समृद्धिको पर्खाइमा रुबी भ्याली

नेपाल सरकारको २५ वर्षे दीर्घकालीन सोचमा देशलाइ ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने घोषणासँगै ७ सय ५३ वटै स्थानीय तहले यसैअनुरूप नीति तथा कार्यक्रम बनाउने र कार्यान्वयन गर्नेक्रममा रहेका छन् । विगतमा अनुभव नभएको अधिकांश स्थानीय तहहरूको हैसियतलाई केन्द्रमा राखेर तुलोमा जोख्ने काम पनि नभइरहेको होइन तर खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेझंै वास्तविकता बुझ्न ३ सय ६५ दिन, आवधिक योजना र दीर्घकालीन योजना नै कुर्नैपर्दैन । धादिङको रुबी भ्याली गाउँपालिकाको विकास र समृद्धिबिना के बागमती प्रदेशले आफ्नो नीति तथा कार्यक्रमम सफल भएको दाबी गर्न सक्ला ? अनेक सम्भावना बोकेको रुबी भ्याली गाउँपालिका पछि परेको भन्दा पनि पछि पारिएको हो भन्ने वास्तविकता रुबी भ्यालीमा पाइला टेक्ने जो सुकैले व्यक्त गर्न सक्दछ ।

धादिङबेसीको पुच्छार बजारबाट गाउँ लाग्ने सिमानामा एउटा बोर्ड देख्न सकिन्छ । त्यसमा लेखिएको छ ः सांकोष–तिप्लिङ सडक १०३ किलोमिटर । यो सडकको २०६३ सालअघि नै नामकरण भएको थियो । यद्यपि, यसको डीपीआर भएको दुई÷तीन वर्ष जति मात्र भयो । सडक विभागले यो कामको टेन्डर प्रक्रिया अघि बढाएको हो ।

खनियाबास रुबी भ्यालीका करिब १५ हजार मानिस दैनिक आवातजावतका लागि सास्ती भोगिरहेका छन् । बोराङगाउँ गाउँपालिकाको सिमाना वडा नम्बर–४ मा गाउँ हो । बोराङ पूर्वगृहमन्त्री बुद्धिमान तामाङको गृहबस्ती पनि हो । बोराङबाट साबिक लापा गाविस, सेर्तुङ र तिप्लिङ पुग्न सकिन्छ । पछिल्लोपटक बोराङ–धादिङबेसी–काठमाडांै बलेरो जिप सेवा पनि सञ्चालन गरेको थियो तर त्यो खहरेखोलाजस्तै भयो ’cause बोराङदेखि डुन्डुरे किन्ताङ फेदी र लपाङ फेदीको खोला तर्नु नै महाभारत हुन्छ । विशेष त वर्षा महिना र पानी पर्ने बेला । हाल प्रदेश तथा गाउँपालिकाको बजेटबाट बोराङ–लापा–खादिङ खण्डको सडक ट्रयाक खन्ने कार्य भइरहेको छ ।

रुबी भ्यालीको फरक पाटो बौद्ध धर्मावलम्बीसँगै क्रिस्चियन धर्मावलम्बीहरू पनि रहनु हो । यसबाहेक तामाङ समुदायमा प्रचलित लोकभाका म्हेन्दोमाया र दोरादेखि घोडा नाच, लामा नाच, झाँक्री नाचले धनी छ, गाउँपालिका । पाहुना स्वागत सत्कारमा यी नृत्यहरू देखाउने परम्परा छ । म्हाने र तान्त्रिक महांकाल जात्रादेखि गुरुङ समुदायको घाटु नाच पनि प्रचलित छ, रुबी भ्यालीमा ।

आर्थिक, भौतिक, शैक्षिक, पूर्वाधार तथा सांस्कृतिक सबैको एकीकृत विकास र समृद्धिको पर्खाइमा छ, रुबी भ्याली

साबिकका तीन गाविस (लापा, तिप्लिङ र सेर्तुङ) मिलेर बनेको रुबी भ्याली गाउँपालिकामा सडक पूर्वाधार, धर्म संस्कृतिको सम्भावनाको चर्चासँगै अन्य क्षेत्रको सम्भावनालाई बिर्सन सकिँदैन । पछिल्लो जनगणनाअनुसार रुबी भ्याली गाउँपालिकाको कुल जनसंख्या ९ हजार ५ सय ६५ छ । अहिले यो बढेर करिब १२ हजारको हाराहारीमा पुगेको छ । यो पालिका ४ सय १ वर्ग किलोमिटरमा भूगोलमा फैलिएको छ । यस गाउँपालिकामा ६ वटा वडा छन् । धादिङको सदरमुकामबाट यो गाउँपालिकाको सिमाना ५४ किलोमिटर र केन्द्र रहेको सेर्तुङ करिब ६४ किलोमिटर छ । विश्व पर्यटन दिवसको अवसरमा वडा नम्बर–४ मा अवस्थित चालिस गाउँलाई नयाँ गन्तव्य घोषणा गरिएसँगै देश तथा विश्वले यस गाउँपालिकालाई बिर्सन सक्ने कुरै भएन । गणेश हिमालको ट्रेकिङ रुट पनि यहीँ पर्दछ ।

