विसंगतिविरुद्घ समाज गोलबद्घ हुन जरुरी

जसरी एउटा गाडी गुडाउनका लागि त्यसको इन्जिन, पार्ट पुर्जा, इन्धन र हाक्ने ड्राइभर चाहिन्छ, त्यस्तै देशमा सुशासन, दण्डहीनता, विकास र समृद्घिका लागि सचेतजनता र इमानदार राज्यप्रणाली चाहिन्छ । हाम्रो देशको सन्दर्भमा उल्लिखित दुवै क्षेत्र कमजोर भएको अवस्था छ । देशका पार्ट, पुर्र्जा र इन्जिनरूपी जनता र ड्राइभररूपी राज्य सञ्चालकको घंैटोमा घाम नलागेसम्म मुलुक अगाडि बढ्न सक्दैन । जनता राजनीतिक दलका ताली बजाउने र भोट हाल्ने पात्रको रूपमा उपयोग हुँदा राजनीति सिद्घान्त, विधि र पद्घतिमा चल्ल्न सकेन ।

अहिले नागरिक कोही कम्युनिस्ट भएका छौं । कम्युनिस्टभित्र पनि नेताका गुटमा विभिाजित छौं । कोही कांग्रेस भएका छौं । कांग्रेसमा पनि गुट र उपगुटमा विभाजित छौं । कोही राजावादी छौं त कोही मधेसवादी । समाजका सचेत वर्ग पनि भ्रष्टका अगाडि पछाडि लाग्ने, ठेक्कापट्टा मिलाउने, बिचौलियाको काम गर्नेलगायतका काममा अभ्यस्त छौं । प्रबुद्घवर्ग पनि राजनीतिक आस्थामा विभाजित छौं । समाजमा ठीकलाई ठीक र बेठीकलाई कुरा नचपाइकन बेठीक भन्न सक्ने समाज नभएसम्म राजनीति सुध्रिदैन । त्यसैले आमनागरिक राजनीतिक दलका भागबन्डामा विभाजित हुनुहुँदैन । मुलुक र समाजको भलो हुने काम गर्नुपर्दछ ।

त्यसो त एउटै परिवारका सदस्यमा पनि एकै प्रकारको सोचाइ, कार्यक्षमता र आचरण हँुदैन । ३ करोड जनसंख्या भएको मुलुकमा फरक मत, विचार, क्षमता एवं प्रवृत्तिहरू हुनु अस्वभाविक होइन । तथापि, प्रजातन्त्रका लागि नेपालको झन्डामुनि गोलबद्घ हुन सक्ने हाम्रो इतिहास साक्षी छ । फलत ः हामीले प्रजातन्त्र, लोकतन्त्र वा चाहेको राजनीतिक व्यवस्था ल्याउन सफल भयौं । अब हामीले चाहेको विकास र समृद्घि हो । सीमित स्वार्थ समूहको कारण मुलुक झन् पछि झन् बर्बाद उन्मुख भएको देख्दा देख्दै नागरिक कहिलेसम्म मुकदर्शक बन्ने ? देशका सम्पूर्ण नागरिक राज्यको दुष्कर्म, भ्रष्टाचार, अनियमितता र राजनीतिलाई केही व्यक्ति र समूहको फाइदाका लागि उपयोग गर्ने प्रवृत्तिविरुद्घ एकै ठाउँमा उभिन आवश्यक छ । राज्यबाट हुने गल्ती कामलाई गल्ती नै देख्ने समान दृष्टिकोणको खाँचो छ ।

