ८९०.५५ डलरमा झरेको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नाका कारण’bout आफूले अध्ययन गरिरहेको उनको भनाइ थियो ।