कस्तुरी, रेड पान्डा र डाँफेलगायत विभिन्न लोपउन्मुख जीवजन्तुहरू यस पालिकामा देख्न पाइन्छ । गणेश हिमाल पर्यटन विकास समितिले गरेको कामको सरहना गर्नैपर्छ, यस कार्यका लागि । त्यसैगरी विश्वमानै दुर्लभ बहुमूल्य खनिज रुबी यस पालिकामा प्रशस्त मात्रामा पाउन सकिन्छ । यद्यपि, संघीय सरकारले अविलम्ब स्थानीय पालिकासँग समन्वय गरी भौगोलिक सर्भे गरी सर्वसाधारणका लागि प्रतिवेदन प्रकाशन गर्नुपर्दछ, जुन काममा खासै चासोचर्चा सुनिदैन । रुबी मात्र नभएर यहाँ सिसा खानी तथा फलाम खानी पनि भएकाले यसतर्फ सरकारले समयमै ध्यान दिनु जरुरी छ । गाउँपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखुको सौन्दर्यताले जोसुकैको मन लोभ्याउँदछ । पालिकाभरि कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका सातवटा माइक्रो हाइड्रो सञ्चालित छन् ।

तर, बिडम्वना रुबी भ्याली गाउँपालिकाको ९०.५ भूभाग सडक सञ्जालले जोडिएको छैन । लापा, खादिङ, कपुरगाउँ, लिङ्चो, सेर्तुङ, चालिस, हिन्दुङ, पुरु, रिचेत, लाप्चेत, कुप्चेत, चपाङ्चेत, तेङ्चेत गाउँ बस्तीहरू गोरेटो बाटोमै चलिरहेका छन्, वर्षांैदेखि । नेपाल जेसिस सोसाइटीको पहलमा स्योमदाङ–पाङसाङ पास–तिप्लिङसम्मको करिब २७ किलोमिटर बाटो सडक ट्रयाक निर्माण गरेको छ । यो बाटो तिप्लिङवासीले निकै मिहिनेत गरेर तयार गरेको बाटो हो । यद्यपि, यो कच्ची मोटर बाटो मंसिर÷पुसदेखि चैत्र अन्तिम सातासम्म पनि हिउँले अवरुद्ध हुन्छ, जसले तिप्लिङलगायत लब्दुङ, पुरु र लिङ्जो गाउँ सडकबाट सम्पर्क विच्छेद हुन्छ । पछिल्लो पटकको सर्भेअनुसार सेर्तुङलगायत रुबी भ्यालीलाई सबैभन्दा नजिकबाट संघीय राजधानी काठमाडौं जोड्ने सडक खण्ड सेर्तुङ–मचेत–सिङ्ला–किस्पाङ सडक खण्ड हो ।

राजनीतिक क्षेत्रमा कम अनुभव भए पनि गाउँको विकास निर्माणमा सधैं चासो र चिन्ता लिने जनप्रतिनिधिको टिम छ गाउँपालिकामा । यद्यपि, जनप्रतिनिधिको अध्ययन तथा पहल कदमी भने प्रभावकारी देखिँदैन । सैद्धान्तिक निर्णय र सहमति, समझदारीबाहेक जिल्ला, प्रदेश र संघमा धाउने, लबिङ गर्ने, दबाब सिर्जना गर्ने जनप्रतिनिधि र राजनीतिक दल हातको औंलामा गन्न सकिन्छ । विगतमा अधिकांशको बोलीमा कर्मचारी अभावको नारा लागे तापनि पछिल्लोपटकको लोकसेवा आयोगको सिफारिसमा प्राविधिक (अप्राविधिक गरी स्थायी २७ जना कर्मचारी विभिन्न जिम्मेवारीमा नियुक्ति लिई गाउँपालिकामा पदस्थापन भइसकेका छन् ।

