श्रावण, दत्तात्रय र यौन शिक्षा

भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाभरि सोमबारका दिन मेला लाग्ने गर्दछ । यो मन्दिरमा विदेशी पर्यटक पनि धेरै नै आउने गर्दछन् । उनीहरूले दत्तात्रयलाई यौनक्रीडाका मूर्ति भएका मन्दिर भनी प्रशंसा गरिरहेका छन् । कामसूत्रका लेखक वात्स्यायनले वर्णन गरिराखेका ८४ यौन आसनमध्ये ४८ आसन भएका काष्ठकला यो मन्दिरमा छन् । मन्दिरको बाहिरपट्टिको भित्तामा भएका काष्ठकलामा ४८ आसन भएका यौनक्रीडाका मूर्तिहरू छन् । यसरी कामसूत्रका आसन भएको मन्दिर भएकाले दत्तात्रय यौन सिकाउने देवता भनी परिचित भइरहेको छ । त्यसैले, यहाँ युवायुवती धेरै नै आउने गर्दछन् । यो मन्दिरमा साउन महिनामा धेरैजसो महिलाकै भिड देखिन्छ । सोमबारको ब्रत बसेर देवताको दर्शन गर्न र यौनक्रीडाका आसन हेर्न आउने महिलाले त्यसका तस्बिरहरू पनि किनेर लाने गर्दछन् ।

परापूर्वकालमा युवायुवतीलाई यौनशिक्षा दिनकै लागि नेपालमा भएका विभिन्न देवीदेवताको मन्दिरका टुँडालमा यौनक्रीडाका विभिन्न आसन भएका मूर्ति कुँदेर राख्ने गरिन्थ्यो । त्यतिबेला अहिलेजस्तो पुस्तक पत्रपत्रिका पढ्ने त के कुरा देख्न पनि पाएका हुँदैनथे । त्यसैले युवायुवतीलाई यौनको शिक्षा दिने उद्देश्यले नै मन्दिरका टुँडालमा यौनक्रीडाका काष्ठकला प्रदर्शन गरेर राखेका हुन् । हुन त देवीदेवताको मन्दिरमा यसरी यौनक्रीडाका काष्ठकला राखेमा चट्याङ नपर्ने र आगलागी पनि नहुने भन्ने जन विश्वास रहिआएको छ ।

जे होस्, त्यति बेलाको समाजमा यस प्रकारका प्रयास र यौन शिक्षाको प्रशंसा नगरी रहन सकिँदैन । नेवारी समुदायको चलनअनुसार भर्खरै विवाह गरेका नवदम्पत्तिलाई देवीदेवताको मन्दिरमा दर्शन गर्न पठाउने र देवताको टीकासिन्दुर र प्रसाद दुलहाले दुलहीलाई सिउँदोमा लगाइदिने गर्नुपर्छ । हुन त स्वयंवर गर्दा नै दुलहाले दुलहीको सिउँदोमा सिंदुर लगाइदिइसकेको हुन्छ । तैपनि देवीदेवताको मन्दिरमा पठाएर पुनः सिंदुर लगाइदिने चलन चलाएको ती नवदम्पत्तिले यौनशिक्षा प्राप्त गरोस् भन्ने नै हो ।

बालकरूपी ब्रह्मा, विष्णु र महादेवको एउटै स्वरूपमा दत्तात्रय देवता प्रकट भएको मानिन्छ

यौनसँग सम्बन्ध भएको र यौनको कारणबाटै प्रादुर्भाव भएका दत्तात्रय देवता ब्रम्हा, विष्णु र महादेव त्रिदेवका एउटै स्वरूप भएर स्थापित भएका हुन् । राजा यक्ष मल्लले एउटै सिंगो रूखको काठले वर्षौं लगाएर बनाइराखेका देवता हुन्, दत्तात्रय । साउनको सोमबारमा हजारौं भक्तजनको भिड नै लागिरहेको हुन्छ । अविवाहित महिलाले आफूले खोजेजस्तै राम्रोे र असल लोग्ने प्राप्त होस् भनी व्रत बस्ने गर्दछन् भने विवाहित महिलाले आफ्ना पतिको शुभ होस् र आफू पनि सौभाग्यवती भइरहन पाऊँ भनी व्रत बस्छन् ।

यस समयमा दत्तात्रयमा पूजा गर्न आउने महिलाको लाइन सुकुलढोकासम्म पुग्ने गर्दछ । मन्दिरभित्र पस्न टिकट लिनुपर्छ । तर, टिकटको मूल्य भने तिर्नुपर्दैन । नेपालमा टिकट लिएर पूजा गर्नुपर्ने देवता यही एउटा मात्र हो र टिकटको व्यवस्थाले भक्तजनहरूको हातमा टिकट परेको आधा घण्टाभित्र देवताको दर्शन गर्ने पालो आउँछ । दत्तात्रय मन्दिरमा पुस महिनाको बुधबारमा पनि मेला लाग्दछ । त्यस्तै, तीज, शिवरात्रि एवं एकादशी र शनिबार पनि मेला लाग्ने गर्दछ ।

