उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड

काठमाडौं । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले गरेको नमुना परीक्षणमा उद्योगीले गुणस्तरहीन दैनिक उपभोग गर्ने पदार्थ तथा खाद्य वस्तु उत्पादन गरी बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै आएको पाइएको छ । विभागले गरेको नमुना परीक्षणमा अधिकांश दुध, दुग्धजन्य वस्तु तेल, प्रशोधित खाने पानी गुणस्तरहीन बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

विभाग र मातहतका कार्यालयबाट २०७६ साउन १ देखि २०७७ असार मसान्तसम्ममा २ हजार ३ सय ३७ वटा नमुना परीक्षण गरेकामा १ सय ५४ नमुना मापदण्डअनुसार नभएको पाइएको थियो । विभागले गरेको अनुगमन अध्ययन प्रतिवेदन अनुसार गत वर्ष साउन १ देखि गत असार मसान्तसम्ममा ३ हजार १ सय ९८ नमुना संकलन भएको थियो । जसमध्येमा २ हजार ३ सय ३७ वटा नमुनाको परीक्षण गरेको थियो ।

जसमा १ सय ५४ वटा नमुना मापदण्डअनुरूप थिएन । मापदण्ड नपुगेका नमुनामध्येमा सबैभन्दा धेरै दूध तथा दुग्धजन्य पदार्थ छन् । १ सय ५४ नमुना मापदण्डमध्ये ४२ वटा दूध तथा दुग्धजन्य पदार्थ मापदण्डअनुरूप नभेटेको बताइएको छ । त्यसैगरी, २७ वटा दाना, २२ वटा खाद्यान्न तथा दलहन पदार्थ, १९ वटा प्रशोधित पिउने पानी मापदण्डअनुरूप नभएको बताइएको छ । यसैगरी, १६ वटा तेल तथा घिउजन्य, १२ वटा चिया, चारवटा नुन, तीनवटा फलफूल तथा सागपात पदार्थ, दुईवटा मसला पदार्थ, दुईवटा गुलियो पदार्थ र पाँचवटा अन्य खाद्य पदार्थ रहेका छन् ।

खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा जसमध्ये ५५ वटा उद्योगमाथि विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार दायर गरिएका ५५ थान मुद्दामध्ये प्रशोधित पिउने पानीका १६ वटा, दूध तथा दुग्धजन्य खाद्यपदार्थका ११ वटा, खाद्य तेलका आठवटा र बेकरी, मह, दालमोठ, तयारी चाउचाउ, मिठाई, खुर्सानीको धुलोजस्ता विभिन्न खाद्यपदार्थ रहेका छन् । सो मुद्दामध्ये २६ वटा मुद्दा न्यून गुणस्तरका, १६ वटा मुद्दा दुषितका, १० वटा मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी तीनवटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लंघन गरेका छन् ।

यसैगरी उनले यस अवधिमा खाद्य र दाना उद्योग, होटल रेस्टुरेन्ट, राजमार्गका होटल गरी ४ हजार ४ सय ९८ पटक निरीक्षण अनुगमन गरेको बताए । विभाग तथा मातहतका कार्यालयमा प्राप्त प्रशोधित पिउने पानीको गुणस्तर, खाने तेलको गुणस्तर, मासुजन्य खाद्यपदार्थको गुणस्तर, होटल रेस्टुरेन्ट, चामलको गुणस्तरलगायतका विभिन्न विषयका जम्मा ४ सय ६१ उजुरीउपर कारबाही गरेको बताए ।

यसैगरी, विभागले स्थलगत निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन गरेको नपाइएका १ सय २५ वटा उद्योग र खाद्य व्यवसायलाई उत्पादन रोक्का, सिलबन्दी गरी नमुना संकलन गरी कारबाही अघि बढाइएको प्रवक्ता महर्जनले बताए । यसैगरी, उनले ५ सय ३९ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, १ हजार ४ सय ६० उद्योग अनुज्ञापत्र नवीकरण तथा १ हजार ५ सय ५९ नयाँ विभिन्न खाद्य उद्योग स्थापना गर्न सिफारिस गरिएको बताए ।

उनले आयातका लागि २१ हजार ६ सय ८२ वटालाई अनुमति जारी गरिएको बताए । यसक्रममा आवश्यक कागजात पूरा नभएका मसला तथा गेडागुडीलगायतका विविध खाद्यपदार्थ गरी १ सय ४ वटा खाद्य पदार्थका कन्साइन्मेन्टको अनुमती अस्वीकृतसमेत गरेको उनले बताए ।

१२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा ३५ हजार ७ सय ६१ वटा नमुना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा