जुम्ला । यति बेला जुम्लाका कृषकलाई स्याउ टिप्न भ्याइनभ्याई छ । जुम्ली स्याउ भदौ दोस्रो सातापछि मात्र पुर्ण रुपमा पाकेर बजारमा लैजान योग्य हुने भएतापनि कृषक हतारिएका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार दुई स्थानीय तहबाट झण्डै ६० देखि ७० टन सम्म स्याउ बजार सम्म पुगिसकेको छ । कृषि विकास कार्यालयले एक महिना अघि नै भदौ १० भन्दा अघि स्याउ नटिप्न आग्रह गरिसकेको थियो । यो पटक स्याउ उत्पादन निकै कम हुने संभावना छ ।
कृषि कार्यालयले गत वर्षको तुलनामा ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरेको थियो । उत्पादन कम हुँदा स्याउको महत्व बढ्ने भन्दै स्याउ टिप्न हतारो नगर्न आग्रह गरिएको कृषि विकास कार्यालय का प्रमुख देवकोटाले बताए । कृषकले स्याउको महत्व बुझ्न नसक्दा गुणस्तरीयतामा प्रश्न उठ्ने विज्ञहरु बताउछन् । जुम्लाको स्याउले सहजै बजार पाउने हुदा कृषकले हतारो गर्न आवश्यक नहुने स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारिले बताए । काचोँ स्याउ बजारमा जाँदा जुम्लाको पहिचान गुम्ने खतरा भएको उनको भनाई छ ।
उनका अनुसार जुम्ली स्याउ पुर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना हुनुपर्छ, ७० प्रतिशत कलर चढिसकेको हुनुपर्छ र ६५ देखि ५५ एमएम सम्मको दाना लाग्नुपर्छ । अनिमात्र बजारमा लैजान योग्य मानिन्छ । यो पटक ब्यापारीले नपाक्दै स्याउ सुर्खेत बजारमा लगेका छन् । बर्षेनी उत्पादक्त्व बढेपनि उत्पादन घट्दै जाँदा किसान निराश छन् । रोगकिराको व्यवस्थापन नहँुदा तथा असिना पानी र कालो तुषारो परेर स्याउ उत्पादनमा गिरावट आएको कृषकहरु बताउछन् । यो पटक ब्यापारीले प्रतिकेजी ५० रुपैयाँ मुल्य हालेर स्याउ किनेका छन् । पाकेको स्याउ गत बर्ष ७० रुपैयाँ प्रतिकेजीमा विक्रि भइरहेको थियो ।