काठमाडौं । नयाँ राहदानी नियमावलीअनुसार अब महानगरपालिका प्रमुखदेखि राष्ट्रपतिसम्मका लागि कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गरिएको छ । साथै मन्त्रिपरिषद्ले कुनै व्यक्तिलाई रातो पासपोर्ट दिने निर्णय गरे त्यस्ता व्यक्तिलाई विभागले रातो पासपोर्ट उपलब्ध गराउनुपर्ने व्यवस्थासमेत नियमावलीमा राखिएको छ ।
सरकारले राहादनी नियमावली, २०६७ लाई प्रतिस्थापन गर्दै नयाँ राहदानी नियमावली ल्याएको हो । २६ साउनमा राजपत्रमा प्रकाशित नयाँ राहदानी नियमावली २०७७ कार्यान्वयनमा आएसँगै अब विदेश भ्रमणमा जाँदा ९०४ जना जननिर्वाचित प्रतिनिधिहरूले विदेश भ्रमण गर्दा रातो पासपोर्ट प्रयोग गर्न पाउनेछन् । जसमा २ सय ७५ जना प्रतिनिधि सभाका सांसद, ५९ जना राष्ट्रिय सभाका सांसद, ५५० जना बिभिन्न सात वटा प्रदेशका सांसद, ५ जना महानगरपालिकाका प्रमुख, १३ जना उपमहानगरपालिकाका प्रमुख र १ जना काठमाडौं महानगरपालिकाको उपप्रमुख रहेका छन् ।
राहदानी नियमावलीको नियम १० बमोजिम कूटनीतिक राहदानी पाउने पदाधिकारीको पति वा पत्नीलाई कूटनीतिक राहदानी प्राप्त व्यक्ति सहभागी हुने कार्यक्रममा निमन्त्रणा भई सहभागी हुने बेहोरा खुलाई कूटनीतिक राहदानी प्राप्त पदाधिकारी कार्यरत मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयबाट सिफारिस भएमा विभागले त्यस्तो पति वा पत्नीको नाममा कूटनीतिक राहदानी जारी गर्न सक्ने भनिएको छ । सो नियमावलीअनुसार विदेश जाने पति वा पत्नी पनि सँगै जाने भएमा उनीहरूले समेत रातो पासपोर्ट प्रयोग गर्न पाउनेछन् भनी उल्लेख छ ।
नियमावलीअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षले रातो पासपोर्ट पाउनेछन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक आयोगका प्रमुखहरू, न्यायपरिषद् सदस्यलगायतले विदेश भ्रमणमा जाँदा कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेछन् ।
साथै जिल्ला समन्वय समितिका प्रमुख, संवैधानिक निकायका सदस्य तथा आयुक्त, राष्ट्रिय योजना आयोगका सदस्य, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति र विश्वविद्यालयका उपकुलपतिले विदेश भ्रमण गर्दा रातो पासपोर्ट प्रयोग गर्न पाउनेछन् ।
त्यस्तै, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वपरराष्ट्र मन्त्रीलगायतले समेत कूटनीतिक राहदानी पाउनेछन् । त्यसरी उनीहरूको साथमा जाने पति वा पत्नीले समेत कूटनीतिक राहदानी प्रयोग गर्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ ।
विदेशस्थित नेपाली नियोथमा खटिने कर्मचारीले पनि कूटनीतिक राहदानी पाउने व्यवस्था गरिएको छ । राजदस्त तथा स्थायी प्रतिनिधिहरूसँगै जाने क्रममा जाँदा उनीहरूको परिवारले समेत रातो पासपोर्ट पाउने व्यवस्था गरेको छ ।
साधारण राहदानीको रङ चकलेटी
प्रकाशित भएको राहदानी नियमावलीअनुसार अब साधारण राहदानी (पासपोर्ट) को रङ पनि परिवर्तन हुने भनिएको छ । नियमावलीको २७ नम्बरको ‘छ’मा साधरण राहदानी चकलेटी रङको हुन्छ भनी लेखिएको छ । यसअघि साधारण राहदानीको रङ हरियो थियो । साथै विशेष राहदानी अकासे निलो रङ र सर्भिस राहदानी सुन्तला रङको हुनेछ भनिएको छ ।