राजनीति नेतृत्वलाई सही मार्ग दर्शन गराउन पार्टीका कार्यकर्ताले नसक्ने प्रमाण नेपालको इतिहासमा प्रमाणित छ । प्रजातन्त्र पछाडि नेपाली कांग्रेस कार्यकर्ताकै कुबुद्धिबाट विखण्डित भयो । तत्कालीन एमालेलगायतका वाम घटक पनि आन्तरिक विवादले फुट्ने र जुट्ने इतिहास ताजै छ । तत्कालीन माओवादीको उच्च नेतृत्वका निर्णय कार्यकर्ताले सहजै स्वीकार्न नसक्दा ससाना झुन्डमा विभाजित भयो । अहिले नेपाल कम्युनिस्ट पार्टीको अवस्था पनि गुट र उपगुटमा चिराचिरा भएको अवस्था छ । प्रजातन्त्रका सामाजिक मूूल्य र मान्यतालाई पछ्याएर आपसी सद्भाव र सहिष्णु व्यवहारको वास्तविक प्रयोग हुनुपर्नेमा राजनीतिक आस्थामा केन्द्रित भएकाले दलहरूमा भाँडभैलो भएको हो ।

समाज विभिन्न जात, जाति, भाषाभाषी, संस्कृति, संस्कार एवं राजनीतिक चेतनाले प्रशिक्षित समूहको बसोबास गर्ने साझा थलो हो । यही साझा थलोबाट देशका हरेक क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन हुन्छन् । कसैले राजनीति गर्छन्, कसैले, जागिर, कसैले बन्दव्यापार, कृषि वा आदि इत्यादि । माथि उल्लिखित व्यक्ति एवं व्यक्तित्वको पेसागत पहिचानभन्दा ठूलो चिनारी हामी सबै नेपाली हांै भन्ने हो । एउटा नेपाली हुनुको भाव हरेक नागरिकमा नभएसम्म ऊ अमुक राजनीतिक दलको सदस्य वा पेसेवर व्यवसायी भन्दामाथि उठ्न सक्दैन । त्यसैले, नेपाली हुनको नाताले देश र समाजको हितमा काम गर्नु असल नागरिकको कर्तव्य हो । दायित्व हो ।

हाम्रो देशमा राज्यसत्ताविरुद्घमा नेपाली जनताको ठूलो योगदान छ । पृथ्वीनारायण शाहको एकीकरणको अभियानमा होस् या नेपाल–अंग्रेजको बीचमा भएको भूमि संरक्षणको युद्घ । नेपाली जनताले देखाएको राष्ट्रियता एवं वीरता प्रशंसनीय छ । यसैगरी नेपाली जनताले देशमा भएका राजनीतिक क्रान्तिहरू २००७, २०३६, २०४६, २०५२ देखि २०६२ सालसम्म चलेको माओवादी युद्घ एवं २०६२÷६३ को जनक्रान्तिलगायतका मोर्चामा अतुलनीय भूमिका निर्वाह गरेका छन् । यसका पछाडि देश विकास, सुशासन र विभिन्न प्रकारका विभेदको अन्त्य भई उन्नत नेपालको सपना थियो । तत्कालीन राजनीतिक दलहरू र नेपाली जनताले देश विकासको बाधक राज्यसत्तालाई देखेकाले त्यसविरुद्घमा लडेका हुन् । फलत ः राज्य व्यवस्था परिवर्तन भए । र, अहिले देशमा लोकतन्त्र छ । गणतन्त्र छ । नागरिक अधिकार छ । जननिर्वाचित सरकार छ ।

आमनागरिक राजनीतिक दलका भागबन्डामा विभाजित हुनुहुँदैन

परन्तु, देशमा भएका राजनीतिक दल र नेतृत्वमा पुग्ने व्यक्ति एवं व्यक्तित्वले इतिहासमा जनताले गरेको योगदान र आजको समाजको आवश्यकतालाई बुभ्mन नसक्दा राज्यव्यवस्था परिवर्तन भए तापनि देश र जनताको अवस्थामा परिवर्तन हुन सकेन । देशमा गरिबी, अभाव, महँगी, भ्रष्टाचार, आर्थिक अनियमितता, दलगत द्वन्द्व, असमझदारीलगायतका समस्या थाती छन् । उल्लिखित समस्यालाई समाधान गर्ने बाटोमा जननिर्वाचित सरकार असफल भएको सबैका अगाडि प्रस्ट छ । यस सन्दर्भमा राजनीतिक परिवर्तनले मात्र देश विकास र समाजका विसंगति हट्न नसक्ने कुरा प्रमाणित भइसकेको छ । यसर्थ हरेक नागरिकले अमुक राजनीतिक दल, नेता विशेष वा आफ्नो स्वार्थ नहेरी समाजका तमाम विकृति र विसंगतिविरुद्घ गोलबद्ध भई वैचारिक आन्दोलन गर्न जरुरी छ ।