दत्तात्रय यौनसँग सम्बन्धित देवता कसरी भए र दत्तात्रय देवता कसरी बने भन्ने विषयमा शास्त्रमा उल्लेख भएको एउटा आख्यानमा वर्णन गरिएको पाइन्छ । एकपटक अत्रि ऋषिको पत्नी अनसूयाको पतिव्रताको ’boutमा व्यापक रूपमा चर्चा परिचर्चा भएछ । त्रिलोक, चौध भूवनमैं अनसूयाको पतिव्रताको विषयमा चर्चा भएछ । विष्णुलोक, ब्रह्मलोक र शिवलोकमा लक्ष्मी, सरस्वती र पार्वतीलाई अनसूयाको पतिव्रताको प्रशंसा सुनेर एक किसिमले ईष्र्या नै हुन पुगेछ । तीन देवीले संयुक्त रूपमा सल्लाह गरी आआफ्नो पतिलाई पतिव्रता अनसूयाको परीक्षा लिन पठाउने निर्णय गरे । अनि तीनवटी देवीले आआफ्नो पतिलाई बाध्य पारे अनसूयाको परीक्षा लिन ।

अनि तीनै जना देवता साधुको भेष लिई अनसूयाकहाँ भिक्षा माग्न गए । अनसूयाले भिक्षा दिन ल्याउँदा साधु भेषमा आएका ब्रम्हा, विष्णु र महादेवले हामीलाई यो भिक्षा चाहिँदैन । हामीले मागेको दिने भए मात्र लिन्छौं, नभए सराप दिन्छौं भनी डर त्रास देखाए । अनि अनसूयाले हजुरले जे मागे पनि दिने भएँ भनी वचन दिइन् । अनि तीन जना साधुहरूले अनसूयाले सर्वांग नांगो भई हामी तीनै जनालाई अँगालेर स्तनपान गराउनुपर्छ भने ।

मनमै नभएको यस्तो कुरा मागेकाले अनसूयालाई के गरुँ, के गरुँ भयो र एकैछिन पर्खनोस् है भनी ती साधुलाई पर्खाएर आफ्ना पति अत्रि ऋषिलाई आफूलाई आइपरेको कुरा बताइन् । अत्रि ऋषिले यस्तो माग गर्न सक्ने साधुहरू पक्का पनि साधारण मानिस हुनै सक्दैन भनी ध्यान दृष्टिले देर्दा त स्वयं ब्रह्मा, विष्णु र महेश्वर भएको देखे । अनि अत्रि ऋषिले आफ्नी पत्नीलाई धन्दा लिनुपर्दैन तिमीलाई केके मनमा आउँछ, सोहीअनुसार उनीहरूको माग पूरा गरिदिनू भने ।

त्यसपछि अनसूया साधुहरूसमक्ष आई मनमनै ध्यान गरी संकल्प गर्छिन् कि यदि मेरो पतिव्रत धर्मको सत्यता छ भने यी तीनै जना साधु दूध खाने बच्चाको रूपमा परिणत होऊन् । अनसूयाले यति संकल्प गर्नेबित्तिकै ती तीनै जना साधु तत्कालै बच्चाको रूपमा परिणत हुन पुग्दछन् । अनि अनसूयाले पनि ती तीनै जना बच्चालाई काखमा राखी स्तनपान गराउँछिन् ।

उता लक्ष्मी, सरस्वती र पार्वती तीनै जनालाई पीर पर्न थाल्छ, अनसूयाको पतिव्रताको परीक्षा गर्न पठाएका आफना पति धेरै दिन बितिसकेपछि फर्केर आएका छैनन् । के मात्र गरेर बसेका होलान्, अनसूयाको आश्रममा गएर हेर्नुप¥यो भन्दै तीनै जना देवी गएर हेर्दा त तीन जना बच्चा तीनवटा टोकरीमा राखेको देखे । अनसूयाले पनि यी तीनवटी देवी लक्ष्मी, सरस्वती र पार्वती हुन् भनी चिनिन् तर नचिने झैं गरी कुरा गर्छिन् । अन्त्यमा केही सीप नलागी आफनो परिचय दिँदै उनीहरूले हाम्रा पतिदेव खोई भनी सोध्दा अनसूयाले हजुरहरूका पति चिनेर लैजानुहोस् स्तनपान गराइसकेपछि, ऊ त्यो टोकरीमा राखेकी छु भन्छिन् । ती तीन देवीले आआफ्नो वास्तविक रूपको दर्शन दिएर लक्ष्मी, सरस्वती र पार्वतीले आफ्नो भुल स्वीकार गर्दै अनसूयाको पतिव्रताको प्रशंसा गर्छन् ।

त्यसपछि अनसूयाले मेरा पनि सन्तान छैनन् तर मैले यी तीनै देवलाई स्तनपान गराइसकेकी हुनाले मलाई पनि त पुत्र त चाहियो नि भनी माग गर्दा ती तीनै देवीले तथास्तु भनी वरदान दिन्छन् भने ती तीनैजना बालकरूपी ब्रह्मा, विष्णु र महादेवको पनि एउटै स्वरूपमा दत्तात्रयको प्रकट भएको हो भनिन्छ । धन्य पतिव्रता अनसूया आफ्नो पतिव्रता भंग गर्न आएका ब्रम्हा, विष्णु र महादेवलाई नै पुत्र बनाएर स्तनपान गराउन सफल भएकीले अनसूयाको सबैले प्रशंसा गरी धन्यवाद दिन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता अनिवार्य

कुरी-कुरी