आयोजनाले भुक्तानी नगर्दा पर्सामा सडकको काम अलपत्र

वीरगन्ज । हुलाकी राजमार्ग आयोजनाले समयमा बिल भुक्तानी नगर्दा पर्साको वीरगन्जदेखि सेढवा सडकखण्डको स्तरोन्नतिको काम प्रभावित भएको छ । ठेक्का सम्झौताअनुसार बिल पेस भएको एक महिनाभित्र भुक्तानी हुनुपर्नेमा हुलाकी राजमार्ग निर्देशनालयले एक वर्षभन्दा लामो समयदेखि भुक्तानी रोकेर राख्दा स्रोतको अभावमा काम अघि बढाउन नसकिएको निर्माण कम्पनीले बताएको छ ।

लकडाउनका बेलामा समेत सडक निर्माणको काम धमाधम गरेको भए पनि आयोजना र परामर्शदाताबीचको असमझदारीका कारण भुक्तानी हुन नसकेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर सुशील ठाकुरले बताए । लकडाउनअघि ४५ प्रतिशत काम भएकोमा लकडाउनको बीचमा थप २० प्रतिशत काम भएको दाबी निर्माण कम्पनीले गरेको छ ।

निर्माण कम्पनीले एक वर्षअघि पेस गरेका दुईवटा र पाँच महिना अघिको बिल गरी कुल ११ करोड रुपैयाँ भुक्तानी नपाएको बताएको छ । भारत सरकारको आर्थिक अनुदानमा निर्माण अघि बढेको यो सडकखण्डको काम भुक्तानीको समस्याकै कारण रोकिएको निर्माण कम्पनीको दाबी छ ।

भुक्तानी नहुनुमा हुलाकी सडक निर्देशनालय र परामर्शदाता (राष्ट्रिय राजमार्ग एन्डसंरचना विकास निगम लिमिटेड)ले एकले अर्कामाथि जिम्मेवारी पन्छाइरहेका छन् । भुक्तानीका लागि पत्राचार गर्दा परामर्शदाताले आयोजनालाई देखाउने र आयोजनाले परामर्शदातालाई देखाउँदै आएको छ ।

दुवै संस्था जिम्मेवारीबाट पन्छिन खोज्दा काम कसरी अगाडि बढाउने भन्नेमा निर्माण कम्पनी भने अन्योलमा परेको छ । परामर्शदाता वीरगन्ज कार्यालयका प्रमुख बपुन बोहराले आफ्नो काम भुक्तानीका लागि सिफारिस गर्नेमात्र भएको बताए । तर, गत मार्चमा पेस गरिएको ७ करोड रुपैयाँको बिल उनले रोकेर राखेको निर्माण कम्पनीले बतायो ।

उता परामर्शदताले सिफारिस गरेर पठाएका दुईवटा बिल एक वर्षभन्दा लामो समयदेखि हुलाकीले अड्काएर राखेको छ । भुक्तानी नपाउँदा निर्माण कम्पनीले काम अघि बढाउन नसकेको भन्दै परामर्शदाताले हुलाकीलाई पटकपटक भुक्तानीका लागि ताकेता गरे पनि हुलाकीले सुनुवाइ नगरेको निर्माण कम्पनीको गुनासो छ ।

सार्वजनिक खरिद ऐन र ठेक्काको सर्तमा पनि भुक्तानीका लागि बिल दिएको ३० दिनभित्र भुक्तानी गर्नुपर्ने प्रावधान छ । वीरगन्जको प्रतिमा चोकदेखि सेढवासम्मको ३० किलोमिटर सडक ३० महिनामा पूरा गर्नेगरी २०१७ जुनमा सम्झौता भएकोमा समयावधि बितिसक्दा पनि परियोजनाले अझै साइट उपलब्ध गराउन नसकेको निर्माण कम्पनीले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटमा मतदाताले नै मतपेटिका लिएर भागे