अबको चुनौती भनेको कर्मचारीलाई टिकाइराख्नु हो, उनीहरूलाई आवश्यक तालिम र क्षमता विकास गर्नु हो । कर्मचारी आवासको व्यवस्था गर्नु हो । सुरक्षाको प्रत्याभूति गर्नु हो । दबाब, प्रभाव र अभावरहित वातावरणमा कार्य गराउनु हो र कर्मचारीहरूको मनोबल उच्च राख्ने वातावरण तयार गर्नु हो ।

गाउँपालिकाको मानव स्रोत विकास र व्यवस्थापनको पाटो पनि सोचनीय छ । गाउँपालिकामा–४ वटा मावि स्कुल रहेका छन् । पछिल्लो तथ्यांकमा करिब आधा दर्जन जनाले मात्र स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्, यस पालिकाबाट । यहाँ कुनै प्राविधिक विद्यालय अहिलेसम्म बनेका छैनन् । दरबन्दी धेरै कम छन् र पालिकाको अनुदानमा विद्यालय सञ्चालित छन् । स्थानीय तथ्यांकअनुसार सम्पन्न परिवारका अधिकांश घरको बालबालिका धादिङबेसी र काठमाडौंका महँगा निजी विद्यालयमा पढाइरहेका छन् । ६ वटा वडामा २१ वटा विद्यालय रहेका छन् । रुबी भ्याली शैक्षिक स्थितिमा पनि कमजोर नै रहेको छ भन्दा फरक नपर्ला । निर्वाचित ३४ जना जनप्रतिनिधिमध्ये धेरै कम मात्र साक्षर र शिक्षित छन् । विविध कारणले योग्यता र क्षमता भएका राम्रा शिक्षक यहाँ आउन सकिरहेका छैनन् । गाउँपालिकाका पढेलेखेका युवाहरू अधिकांश काठमाडांैमा बसोबास गर्छन् । १० र १५ हजारको जागिरका लागि कसैले पनि जोखिम मोल्न नचाहेको देखिन्छ, विगतको अनुभव हेर्दा र सुन्दा । कमजोर शिक्षक मात्रै यहाँ पाइने भएकाले शैक्षिक स्थिति कमजोर बन्न पुगेको हो कि भन्ने पनि केही नीति निर्माताको ठम्याइ छ । यद्यपि, यो कुरामा पूर्ण रूपमा सहमत भने हुन सकिँदैन ।

शिक्षामा लगानीसँगै त्यसको कडाइका साथ मूल्यांकन र जाँच हुनुपर्छ, जुन रुबी भ्याली गाउँपालिकाले छिट्टै सुधार गर्नुपर्ने विषय हो ।

संघसंस्था र विभिन्न तहका सरकारको अनुदान र सहयोग बर्सेनि तथ्यांकमा पढ्न र देख्न सकिन्छ । सडकसँग गाउँपालिका नजोडिएसम्म राम्रा शिक्षक त्यहाँ आउन चाहँदैनन् भन्ने एक वर्ग छन् । हुन पनि कमसेकम सडक भइदियो भने जानेआउनेको त मनमा अनेक कुरा त खेल्नुपर्दैन । पछिल्लो दुई÷तीन वर्षको एसईईको नतिजा हेर्दा निकै निराशाजनक देखिन्छ । केही माविमा विज्ञान र अंग्रेजी विषयका शिक्षक महिनांै भइसक्दा पनि पूर्ति भएको छैन भन्ने जानकारी प्राप्त भएको छ । यसको पछाडि फर्केर हेर्दा जनप्रतिनिधि, समुदाय, प्रअ र अभिभावक–विद्यार्थीको समेत कमीकमजोरी देखिन्छ । यस क्षेत्रमा वैदेशिक रोजगारमा जानेको संख्यासमेत उल्लेख्य छ । पछिल्लो जनगणनामा यहाँ २३ सय घरपरिवार छन् भने औसतमा प्रत्येक घरको एक जना बिदेसिएका छन् ।

अन्त्यमा, जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं रुबी भ्याली गाउँपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी, स्थानीयवर्ग, नागरिक समाज, राजनीतिक दलसहित बागमती प्रदेश सरकार र संघीय सरकारले न्यूनतम पूर्वाधारको व्यवस्थापनमा यस पालिकालाई आर्थिक, प्राविधिक र अन्य सहयोग गरेको खण्डमा रुबी भ्यालीले दशकांै पहिलेदेखि कुरिरहेको समृद्धि र विकासलाई छिट्टै प्राप्त गर्न सक्ने देखिन्छ ।
(लेखक रुबी भ्याली गाउँपालिका, धादिङका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा