काठमाडौं । संघीय राजधानी काठमाडौंका चक्रपथमा पर्ने चावहिल वर्षामा हिलाम्मे र हिउँदमा धुलोमय बन्ने गरेको छ । सडक मर्मत तथा सम्भारमा ढिलासुस्तीका कारण यात्रु तथा सर्वसाधारणले हैरानी खेपिरहेका छन् । चावहिल रिङरोडमा कुनै विवाद कारणभन्दा पनि ढिलासुस्तीका कारण ढिलाइ भएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पिच गर्न ठेक्कासमेत लागिसकेको अवस्थामा कोरोना महामारी र लकडाउनका कारण ढिलाइ हुन गएको बताउँछन् ।
‘त्यहाँ कुनै विवाद छैन, मनसुन सकिएको भोलिपल्टदेखि पिचको काम सुरु हुन्छ,’ उनले राजधानीसँग भने, ‘पिचका लागि ठेक्का गरिसकेका थियौं, लकडाउन भयो, अहिले पानीले रोकिएको छ ।’
कार्यालय प्रमुख नेपालीले दसैंसम्म पिच गरिसक्ने दाबीसमेत गरेका छन् । उनले त्यस ठाउँमा तार भूमिगतको काम समेत सम्पन्न भइसकेको जानकारी दिए ।
रिङरोडमा मात्र होइन, चावहिल–साँखु सडक खण्डमा पनि वर्षांैदेखि कालोपत्रे तथा ढल व्यवस्थापनको काम हुन सकेको छैन । यसअघि, उक्त सडक खण्डमा सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्र कालोपत्रे भएको पाइएको थियो भने काममा व्यापक ढिलासुस्ती हुँदै आएको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीले उक्त सडकखण्डमा चार वर्षमा पनि कालोपत्रेको काम सम्पन्न हुन नसकेको हो ।
उक्त सडकखण्डको कालोपत्रेको काम सम्पन्न गर्न दबाब दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारकै पालामा दुई वर्षको अवधिमा मात्र दुई जना भौतिक पूर्वाधार तथा यातायात न्त्रीलाई लिएर त्यस क्षेत्रको अवलोकन गरिसकेका छन् ।
चावहिल–साँखुको १२ किलोमिटर सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने योजनासहित २०७२ सालबाट काम अघि सारिएको थियो । २०७४ सम्ममा सडक विस्तार सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै आएको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार १ अर्ब ७५ करोड रुपैयाँको लगानीमा उक्त सडक निर्माण भइरहेको हो ।
सडक निर्माणका लागि बज्रगुरु-च्याङमिला-खानी जेभी, युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु-विरुवा-खानी जेभी, बिटी-सुनकोसी-वल्र्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । लामा समानान्तर ठेकेदार पनि उक्त सडक खण्डमा पछि थपिएको थियो ।
सम्झौतामा सडक निर्माणको मापदण्डअनुसार १८ मिटर सडक र दुई-दुई मिटरको अपांगमैत्री गरी २२ मिटरको सडक बनाउनुपर्ने उल्लेख छ । त्यस सडक खण्डमा मुआब्जा विवादले पनि कालोपत्रेको काम लम्बिँदै आएको हो ।
यसअघि, सडक निर्माण थालिएको लामो समयसम्म पनि चावहिल–चुच्चेपाटी खडक खण्डमा कालोपत्रे नगरिएको र ढल व्यवस्थापन नगरिएको भन्दै स्थानीयले सडक अवरोधसमेत गर्दै आएका छन् ।
नेकपा नेता तथा प्रदेश सांसद रामेश्वर फुयाँल उक्त क्षेत्रमा विस्तारका लागि टेन्डर गरिए पनि मुआब्जा विवादले समस्या थपिएको बताउँछन् ।