तीन दशकको प्रजातान्त्रिक अभ्यास र यसको व्यवस्थापन गर्न दलहरू चुके । दलको प्रतिनिधित्व गरेर राज्यमा पुग्ने कुनै पनि प्रधानमन्त्रीले नेतृत्व गरेका राज्यका संयन्त्रहरू बलिया हुन् सकेनन् । फलतः विकासले बाटो लिन सकेन । रोजगारीको सिर्जना हुन सकेन । रोजगारीका लागि युवा जनशक्ति विदेशिन बाध्य भयो । नागरिकको दैनिकी दिन प्रतिदिन कठिन हुँदै गयो । वैदेशिक हस्तक्षेप बढ्दै गयो । परनिर्भरता बढ्दै गयो । उत्पादन घट्दो छ । सरकार प्रतिनागरिकको पटक्कै विश्वास छैन । दलहरू आन्तरिक विवाद र स्वार्थ समूहका गोटी बनेका छन् । राइट म्यान, राइट प्लेस हुन नसक्दा हरेक क्षेत्र कमजोर बनेका छन् । प्रशासनतन्त्र भ्रष्टाचारको जालोले जेलिएको छ । सार्वजनिक सेवा अत्यन्त कमजोर छ । यी र यस्ता समस्या समाधान गर्नका लागि नागरिक गोलबद्घ भएर राज्यलाई घेराबन्दीमा पार्न जरुरी भइसकेको छ । यस सन्दर्भमा असल नागरिकको भूमिका निर्वाह गरी विगतमा जसरी देशको रक्षा र राजनीतिक परिवर्तनको लागि गोलबद्घ भएर योगदान दियौं, त्यसैगरी राज्यलाई मुलुक र जनहितमा काम गर्न बाध्य बनाउन नागरिक एकै ठाउँमा उभिन जरुरी छ ।

लोकतान्त्रिक समाजमा नागरिक सर्वोच्चतालाई स्वीकार गरिन्छ । राजनीतिक नेता र कार्यकर्तालाई जनमुखी, बनाउने सजिलो माध्यम नागरिक दबाब हो । जनताको शक्ति हो । हाम्रा राजनीतिक दल आप्mनो डम्फु बजाउँदा बजाउँदै देशका विज्ञ, विशेषज्ञ एवं आमनागरिकका आवाज नसुन्ने भइसकेका छन् । जनचाहनालाई अवमूल्यन गरेका छन् । विश्वको राजनीतिक इतिहासको अध्ययनले पनि जहाँ अत्याचार हुन्छ, त्यहाँ नागरिकको आपसी सहकार्यको बलमा विसंगतिको अन्त्येष्टि गरिएको पाइन्छ । फ्रान्सको राज्य क्रान्तिमा जनताले सिनेटलाई भर्सेली प्यालेसमा थुनेर परिवनर्तको विगुल बजाएका थिए । केही समयअगाडि युक्रेनमा भ्रष्ट नेतालाई कन्टेनर हालेर सहर घुमाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसै महिना स्पेनका राजा कार्लोसलाई भ्रष्टाचारको आरोप लागेपछि देश छोड्नुपर्ने बाध्यता भयो । कतै हाम्रो देशमा पनि भ्रष्ट सरकार र नेतालाई नागरिकले सिंहदरबार, सांसद भवन र बालुवाटार घेर्ने समय त आएको छैन ? नागरिकले सोच्ने बेला आएको छ । सबैलाई चेतना भया ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने