सर्लाही । सर्लाहीमा आज थपिएको कोरोना संक्रमितहरुमध्ये चार पालिकाको स्वास्थ्य संयोजक तथा अन्य स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । हरिपुर, कविलासी नगरपालिका र कौडेना तथा विष्णु गाउँपालिकाको स्वास्थ्यकर्मीहरु वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको सम्बन्धित पालिकाहरुले जनाएको छ ।
कौडेना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भु प्रसाद यादव, वडा नं. १ का वडा अध्यक्ष मनोज कुमार साह, वडा नं. ७ का वडा अध्यक्ष बिजय कुमार यादव, कविलासी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख संजय झालगायतका अन्य स्वाथ्यकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।
कौडेना गाउँपालिकामा श्रावन ३० गते ३ सय जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो, जसमध्ये १ सय ९७ जनाको रिपोर्ट आएको छ र तीमध्ये ५७ जनाको रिपोर्ट पोजेटिभ आएको र १४० जनाको रिपोर्ट नेगेटिभ आएको कौडेना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । अहिले पनि १ सय ३ जनाको रिपोर्ट आउन बाँकी नै रहेको छ । आज भएको संक्रमित वडा नं. १ देखि ७ सम्मकै रहेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।
यसैगरी कविलासी नगरपालिकामा ८ जना कोरोना संक्रमितहरुमध्ये स्वास्थ्य १ जना स्वास्थ्य शाखा प्रमुख, अनमीसहित अन्य २ जना स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी २ जना, वडा सचिव १ जना, वडा नं. ४ का वडा सदस्य १ जना, गरी ८ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको कविलासी नगरपालिकाका नगर प्रमुख कौशल किशोर यादवले जानकारी दिए । १ सय २३ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि पठाइएको थियो जसमध्ये न्युन संख्यामा नै कोरोना संक्रमण देखिएको छ, संक्रमित व्यक्तिहरुलाई होम आइसोलेसन तथा अन्य आइसोलेसनमा पठाइएको नगर प्रमुख यादवले जानकारी दिए ।
यसैगरी विष्णु गाउँपालिकामा थपिएको १३ जना संक्रमितहरु मध्ये , ३ जना स्वास्थ्य कर्मी, ४ जना वडा कार्यालयका कर्ममचारी ,स्वास्थ्यकर्मीको परिवारमा २ जना र स्थानिय ४ जना कोरोना संक्रमितहरु थपिएको विष्णु गाउँपालिकाका निमित प्रशासकीय अधिकृत संजिव सापकोटाले जानकारी दिए ।
त्यस्तै हरिपुर नगरपालिकामा पनि ४ जना स्वास्थ्यककर्मीमा कोरोना संक्रमण देखिएको नगर प्रमुख जमेरुदिन मंसुरले जानकारी दिए । मंगलवार थपिएको कोरोना संक्रमित २६ जना मध्ये स्वास्थ्यकर्मी ४ जना, वडा नं. ८ का वडा अध्यक्ष, नेपाल बैंकका कर्मचरी २ जना, विद्युत प्राधिकरणका कर्मचारी २ जना, सहकारीका संस्थाका कर्मचारी १ जना, ट्राफिक प्रहरी १ जना र वडा नं. २,७ र ५का स्थानियहरुरु गरी जम्मा २६ जना कोरोना संक्रमितहरु थपिएको हरिपुर नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक नरेश ठाकुरले जानकारी दिए । यस अघि पनि नगरपालिकामा २१ जना कोरोना संक्रमितहरु देखिएको थियो र उनिहरु कोरोना जितेर घर फर्किसकेको सह–संयोजक ठाकुरले बताए ।